साढे २२ लाखको सामान बरामद



नेपाल समाचारपत्र, भद्रपुर। जिल्लाको प्रहरी झापाले झापाका विभिन्न नाकाबाट एकैदिनमा तस्करी हुन लागेको साढे २२ लाख रुपियाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

सुरुङ्गा, हल्दीबारी र गरामनी क्षेत्रबाट प्रहरीले सामानसहित तस्करीमा संलग्न २ वटा मोटर र २ मोटरसाइल बरामद गरेको छ भने तीनजना कारोबारीलाई समेत नियन्त्रणमा लिएको छ।

सुरुङ्गा प्रहरीले कनकाई–४ कोटीहोममा ३४ वटा बोरामा रहेको अन्दाजी साढे ८ सय किलो सुर्ती बरामद गरेको जनाएको छ। बरामद सुर्तीसहित गाडीलाई अन्दाजी १७ लाख रुपियाँ मूल्य कायम गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्लाका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो।

त्यसैगरी केचना हुँदै विर्तामोडतर्फ गइरहेको मे१०प ११२८ नम्बरको मोटरसाइकल र मे११प ४८२८ नम्बरको स्कुटीमार्फत ल्याइँदै गरेको अन्दाजी ५० हजार मूल्य बराबरको टेन्टको कपडा प्रहरीले हल्दीबारी–४ चारआली चोकबाट बरामद गरेको छ।

जलथल प्रहरीबाट पक्राउ गरिएका कपडा कारोबारी विर्तामोड–३ का १९ वर्षीय विजय तामाङ, वर्ष २५ का सनिराम मुर्मू र वर्ष २० का प्रवीन दासलाई अनुसन्धानपछि भन्सार कार्यालयमा बुझाइने डीएसपी श्रेष्ठको भनाइ छ।

त्यस्तै प्रहरीले भद्रपुरबाट विर्तामोडतर्फ गइरहेको मे१ज १७४६ नम्बरको पिकअप भ्यनसहित अन्दाजी ५ लाख रुपियाँ मूल्यबराबरको कपडा बरामद गरेको छ।

शङ्का लागी चेकजाँच गर्ने क्रममा विर्तामोड नगरपालिका–७ स्थित गरामनी भन्ने स्थानबाट प्रहरीले साडी, मर्फिन कपडा र सुर्तीको दरी बरामद गरिएको डीएसपी श्रेष्ठले बताउनुभयो।

बरामद गरिएको गाडीसहित कपडालाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धानपछि इटहरीस्थित राजस्व अनुसन्धानको क्षेत्रीय कार्यालय पठाइने डीएसपी श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्