शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना



काठमाडौ, (नेस)। मानव अधिकार तथा शान्ति समाजले स्व.कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान र स्वर्गीय राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान गरी दुईवटा पुरस्कार स्थापना गरेको छ।

श्रष्टा सम्मान पुरस्कारअन्तर्गत प्रत्यक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुईजना श्रष्टा (एक महिला र एक पुरुष)लाई जनही २० हजार नगद र सम्मानपत्र प्रदान गरिने भएको छ।

उक्त पुरस्कार स्थापनार्थ अक्षय कोषका लागि स्व. दाहाल द्वयका पनातिनी तथा नातिनीहरू अनुजा थापा, अनुपमा पाण्डे र अपूर्वा शर्माले ३ लाख शान्ति समाजलाई प्रदान गर्नुभएको छ।

कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान र राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रदान गरिने समाजले जनाएको छ।

पुरस्कृत व्यक्तित्व छनोटका लागि शान्ति समाज केन्द्रीय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा सल्लाहकार होमकान्त चौलागाईं, डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनाल, उपसभापतिद्वय विष्णुप्रसाद चापागाईं, रेनुका पौडेल र महासचिव सुशिल बस्नेत सम्मिलित छनोट समिति गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्