पूर्वबडामहारानी रत्न आजबाट ९२ वर्षमा



काठमाडौं, (नेस) । पूर्वबडामहारानी रत्नराज्य लक्ष्मी देवी शाह आज बुधबारबाट ९२ वर्षमा प्रवेश गर्दैहुनुहुन्छ। ९२ वर्षको उमेरमा पनि उहाँ अहिलेसम्म विना साहारा हिडडुल गरी रहनुभएको छ।

१८ वर्षदेखि महेन्द्र मञ्जीलको कम्पाउन्डबाहिर निस्कन नचाहनुभएकी रत्नको जीवन बुढ्यौलीले केही गलेको छ। तर अधिकांश कर्मचारीले उहाँको अवस्था सामान्य रहेको बताउँदै आएका छन्।

आजको जन्मदिनमा आफन्त बाहेक कोही आउँदैनन्, पूर्व राजपरिवारका सदस्य र कर्मचारीले सामान्यरूपमा शुभकामना दिने कार्यक्रमबाहेक अन्य केही गर्ने सोच नभएको स्रोतले जनाएको छ।

यसअघि छोरा एवं पूर्वराजा ज्ञानेन्द्रले रत्नको ९१ आंै जन्मजयन्ती मनाएका थिए। छोरा ज्ञानेन्द्र र कोमल निजी भ्रमणको सिलसिलामा थाइल्यान्डमा रहनुभएको छ। दुई छोरीलाई अध्ययनमा सहयोग गर्न बुहारी एवं हिमानी थाइल्यान्डमै रहनुभएको छ।

थाइल्यान्ड जानुअघि ज्ञानेन्द्रले आमाको स्वास्थ्य अवस्था बुझ्नुभएको थियो। करिब ६ महिनाअघि स्वास्थ्यमा समस्या आएपछि रत्नलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो।

त्यसपछि उहाँ घरमै आराम गरिरहनुभएको छ। ‘बिहान दुध, फलफूल खानुहुन्छ, दुई बजेतिर खाना खाएर आराम गर्ने गर्नुभएको छ र अधिकांश समय धर्मकर्ममा आस्था राख्ने रत्न बेलुकी दुध मात्र खाने गर्नुभएको छ। हरेक मंगलबार निजी चिकित्सकद्धय मृगेन्द्रराज पाण्डे र खगेन्द्रबहादुर श्रेष्ठले नियमित स्वास्थ्य परीक्षण गर्ने गर्नु भएको छ। उहाँको अवस्थाबारे जानकारी दिन प्रत्येक दिन कोही न कोही आफन्त महेन्द्र मञ्जिल आउनेगरेका छन्।

‘९० वर्ष पूरा भएपछि उहाँको स्वास्थ्यमा कुनै गडबडी भएको छैन। नियमित स्वास्थ्य परीक्षण हुने भएकोले उहाँलाई हालसम्म कुनै रोग लागेको छैन’–रत्नका निजी सचिव शम्भु अधिकारीले भन्नुभयो– ‘उमेरका कारण केही समस्या भएपनि स्वाथ्यको कारण केही समस्या देखिएको छैन।

राजा महेन्द्रको स्वर्गारोहणपछि शाकाहारी बन्नुभएकी पूर्वमुमावडामहारानी रत्नको मुख्य खाना नै दुध हो। दरबार हत्याकाण्डपछि सधै निरास देखिनुहुने रत्न पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाडेपछि करिब ६ पटक मात्र महेन्द्र मञ्जिल छाड्नुभएको छ।

सामान्यतया सजिलै हिडडुल गर्न सक्नुभएता पनि अहिले बसेपछि उठ्न गाहे हुनथालेको छ। रत्न करिब ६ जना सुसारेसहित ३५ जना कर्मचारीका साथमा बस्ने गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्