राष्ट्रपति र प्रधानमन्त्री सहित नेताहरुले को बाट लगाउँदैछन् भाईटीका ?



 

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज अन्तिम दिन भाइटिका मनाइदैछ । आज बिहान ११ः५५ को शुभ साइतमा भाइटिकाको शुभ साइत रहेकोले राष्ट्रपति, प्रधानमन्त्री तथा ठूला दलका शिर्षस्थ नेताहरुले सोहि साइतमा आफ्ना दिदिबहिनीबाट भाइटिका ग्रहण गर्ने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना तीन भाईमध्ये दुई भाईलाई टिका लगाइ दिने छिन् । राष्ट्रपतिका जेठा भाई तेजेन्द्र पाण्डे र डेगेन्द्र पाण्डेलाई टिका लगाइदिने छिन् । तेजेन्द्र अमेरिकाबाट नेपाल आइसकेका छन् भने माइला भाई टेकेन्द्र भने अमेरिकामै छन् । कान्छा भाई डेगेन्द्र नेपालमै छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वालुवाटारमा दुई बहिनीबाट भाइटिका लगाउने छन् । प्रधानमन्त्री ओलीलाई बहिनीहरु विष्णुमाया ढकाल र कौशिला कोइरालाले भाइटिका लगाउने छन् । प्रधानमन्त्रीकी अर्की बहिनी राजु मिश्रले भने प्रधानमन्त्रीका भाई जयप्रसाद ओलीलाई झापामा टिका लगाउने छिन् ।

यता कांग्रेस महामन्त्री डा। शशांक कोइराला र नेता डा। शेखर कोइरालाले नेतृ सुजाता कोइरालाबाट भाइटिका लगाउने भएका छन् । सुजाताले बीपीका जेठा छोरा प्रकाशलाई पनि भाइटिका लगाउने छिन् । बीपीका कान्छा छोरा श्रीहर्ष विदेशमा रहेकाले यस वर्ष सुजाताले भाइटिका लगाइदिन पाउँदिनन् ।

कांग्रेस नेता रामचन्द्र पौडेल भाई टिका लगाउन चितवनको माधवपुर गएका छन् । पौडेलका चार दाजुभाईलाई चार दिदीबहिनीले टिका लगाइदिने कार्यक्रम छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले चाबहिल मित्रपार्कमा बस्ने रेणु खड्का र उनकी बहिनीबाट भाइटिका लगाउने छन् । यसअघि केही वर्ष भने निधिले राजविराज र धनुषामा रहेका दिदी र बहिनीको हातबाट भाइटिका लगाउने गरेका थिए ।

पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको भने पारिवारिक जुठो छ । यसपटक उनी भाइटिका नलगाउने भएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाकी हजुरआमाको यस वर्ष निधन भएकाले भाइटिका लगाउने लगाउँदैनन् ।

नेकपाका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने भाइटिका लगाउने वा नलगाउने टुंगो भएको छैन । उनले बडादसैंमा पनि टिका लगाएका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्