सतर्कता केन्द्रले बनायो सुझाव समिति



नेपाल समाचारपत्र, काठमाडौं ।
ललितपुरको टीकाभैरब लेले क्षेत्रमा संचालित ढुंगाखानीसम्बन्धी समस्याको समाधान गर्न राष्ट्रिय सतर्कता केन्द्रले सुझाव समिति गठन गरेको छ । केन्द्रले सिंहदरबारमा सोमबार बसेको बैठकले सरोकारवालासँग छलफल गरी उपसचिवको नेतृत्वमा सुझाव समिति गठन गरेको हो ।
बैठकले केन्द्रका एक उपसचिवको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन भएको केन्द्रको उच्च स्रोतले जानकारी दिएको छ । जसमा गोदावरी नगरपालिका, सबडिभिजन वन कार्यालय, बज्रवाराही, जिल्ला प्रशासन कार्याल, ललितपुर, नापी कार्यालयका अधिकृत, जिल्ला समन्वय समिति ललितपुर खानी विभागका प्रतिनिधिलगायत छन् ।

समितिले ढुंगा खानीसम्बन्धी समस्याको समाधानका लागि सुझाव दिने

समितिलाई भाद्र १५ गतेभित्र सुझाब पेश गर्ने गरी समयसीमा तोकिएको छ । केन्द्रले यसअघि तयार पारेको छानविन प्रतिवेदनको सम्बन्धमा उक्त क्षेत्रमा संचालित ढुंगाखानीका बारेमा समस्या समाधान हुने गरी सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्ने दायित्व समितिलाई तोकिएको केन्द्र स्रोतको भनाइ छ ।

केन्द्रका सचिव माधव बेल्बासेको अध्यक्षतामा बसेको छलफलमा गोदावरी नगरप्रमुख, गजेन्द्र महर्जन, प्रमुख जिल्ला अधिकारी ललितपुरका प्रेमराज जैशी, प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुक, प्रमुख मालपोत अधिकृत भीमकान्त पौडेल, प्रमुख प्रशासकीय अधिकृत गोदावरी नगरका कृष्ण प्रसाद जैशी, डिभिजन वन अधिकृत नवीन गिरी सहभागि हुनुहुन्थ्यो ।

केन्द्रले यसअघि दक्षिणी ललितपुरको लेले टिकाभैरव र देवीचौर क्षेत्रका वन क्षेत्रमा सिडिओ, एसएसपी र मेयरकै संरक्षणमा स्काईभेटर र ब्रेकरको प्रयोग गरी ढुंगा उत्खनन गर्ने काम भईरहेकोले छानविन गर्न परेको उजुरीमा दुई सदस्यीय छानविन समिति गठन गरी प्रतिवेदन तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्