काभ्रेमा १३ रोपनी जमिन कब्जा, प्लटिङ धमाधम



मोतीराम तिमल्सिना, काभ्रे ।

नापी र मालपोतको अभिलेखमा ‘वन क्षेत्र’ लेखिएको ११ रोपनी र ‘सार्वजनिक’ दुई रोपनी क्षेत्रफल जमिन भूमाफियाले कब्जा गरेका छन् । कब्जा गरिएको जमिन धमाधम प्लटिङ्ग हुँदैछ ।

धुलिखेल नगरपालिका वडा नम्वर १० साविक शारदा बतासे गाउँ पञ्चायत २ र गाविस कायम हुँदा वडा नम्वर ५ मा रहेको कित्ता नम्वर १५ को ११ रोपनी र सँगै रहेको सार्वजनिक २ रोपनी जमिन कब्जा गरी कित्ता नम्वर १४ मा मिसाएर प्लटिङ्ग गरिएको हो ।

कित्ता नम्वर १५ लाई कित्ता नम्वर १४ भित्रै पारी पास गरेका तत्कालीन वडा अध्यक्ष बलराम पराजुलीले विक्री गरेको २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिसविना २२ रोपनी २ आना ३ दाम गरिएको छ ।

सार्वजनिक दुई रोपनी जमिन पुनः मालपोत र नापी कार्यालयको सहयोगमा पास गरिएको छ । पञ्चायत कालीन वडा अध्यक्षसमेत रहेका पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली जिल्ला पुरानो झाँगाझोली वडा नम्वर ९ घर भएकी बविता खत्री, भोजपुर जिल्ला च्याँग्रे वडा नम्वर ६ घर भएकी झुमादेवी उप्रेती, काभ्रे धुलिखेल वडा नम्वर ८ साविक काभ्रे २ घर भएका विदुरबहादुर बस्नेत र धुलिखेल १२ शंखु घर भएका रवीन्द्र अधिकारीका नाममा सगोलनामा पास गरिदिएका थिए ।

लालपुर्जामा २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिसबिना २२ रोपनी दुई आना तीन दाम पास गरिएको छ । सार्वजनिक दुई रोपनी जमिन पुनः मालपोत र नापी कार्यालयको सहयोगमा पास गरिएको हो ।

बलराम पराजुलीले बैंकमा धरौटी राखेको उक्त जग्गा लिलामी हुन लागेपछि सो समूहले खरिद गरी आफ्नो नाममा बनाएको थियो । आफ्नो नाममा पास गरेलगत्तै बनसीमाभित्र रहेको जमिनलाई एकलौटी रुपमा हाक साविक गरी थपिएको हो । जग्गा प्लटिङ्ग गर्ने मध्येका अधिकारीले आफूहरुले कानुनअनुसार नै जग्गा खरिद गरी प्लटिङ्ग गरेको बताउनु भयो । ‘यो जग्गाभित्र बन भएको हामीलाई जानकारी छैन, छुट भएको जमिनलाई हालसाविक गराएका छौं, कानुनविपरीत रहेछ भने छाड्न तयार छौं’–अधिकारीले भन्नुभयो ।

२०७६ जेष्ठ ३ गते शारदा बतासे वडा नम्वर ५ अन्तर्गत इन्द्रबहादुर भुजेलले बारीका पाटा बनाएको सेतिमाटी सापकोटाको पाखो नामकरण सार्वजनिक रुपमा हुँदै आएको जग्गा ब्यक्तिगत रुपमा प्रयोग हुन गएको हुँदा उक्त पाखो के–कसरी र कोमार्फत ब्यक्तिगत हुन गएको हो एकिन रुपमा छानविन गरियोस् भन्दै १ सय १९ जना वडाबासीहरुले वडा कार्यालयमा निवेदन दर्ता गराएपछि विवाद बाहिर आएको हो ।

कित्ता नम्वर १५ को जंगल क्षेत्रको ११ रोपनी क्षेत्रफलको जमिन कसरी गायव गरियो भन्दै स्थानीयले प्रश्न गरेका छन् । सो जग्गा प्रतिआना ३ लाखका दरले हालको मूल्यअनुसार ६ करोड २४ लाख रुपैयाँ पर्छ । चारकिल्ला र मोठ अनुसारकोे जग्गा कहाँ गयो, कित्ता नम्वर १४ र १६ बीचको जग्गा गायव गर्ने ब्यक्तिहरुलाई कडा कारवाही किन नगर्ने– वडावासीको प्रश्न छ ।

७७ वर्षीय स्थानीय प्रेमबहादुर केसीले कित्ता नम्वर १५ को पूरै भाग बन जंगल भएको र सोही कित्ता १४ र १६ नम्वरको बीचमा रहेकाले आफूले जानेदेखि नै बस्तुभाउ चराउने सार्वजनिक पाखोको रुपमा प्रयोग भएकाले प्लटिङ्ग हुनु र ब्यक्तिका नाममा जानु दुखद भएको बताउनुभयो ।

‘गाई चराउने पाखो कसरी ब्यक्तिगत हुनसक्छ ?’ स्थानीय रामकृष्ण विष्टले कित्ता नम्वर १७९ सँग साविकको कित्ता नम्वर १५ जोडिएकाले १४ नम्वर कित्ताभित्र बन कसरी पस्यो भन्नेसम्बन्धमा अनभिज्ञ भएको बताउनु भयो । ‘२०३२ सालसम्म सार्वजनिक जग्ग्गा हालसम्म पनि गाई चरनका रुपमा स्थापित थियो, एकाएक कसरी प्लटिङ्ग हुन पुग्यो’–उहाँले आक्रोश पोख्नुभयो–‘२०४५ सालमा छुट जग्गा दर्ता गराउँदा सबै बन क्षेत्रकोे जमिन आफ्नो नाममा गराएका रहेछन् । १४ नम्वर कित्तामा शुरुमा १४ रोपनी जमिन थियो २०४५ साल फागुन २४ गते २०–८–१–२ रोपनी बनाउँदै २०७५ सालमा २२ रोपनी बनाइएको छ ।

धुलिखेल नगरपालिका वडा नम्वर १० का अध्यक्ष पुष्पराज राउतले स्थानीयहरुले दिएको उजुरीका बारेमा अध्ययन अनुसन्धान शुरु गरिएको बताउनु भयो । ‘मोठ, चार किल्ला प्रमाणित, नक्साअनुसार जग्गा प्लटिङ्ग भएको छैन । कित्ता नम्वर १४ र १६ बीचको सिमाना उल्लेख गरेको जग्गा खोई, स्थानीय सहित हाम्रो चासोे र अध्ययनको विषय त्यहि हो’–अध्यक्ष राउतले भन्नु भयो–‘वडा कार्यालयले साविकको जग्गा २०–८–१–२ रोपनीका लागि लिलामी भई विक्री वितरण हुन लागेपछि रवीन्द्र्र अधिकारी र विदुरबहादुर बस्नेतलाई सिफारिस दिएको हुँ ।’
नापी र मालपोतको पनि मिलेमत्तो देखियो । जग्गा नापजाँच र हाल साविक गर्दा स्थानीय, जनप्रतिनिधिलाई जानकारी नै छैन ।

गाउँपञ्चायतको सिफारिस, जग्गा दर्ता गर्ने ब्यक्ति रेशमकुमारीको निवेदनका आधारमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मितिमा गरेको टिप्पणी, अभिलेख र नाप जाँचका आधारमा भन्दै छुट जग्गा दर्ता गरिदिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्