सांसद आलम पक्राउ



सञ्जय कार्की, रौतहटबाह्र वर्षअघिको बम विस्फोट घटनाका आरोपित रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम पक्राउ परेका छन्। काका शेष इद्रिसको मृत्युपछि राज्य सत्तामा लगातार रहेका उनी नेपाली कांग्रेसबाट २०५४ सालको प्रतिनिधि सभा उपनिर्वाचन, २०५६ को प्रतिनिधि सभाको आवधिक निर्वाचन, २०६४ सालको संविधान सभा सदस्य, २०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

पहिलो संविधानसभाको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुरफरहदवास्थित आफ्नै गोठमा बम बनाउने क्रममा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न प्रहरीले प्रतिनिधि सभा सदस्य आलमलाई पक्राउ गरेको हो।

बम विस्फोट हुँदा तीन जनाभन्दा बढीको मृत्यु भएको र उनीहरूलाई नजिकैको इँटाभट्टामा जलाएको आरोप आलममाथि रहेको छ। गौर जाँदै गर्दा उनलाई राजपुर गेटनजिकबाट पक्राउ गरेको जनाइएको छ।
प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले अनुसन्धानका लागि प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमलाई नियन्त्रणमा लिइएको बताउनुभयो।
उनीमाथि त्यसै समयमा हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दर्ता गरेको थियो।दुईपटक रौतहट पार्टी सभापति हँुदै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत भइसकेका उनी वन राज्यमन्त्री, स्थानीय विकासमन्त्री र श्रम तथा यातायात व्यवस्था मन्त्रीसमेत भइसकेका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले मिसिल संलग्न प्रमाण कागजातबाट वारदातसम्म पनि स्थापित नभएको भन्दै कसैउपर मुद्दा नचलाउने निर्णय गरी सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १७ (२) अनुसार पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडामा पठाइएकोमा उक्त कार्यालयबाट पनि जिल्लाकै राय सदर भई अन्तिम निर्णयका लागि महान्याधिवक्ताको कार्यालयमा पेस भएकोमा कर्तव्य देखिएमा पछि मुद्दा चलाउन सकिने हुँदा हाल कोही कसैउपर मुद्दा नचलाउने राय सदर हुन्छ भन्नेसमेतको २०६५ असार ३० गते निर्णय भएबमोजिम २०६५ साउन २ गते सक्कल मिसिल जिल्ला प्रहरी कार्यालय रौतहट पठाएको थियो।

त्यसउपर रौतहट जिल्लाका तत्कालीन सरुअठा गाविस वडा नम्बर–२ निवासी नारायणसिंह राजपुतसमेतले महान्यायधिवक्ताको कार्यालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सोही मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र न्यायाधीश भरतबहादुर कार्कीको इजलासले ०६९ जेठ १६ गते उत्प्रेषण आदेश जारी गरेको थियो।
०६४ साल चैत्र २७ गते बुधबार साँझ ६ बजेर ३० मिनेटको समयमा रौतहटको तत्कालीन राजपुरफरहदवा गाविस–४ स्थित शेख सदिकको छोरा मोहम्मद आफताब आलमको काकाको घरमा बम विस्फोटन हुँदा सोही स्थानमा २२ वर्षीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तर र अन्य व्यक्तिको समेत उक्त घटनामा मृत्यु भएको दाबी रहेको छ।

निवेदकको तर्फबाट अधिवक्ताहरू केदारप्रसाद दाहाल, नारायणप्रसाद देवकोटा र ध्रुवप्रसाद चौलागाईंले बहस गरेका थिए भने विपक्षीका तर्फबाट सहन्यायाधिवक्ताद्वय किरणकुमार पौडेल र युवराज सुवेदीले बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्