आदिनाथमा एक महिने मेला शुरू



नेपाल समाचारपत्र, काठमाडांै। चोभारमा रहेको आदिनाथ मन्दिरमा आइतबारदेखि एक महिने मेला शुरू भएको छ।
आश्विन शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलाका अवसरमा मन्दिरमा दर्शन गरेमा पारिवारिक सुख र शान्ति हुनाका साथै ठूलाठूला रोगव्याधिबाट मुक्त भइने विश्वासका साथ मेला भर्न काठमाडौं उपत्यका तथा त्यस आसपासका क्षेत्रबाट भक्तजनको सहभागिता हुने गर्दछ।

कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदाका रूपमा स्थापित उक्त मन्दिरमा नर र नारीको आकार प्रतिविम्बित भएको मूर्ति छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बनेको आदिनाथलाई हिन्दूले शिवशक्तिका रूपमा तथा बौद्धले लोकेश्वरका रूपमा पूजा गर्ने गर्दछन्।

परापूर्वकालमा नख्खु दोभानमा फेला पारिएको उक्त मूर्तिमा शिव तथा पार्वतीको आकृति प्रतिविम्बित भएकाले आदिनाथ भनिएको हो। विसं २०७२ को भूकम्पका कारण मन्दिरमा क्षति भई जोखिम बढेपछि पुरातत्व विभागले करिब दुई करोडको लागतमा हालै मन्दिर जीर्णोद्धार गरेको छ।

२१ वर्ग फिटमा फैलिएको प्यागोडा शैलीको उक्त मन्दिरमा गजुरसहित सात तल्ले छानो निर्माण गरिएको छ। मन्दिरमा प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन विशेष जात्रा लाग्छ।

प्रतिक्रिया दिनुहोस्