शिक्षकको जागिर छोडेर कागती खेतीतर्फ

0
Shares

स्याङ्जा । स्थायी शिक्षकको सुरक्षित जागिर धेरैका लागि जीवनभरको सपना हुन्छ । तर स्याङ्जाको गल्याङ नगरपालिका–९, चितडाँडाका ५५ वर्षीय पर्शुराम खनालले भने जागिरमा अझै १० वर्ष सेवा अवधि बाँकी रहँदै त्यसलाई त्यागेर व्यावसायिक कृषि रोज्नुभयो । अहिले उहाँको रोजाइ बनेको छ– कागती खेती । प्राथमिक तहमा करिब ३० वर्ष स्थायी शिक्षकको रुपमा सेवा गर्नुभएका खनालले पाँच वर्षअघि शिक्षण पेसाबाट अवकाश लिएर कृषि क्षेत्रमा पूर्ण रुपमा होमिनुभएको हो ।

शुरुमा सातजना मिलेर ५ सय रोपनी बाँझो जमिन खरिद गरी ‘साउथ एसियन मल्टी एग्रो फार्म’ स्थापना गरेर सुन कागती–१ जातको व्यावसायिक खेती शुरु गरिएको थियो । पछि अन्य साझेदार अलग भएपछि खनालले अहिले एक्लै फार्म सञ्चालन गरिरहनुभएको छ ।

हाल खनालले २ सय २० रोपनी क्षेत्रफलमा ५ हजार ५ सय कागतीका बिरुवा लगाइसक्नुभएको छ । चालू आर्थिक वर्षभित्र थप ३ सय रोपनीमा बिरुवा विस्तार गर्ने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो । योजना पूरा भए कुल ५ सय रोपनी क्षेत्रफलमा कागती खेती फैलिनेछ । परम्परागत खेती गर्दा बाँदरलगायत जंगली जनावरबाट बाली जोगाउन निकै कठिन भएपछि विकल्पको खोजीमा कागती खेती रोजेको खनाल बताउनुहुन्छ । अन्य बालीको तुलनामा कागती व्यवस्थापन गर्न सहज, बाँझो जमिनको उपयोग हुने र छोटो समयमै उत्पादन दिन थालेपछि आफू यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार कागती खेतीले दोहोरो फाइदा दिएको छ । एकातिर बाँझो जमिन उत्पादनमा जोडिएको छ भने अर्कोतिर जंगली जनावरबाट हुने क्षति पनि कम भएको छ । अहिलेसम्म कागती खेतीमा करिब ४० लाख रुपैयाँ लगानी भइसकेको खनालले बताउनुभयो । यसै आर्थिक वर्षदेखि उत्पादनबाट आम्दानी आउन थालेको उहाँको भनाइ छ । सबै बिरुवाले पूर्ण रुपमा उत्पादन दिन थालेपछि खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान छ । ५ सय रोपनी क्षेत्रफलबाट उत्पादन शुरु भएपछि भने मासिक ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको छ ।

खेती गरिएको सुन कागती–१ जात वर्षभर फल्ने भए पनि करिब ६ महिना बढी उत्पादन दिने र बाँकी अवधिमा पनि निरन्तर फल दिने विशेषता रहेको उहाँले जानकारी दिनुभयो । कागतीका बोटबीच खाली रहेको जमिनमा उहाँले खुर्सानी, काउलीलगायत तरकारी खेती पनि गर्दै आउनुभएको छ । यसले अतिरिक्त आम्दानीसँगै जमिनको सदुपयोग भएको उहाँको अनुभव छ ।

फार्म सञ्चालनका लागि अहिले १० जनाले नियमित रोजगारी पाएका छन् । उनीहरुको तलबमा मात्रै मासिक करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको खनालले बताउनुभयो । उहाँका अनुसार अहिले उत्पादनबाट खर्च धान्ने अवस्था बनेको छ । तर कागतीका सबै बिरुवा पूर्ण उत्पादनमा पुग्न अझै केही समय लाग्ने भएकाले अपेक्षित आम्दानी लिन भने केही वर्ष कुर्नुपर्ने उहाँको भनाइ छ ।

कृषि विकास कार्यालय स्याङ्जाका अनुसार जिल्लामा हाल ४ सय ५२ हेक्टर क्षेत्रफलमा कागती खेती भइरहेको छ । त्यसमध्ये २ सय २५ हेक्टर क्षेत्रफलमा नयाँ बिरुवाहरु हुर्किने चरणमा रहेका छन् । जिल्लामा व्यावसायिक कागती खेती विस्तार हुँदै जाँदा किसानको आकर्षण पनि बढ्दै गएको कार्यालयको तथ्यांकले देखाएको छ ।