१५ हजार सुरक्षाकर्मी सडकमा



काठमाडौं, (नेस)।दुईदिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका क्रममा कुनै पनि अवाञ्छित गतिविधि नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

राष्ट्रपति सीको सुरक्षाका लागि नेपाली सेनाका रथी शरद गिरीको संयोजकत्वमा विशेष सुरक्षा समन्वय कार्यदलले सुरक्षाको बन्दोबस्त गरेको हो।

कार्यदलले राष्ट्रपति सी विमानस्थल अवतरण भएदेखि भ्रमण सम्पन्न गरेर फकँर्दासम्मको सुरक्षाको जिम्मेवारी लिएको छ।

कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत रहेका सुरक्षा स्रोतले जनाएको छ।

कार्यदलको प्रत्यक्ष निर्देशनमा १५ हजार सुरक्षाकर्मी परिचालन भएको जनाइएको छ। कार्यदलको अस्थायी पोस्ट उपत्यका पृतना राजदरबार संग्रहालयमा राखिएको छ।

जहाँबाट चिनियाँविरोधी गतिविधिको सूक्ष्म ढंगले सूचना संकलन र अध्ययन गरी आवश्यक निर्देशन दिने काम भइरहेको छ।

राष्ट्रपति सीको सुरक्षाका लागि चिनियाँ जनमुक्ति सेनाको र चिनियाँ गुप्तचर सस्था मिनिस्ट्री अफ स्टेट सेक्युरिटी (एमएसएस) का सुरक्षाकर्मी समेत सादा पोसाकमा परिचालित भएका छन्। चिनियाँ सुरक्षाकर्मी पनि कार्यदलको निर्देशनमा नेपाली सुरक्षाकर्मीसँगै सादा पोसाकमा परिचालित भएका हुन्।

चिनियाँ सुरक्षाकर्मी एक हजार जनालाई नेपाल भित्रिनका लागि स्वीकृति दिए पनि अन्य एक हजारको हाराहारीमा विभिन्न आवरणमा चिनियाँ गुप्तचर भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन स्रोतले जनाएको छ।

अध्यागमन स्रोतका अनुसार चिनियाँ गुप्तचर प्रमुख चेन वेन्किङसमेत काठमाडौं आएर सिको सुरक्षामा खटिएका छन्। एक हप्ताअघि मात्रै चिनियाँ सुरक्षा निकायको उच्च अधिकारीसहितको एक टोलीले राष्ट्रपति सीको सरक्षाका लागि उपत्यकाको विभिन्न २७ स्थानमा अस्थायी पोस्ट खडा गरी डिभाइसहरु समेत जडान गरी राखिएको थियो।

जुन डिभाइसले कुनै व्यक्ति तीन पटकभन्दा बढी एउटै बाटोबाट आउजाउ गरे, विस्फोटक पदार्थ अथवा हातहतियार बोकेको अवस्थाको समेत सिग्नल दिने काम गरेको बताइएको छ।

विदेशी आगन्तुकको उच्चस्तरीय राजकीय भ्रमणमा अहिलेसम्म त्यस्तो अप्रिय घटना नघटे पनि पछिल्लोपटक नेपालमा सल्बलाएका नेकपा विप्लव समूह र फ्रि तिब्बत समूहको प्रदर्शनजस्ता गतिविधि हुन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको सैनिक मुख्यालयले जनाएको छ।

तिब्बती शरणार्थी बस्ने अस्थायी शिविर, उपत्यका र उपत्यका बाहिरका गुम्बा, राष्ट्रपति सी हिँड्ने मुख्य रुटलगायतमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

शनिबारसम्म उपत्यकाको विभिन्न स्थानबाट २५ बढी फ्रि तिब्बतको पक्षमा प्रदर्शन गर्ने तिब्बती समूहलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो। पक्राउ परेकाहरुले फ्रि तिब्बत लेखिएको टिसर्ट, झन्डा, झोला बोकेर हिँडिरहेका थिए।

चिनियाँ सुरक्षाकर्मीसहितको टोलीले विशेष गरी बौद्ध, स्वयम्भूमा विशेष निगरानी बढाइएको छ भने उपत्यकाबाहिर गण्डकी प्रदेशका कास्कीसहित २२ जिल्लामा रहेको गुम्बाको निगरानी बढाइएको छ।

त्यस्तै रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकालाई विशेष प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस्