परम्परागत उपचार पद्धतिमा सहकार्य हुने



नेपाल समाचारपत्र, काठमाडांै।नेपाल र चीन सरकार परम्परागत उपचार पद्धतिका क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने नेपाल भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच २० बुँदे सहमतिमा हस्ताक्षर भएको छ।

स्वास्थ्यका क्षेत्रमा भने परम्परागत उपचारपद्धतिको विकासका विषयमा नेपाल र चीन सरकारले मिलेर काम गर्ने सहमति भएको छ।

दुई देशबीच स्वास्थ्यकर्मीमाझ अनुभवको आदान–प्रदान, क्षमता विकास, परम्परागत उपचार पद्धतिमा आवश्यक सहयोग तथा क्षमता विकासका क्षेत्रमा अनुभव आदान–प्रदान गर्नेलगायतका कुरा उल्लेख गरिएको छ।

सहयोगको विस्तृत विषय तयार नभइसकेका कारण तयार भएपछि विषयगत सम्झौता गरिने स्रोतले बताएको छ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा दुई देशका प्रतिनिधिले सहमतिको आदान–प्रदान गरेका हुन्।

उक्त अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराल र नेपालका लागि चिनियाँ राजदूत हउ यान्चीले दुई देशले एक–आपसमा सहयोग अभिवृद्धि गर्ने सहमति आदान–प्रदान गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनियाँ औषधीको राष्ट्रिय प्रशासनबीच परम्परागत औषधीको समन्वय सम्बन्धी विषयमा सहमति भएको हो।

सहमतिमा दुई देशबीच परम्परागत उपचारपद्धतिको विकास, त्यस सम्बन्धी तालिम, जडीबुटीको सम्भाव्यता अध्ययनलगायत विषयमा आपसी सहयोग आदान–प्रदानमा जोड दिनुका साथै दक्ष जनशक्ति विकामासमेत समझदारीका आधारमा अघि बढ्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्