मेलम्ची आयोजनाले माग्यो कार्ययोजना



नेपाल समाचारपत्र, काठमाडौं।मेलम्ची खानेपानी आयोजनाले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग कार्ययोजना माग गरेको छ। मेलम्चीको सुरुङ र मुहान क्षेत्रको बाँकी रहेको काम सम्पन्न गर्न आयोजनाले कार्ययोजना मागेको हो।इटालियन निर्माण कम्पनी सीएमसी दि रिभेनाले अधुरो छोडेर बाँकी रहेको काम पूरा गर्न आयोजनाले नयाँ ठेक्का लगाएको थियो। यसमा चिनियाँ कम्पनी छनोट भई असोज १२ गते सम्झौतासमेत भइसकेको छ।

आयोजनाले ठेकेदारसँग एक हप्ताभित्र कार्ययोजना पेस गर्न पत्राचार गरेको आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिनुभयो। ‘ठेकेदार कम्पनीलाई हामीले एक हप्ताभित्र विस्तृतरूपमा कार्ययोजना पेस गर्न भनेका छौं। चार दिनभित्र हामीले त्यो पाउँछौं।’ –उहाँले भन्नुभयो।

अहिले ठेकेदारहरूले कार्यक्षेत्र अवलोकन गरिरहेकाले फर्केर आएलगत्तै कार्ययोजना पाउनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो। बहुप्रतीक्षित आयोजनाका रूपमा हेरिएको यस आयोजनाले २७ किलोमिटर सुरुङमार्ग पार गर्दै काठमाडौं उपत्यकाबासीलाई मेलम्ची खोलाको पानी खुवाउने योजना छ।

तर, अन्तिम चरणमा पुगेको काम सीएमसीले छोडेपछि करिब ६ महिनादेखि मेलम्चीको बाँकी काम ठप्प छ। सुरुङको करिब १ किमि सुरुङ खण्डको ढलान र सपोर्ट, मुहान (हेडवक्र्स), सुरुङको हावा फाल्ने तीनवटा भेन्टिलेसन साफ्ट र टनेल गेट निर्माण कार्य बाँकी नै छ।

आयोजनाले सुरुङ र हेडवक्र्स निर्माणका लागि दुई छुट्टाछुट्टै ठेक्का लगाएको थियो। दुई ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको हो। अब उक्त कम्पनीले सुरुङको बाँकी काम १२ महिनाभित्र र हेडवक्र्सको काम १५ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ।

उक्त अवधिभित्र मेलम्चीको पानी काठमाडौं ल्याइपुर्याउने लक्ष्य आयोजनाले लिएको छ। यहीअनुसार दु्रत गतिमा काम गर्न गराउन ठेकेदार कम्पनीसँग विस्तृत कार्ययोजना मागेको सूचना अधिकारी पन्तले दाबी गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्