ट्राफिक प्रहरी गदगद



काठमाडौं, (नेस)।चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा अति विशिष्ट पाहुनाको सवारी व्यवस्थापन सहज भएको छ। सवारी रुटबारे सवारी चालकलाई भ्रमणको दुई दिनअघि नै अनुरोध गरेकाले सहज भएको हो।महानगरीय प्रहरी महाशाखाले चिनियाँ राष्ट्रपति सी जिनपिङ आउनुअघि सर्वसाधारणलाई सातबँुदे अनुरोध गरेकाले सवारी व्यवस्थापनमा सहज भएको दाबी गरेको छ।

गत शनिबार साँझदेखि आइतबार दिउँसोसम्म नेपालमा रहनुभएका चिनियाँ राष्ट्रपति पिङ, नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, चिनियाँ विदेशमन्त्रीलगायत विशिष्ट पाहुनाको ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने आकलन गर्दै महाशाखाले तीन दिनअगावै उपत्यकाको सवारी व्यवस्थापनमा सहज बनाउन सहयोग माग गरेको थियो।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले ट्राफिक प्रहरीको अनुरोध पालना गरेकाले अति विशिष्ट व्यक्ति नेपाल भ्रमणमा आउँदा सवारी सञ्चालनमा कुनै समस्या नपरेको बताउँदै भन्नुभयो– ‘सबै सञ्चारमाध्यमले हाम्रो अनुरोध स्वीकार गरी सवारी व्यवस्थापनबारे समयमै जानकारी दिएकाले कुनै समस्या परेन।’

महाशाखाले ठूला मालवाहक सवारीसाधनलाई रिङरोडभित्र प्रवेश नगर्न, मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडक प्रयोग गर्न, अनावश्यक सवारीसाधन प्रयोग नगर्न, पुराना र अवस्था ठीक नभएका सवारी साधनहरू नचलाइदिन, अनावश्यक हर्नको प्रयोग नगर्न र ट्राफिक व्यवस्थापनमा कुनै समस्या आए महाशाखाको हटलाइन १०३ मा फोन गर्न आग्रह गरेको थियो।

‘हाम्रो आग्रहलाई पूर्ण रूपमा पालना गरी सवारी सञ्चालन गरेको कारण अति विशिष्ट पाहुनाको सवारी व्यवस्थापनमा सहज भयो’ –एसएसपी ढकालको दाबी छ। महाशाखाले सो अवधिमा उपत्यकामा १ हजार १ सय ५५ ट्राफिक प्रहरी परिचालन गरेकाले एकै दिनमा १५ जना अति विशिष्ट पाहुनाको सवारी चलाउँदा पनि कुनै समस्या नभएको हो।

भित्री सडकमा पार्किङ व्यवस्थापन, वैकल्पिक सडक प्रयोग र खोला किनाराको करिडोरबाट सवारी सञ्चालन भएका कारण समस्या नभएको उहाँले बताउनुभयो।‘हामीले अति आवश्यक सवारीसाधन दमकल, एम्बुलेन्स, ट्याक्सी, पानी ट्यांकर र मोटरसाइकललाई समेत विशिष्ट पाहुनाको सवारी सञ्चालन गर्नुभन्दा दश मिनेट अघिसम्म सञ्चालन गर्न व्यवस्थापन गरेकाले कुनै समस्या नपरेको हो’ –उहाँले भन्नुभयो।

विशेषगरी भित्री सडकमा व्यापक ट्राफिक प्रहरी परिचालन गरी अनावश्यक रूपमा पार्किङ गरेका सवारी साधनलाई हटाएकाले ट्राफिक व्यवस्थापन सहज भएको महाशाखाको दाबी छ। महाशाखाले दुई दिनमा करिब ४ लाख सवारीसाधन सहजै व्यवस्थापन गर्न सकेको जनाएको छ। अघिल्लो वर्षमा विशिष्ट पाहुना नेपाल आउँदा सवारीचालकलाई पूर्वसूचना नदिएकाले राजधानीको ट्राफिक व्यवस्थापन गर्न केही समस्या परेको थियो।

तर यो भ्रमणमा महाशाखाले विभिन्न सञ्चारमाध्यमबाट सवारी चालकले प्रयोग गर्ने रुटबारे अघिल्लो दिन नै जानकारी दिएकाले सहज भयो।दशैंमा भ्रमण भएको र विदेशी पाहुनालाई बिदाइ गर्ने दिन सरकारले सार्वजनिक बिदा दिएकाले उपत्यकामा सवारीसाधनको आवतजावत कम हुँदा पनि समस्या हल गर्न सजिलो भयो।

प्रतिक्रिया दिनुहोस्