फ्रि तिब्बतको पक्षधरविरुद्ध मुद्दा



नेपाल समाचारपत्र, काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई प्रभाव पार्ने उदेश्यले फ्रि तिब्बतको अभियानमा लागेका व्यक्तिमध्ये केही विरुद्ध प्रहरीले कारबाही अगाडि बढाएको छ।

पक्राउ परेका ६० मध्ये केहीलाई कारबाही गर्ने तयारी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी होविन्द्र बोगटीले जानकारी दिनुभयो। उनीहरूलाई अभद्र व्यवहार कसुरमा कारबाही गर्ने उहाँले जानकारी दिनुभयो।

बौद्धबाट पक्राउ परेका दवाङनिमा लामा र कास्कीका हिस्सीग्याडो लामाविरुद्ध अभद्र व्यवहार गरेको अभियोगमा कारबाही चलाइने भएको छ।

प्रहरीले निमाको साथबाट फ्रि तिब्बत लेखिएको झण्डा २५, झण्डा अंकित झोला दुई, सानो झोला ६० थानलगायत बरामद भएको थियो भने हिस्सीको साथबाट फ्रि तिब्बत लेखिएको कि रिङ ३८ वटा, तिब्बत लेखिएको ठूलो झोला ३, सानो झोला ६ वटालगायत बरामद गरेको थियो।

त्यसैगरी चिनियाँ राष्ट्रपति सी जिनपिनको भ्रमणका बेला विरोध प्रदर्शन गर्ने घोषणा गरेका बीपी पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ।

मानवअधिकार कर्मी भएको बताउने पौडेलले फ्रि तिब्बतको विषयमा कुरा उठाउन पाउनुपर्ने बताउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए।

पौडेललाई पनि अभद्र व्यवहारको कसूरअन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्