‘दुई पार्टीको सम्बन्ध विस्तार’



मधुसूदन रायमाझी, काठमाडौंनेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँकम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ।
राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा उहाँहरूबीचको आधा घण्टाको भेटवार्तामा दुई देशको विकास र दुई देशका कम्युनिस्ट पार्टीको सम्बन्ध विस्तारबारे छलफल भएको अध्यक्ष प्रचण्डले बताउनुभयो।
उहाँले आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा भएको चीनको भ्रमण, त्यसपछिका भ्रमण र गोवामा भएको भेटवार्ताको स्मरण गरेको जानकारी दिँदै चिनियाँकम्युनिस्ट पार्टी र सरकारले नेपाल र नेपाली जनताका लागि गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेको बताउनुभयो।
अध्यक्ष प्रचण्डका अनुसार राष्ट्रपति सीले दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई नयाँस्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरू साटासाट गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
आफूले बीआरआईमा हस्ताक्षर गरी नेपाल र चीनबीचको सम्बन्धमा नयाँयुगको शुरुआत गरेको बताउँदै उहाँले दुवै देश र जनताको हितका निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरूको छनौट र तीव्र कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेको प्रस्ट पार्नुभयो।
अध्यक्ष प्रचण्डले चीन र चिनियाँकम्युनिस्ट पार्टीसँगको मित्रतालाई नेकपाले धेरै महत्व दिएको र एक चीन नीतिप्रति शब्दमा मात्र नभई व्यवहारमा समेत प्रतिबद्ध रहेको बताउनुभयो।

भेटका क्रममा राष्ट्रपति सी जिनपिङले दुवै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभएको थियो।राष्ट्रपति सीले नेपाली जनताले कम्युनिस्ट पार्टीलाई हृदयदेखि मन पराएको बताउँँदै समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कम्युनिस्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिई दुई देशबीच सरकार, जनता र कम्युनिस्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेकपाका नेताहरूलाई आग्रह गर्नुभयो।

आफूहरूले जनता र राष्ट्रलाई सही बाटामा डोहोर्याएका कारण जनताको अपार समर्थन पाएको र उक्त सद्भाव जनताको सत्ताका रूपमा स्थापित र लोकप्रिय भएको उल्लेख गरेको बताउँदै भेटमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति सीले नेपालको राजनीतिक उपलब्धि, विकासको पहल र नेपालको विशेषतासहितको प्रयत्नलाई बधाई दिनुभएको बताउनुभयो।

चीन नेपालको विकासका प्रयासलाई सहयोग गर्न तत्पर रहेको विश्वास दिलाउँदै दुई देशबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा राष्ट्रपति सीले जोड दिनुभएको श्रेष्ठको भनाइ थियो।
चिनियाँकम्युनिस्ट पार्टीले सन् १९४९ मा शक्ति आर्जन गरेकाले त्यसैको आधारमा मात्रै आफूहरू हिँडिरहेको भन्ने नभएको बताउँदै राष्ट्रपति सीले शक्ति प्राप्त गरेकाले मात्रै नभई कम्युनिस्ट पार्टीले आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्नेमा धारणा राख्नुभएको थियो।

स्मरणीय छ, यही असोज ७ गते दुई देशका कम्युनिस्ट पार्टीबीच सम्पन्न सम्झौतामा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने, वैचारिक र राजनीतिक छलफल तीव्र बनाउने र विकासका ढाँचा आदानप्रदान गर्ने उल्लेख गरिएको छ।
नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालको उपस्थितिमा भएको सम्झौतापत्रमा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँकम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गर्नुभएको थियो। सोही अवसरमा सी विचारधाराबारे अन्तत्र्रिmयासमेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्