सरकारकै कार्यशैलीका कारण मुलुक अप्ठ्यारो अबस्थामा/उपनिर्वाचनमा अन्तर्घातको कुरा सुन्न समेत चाहन्न – सभापति देउवा



 

पुष्कर बुढाथोकी,भक्तपुर,(नेस) ।

नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुईतिहाईको दम्भमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार निरंकुश बन्दै गएको बताउनु भएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरले आज दुधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले संबिधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गएको बताउनुभयो ।

उहाँले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्दै सरकारकै कार्यशैलीका कारण मुलुक अहिले अप्ठ्यारो अबस्थामा रहेको बताउनुभयो ।

जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताउँदै उहाँले कर र मुल्य बृद्धि गरेर र भ्रष्टाचारमा मुछिएर सरकारले जनतालाई मारमा पारेको आरोप लगाउनुभयो ।

नेकपा नेतृत्वको सरकारको शैली बिरुद्धमा जनताले जवाफ दिने बेला आएको भन्दै उहाँले कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउनुभयो ।गुटउपगुटबाट माथि उठेर पार्टी एक हुनु जरुरी रहेको बताउँदै उहाँले अबको उपनिर्वाचनमा अन्तर्घातको कुरा समेत सुन्न नचाहेको बताउनुभयो ।

उहाँले पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिंदै आगामी उपनिर्वाचन मिनी जनमत संग्रह भएको भन्दै जनमत कांग्रेस तर्फ मोडिएको छ भन्ने सन्देश दिन सक्नुपर्नेमा जोड दिनुभयो ।उहाँले नेपाल संबत्का प्रणेता शंखधर शाख्वा लोककल्याणका मार्ग निर्देशक र दानवीर भएको चर्चा गर्दै सबैका लागि प्रेरक भएको बताउनुभयो ।

सो अवसरमा उहाँले जिल्ला कार्य समितिले प्रकाशन गरेको जय नेपाल स्मारिका २०७६ को समेत बिमोचन गर्नुभयो ।कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा पनि बिकासका नाममा डोजर आतंक चलाईएको बताउँदै जनप्रतिनिधिहरु जग्गा दलाल र भुमाफियासँग मिलेर धनी बन्ने अभियानमा लागेको र जनता निराश भएको आरोप लगाउनुभयो ।

उपसभापति हरि नेपाल,सचिब निशान ढुंगेल,कांग्रेस नेता मदनकृष्ण श्रेष्ठ,केदार खड्का,क्षत्रीय सभापति द्धय जीवन खत्री र नारायणभक्त खायमली लगायतले आसन्न उपनिर्वाचनमा जित कांग्रेसको पक्षमा ल्याउन सबै नेता कार्यकर्ता जनतासँग घुलमिल हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्