ताइफुका कारण जापानमा ३० को मृत्यु



राजबिन थापा, टोकियो।जापानमा शनिबार शक्तिशाली भनिएको हगिबिस ताइफुको कारण हालसम्म ३० जनाको मृत्यु भएको छ। ताइफु र बाढीमा परी १६ जना बेपत्ता र १ सय ७० जनाभन्दा बढी घाइते भएका छन्।

ताइफुसँगै आएको वर्षाले गर्दा नदीहरूमा पानीको वहाव बढेसँगै शनिबार टोकियो महानगर क्षेत्रलगायत जापानका कैयौं स्थानका आवासीय क्षेत्रहरू डुबानमा परेको समाचार विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन प्रसारण गरेका छन्।

बाढी र पहिरोको चपेटामा परेका मध्य, पूर्वी र उत्तरपश्चिम क्षेत्रमा उद्धार कार्य भइरहेको जनाइएको छ। चिकुमा नदीको किनारको बाँध भत्किँदा मध्यजापानको शहर नागानो सबैभन्दा धेरै प्रभावित भएको छ।

नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँको केही स्थान बाढीको पानीले ५ मिटरसम्म डुबेको जापानको भू–मन्त्रालयको अनुमान छ। महानगर र आसपासका क्षेत्रमा शनिबार मध्याह्नदेखि आइतबार बिहानसम्म अधिकांश विमानस्थल बन्द गरिएका थिए।

भू–पूर्वाधार, यातायात तथा पयर्टन मन्त्रालयले नौ प्रिफेक्चरमा कम्तीमा पनि ३३ ओटा पहिरो र भूस्खलन भएको जनाएको छ।आइतबार बिहानबाट टोकियोको हानेदा विमानस्थल र अधिकांश सिन्कान्सेन बुलेट रेल सेवा सुचारु हुन थालेका छन्।

टोकियोको सबवेको सञ्चालन आइतबार बिहान सुरक्षाको अवस्था चेकजाँच गर्न स्थगित गरिएको थियो। हालसम्म कुनै पनि नेपाली यस घटनामा परेको जानकारी आएको छैन।

प्रतिक्रिया दिनुहोस्