सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सिए : प्रधानमन्त्री ओली



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले प्रयोग गर्ने भाषा पश्चिमा संस्कृतिको अनुकरण गरेको असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सन नहुने जनाएका छन् ।

उनले भने,‘सभ्यताका पर्खालहरू बागमतीमा फालिए। शिष्टता, मर्यादा केही पनि छैन। पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन्। तिमी भन्दा माथि उठेर। यो एउटा ट्रेन हो। किनभने अंग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईं भन्न गाह्रो लाग्यो। किनभने पैसावाला, डलरवाला, ‘यु’ वालाहरू ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउनेरु सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ। सानालाई तिमी भन्ने ठूलालाई तपाईं भन्ने स्वभाविक हो। भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ।’

विकसित मुलुकको संस्कृतिको देखासिकी गर्ने व्यवहारले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँपुस्ताले बिर्संदै गएको ओलीले बताए। सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो भाषा र संस्कृति नबिर्सन उनले आग्रह गरे ।

नेपाल लोकतान्त्रिक प्रणालीमा गएको भए पनि अझै पनि थिति नबस्दाका ‘धङधगीहरू’ कायमै रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘परिर्वतन भयो। थितितर्फ हामी गयौं। थिति नबस्दाका धङधगीहरू छँदै छन्। जसलाई फेरि हामी हिजोकै आदत अथवा हिजोका आदतले परिवर्तित सन्दर्भका छुटहरूलाई बेठीक ढंगले बुझ्ने प्रवृत्ति पनि छँदै छ। आलोचनात्मक चेत प्रमुख भएको अवस्था हाम्रो देशमा पनि छ। किनभने यसले अबको बाटो के हो भनेर जसरी समग्रतामा समाउन पर्ने त्यो अलि समात्न सकेको छैन।’

कला, संस्कृति र साहित्यको तुलनामा नेपाल विश्वकै धनी भएको औल्याउँदै उनले कला, संस्कृति, सभ्यता र साहित्यलाई संवर्द्धन गर्दै अघि बढाउनुपर्ने बताए । कात्तिक ३ गतेसम्म चल्ने यो कार्यक्रम अन्तरहिमाली साँस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवर्द्धनका लागि प्रतिष्ठानले चीन र दक्षिण एसियाका साहित्यकारहरूको सम्मेलन गरेको हो।

प्रतिक्रिया दिनुहोस्