नेपालको हारको क्रम जारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपालको यू–१९ राष्ट्रिय फुटबल टोलीले इरानमा अपेक्षित प्रदर्शन गर्न सकेन। एएफसी यू–१९ च्याम्पियनसिप छनोटको बुधबार भएको आफ्नो पहिलो खेलमा नेपाल यूएईसँग हारेको छ।

तेहरानको मैदानमा नेपाल ४–० गोलअन्तरले पराजित भएको हो। योसँगै नेपालको हारको क्रम जारी रहेको छ। नयाँ प्रशिक्षक मेघराज केसी र नयाँ कप्तान रेजिन सुब्बाको नेतृत्वमा नेपाली युवा टोली इरानमा प्रतिस्पर्धा गर्न गएको हो।

तर पहिलो खेलमै हार बेहोरेपछि नेतृत्व परिवर्तनले पनि नेपाली फुटबललाई पार लगाउन सकिएन। नेपाली टोलीले २७औं मिनेटमा आत्मघाती गोलबाट पछाडि पर्नुपरेको थियो। ३८औं मिनेटमा इशा खालिफानले गोल गरेर नेपाली टोलीलाई पहिलो हाफसम्म २–० ले पछाडि पारे।

दोस्रो हाफमा पनि नेपालको सुधारिएको खेल भएन। यूएईका लागि खलिफा युसुफले ७१औं मिनेटमा र अब्दुल्लाह हमादले इन्जुरी समय चलिरहँदा गोल गरेका थिए। नेपालले समूहको दोस्रो खेलमा आयोजक इरानसँग शुक्रबार खेल्दैछ।

 

Skip This