नेपाल समाचारपत्र, काठमाडौं ।
भारतीय जनता पार्टीकी नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिएको छ । बुधवार अपरान्ह्र दिल्लीको लोधी रोडस्थित विद्युतीय शवदाह गृहमा उहाँलाई अन्तिम विदाई गरियो ।
तीन वर्षअघि मृगौला प्रत्यारोपण गर्नु भएकी ६७ बर्षिया स्वराजको मंगलबार राती हृदयघातका कारण निधन भएको हो । स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि एम्स अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको बताइएको छ । सन् २०१४देखि भारतीय विदेशमन्त्री नियुक्त हुनु भएकी उहाँ पाँच महिना अघिसम्म सोही जिम्मेवारीमा रहनु भएको थियो ।
विदेशमन्त्री रहेका बेला स्वराजले दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा विदेशमन्त्री रहँदा उहाँले नेपाल, पाकिस्तान र अन्य मुलुकसँगको सम्बन्ध सुधार्न निर्वाह गरेको भूमिकाले मोदी सरकारको विदेश नीति उचाईमा पुगेको स्मरण गरिन्छ । संसद र अन्यत्र पनि प्रखर वक्ताको छवी भएकाले भारतीय प्रतिपक्षी दलका नेतासँग पनि स्वराजको राम्रो सम्बन्ध रहेको बताइन्छ ।
उहाँ विदेशमन्त्री रहँदा पटक–पटक नेपाल भ्रमणमा आउनु भएको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको नेतृत्व गर्ने सुनिश्चित भएपछि स्वराजले २०७४ माघमा नेपाल भ्रमण गर्नु भएको थियो ।
भारतीय विदेश मन्त्री सुषमा स्वराज विदेश मन्त्री हुँदा पटक–पटक नेपाल भ्रमणमा आउनुभएको छ । २०७४ मसिंरमा भएको संसदीय निर्वाचनले तत्कालिन बाम गठबन्धनलाई सरकार गठन गर्ने बलियो जनादेश दिएसँगै विदेश मन्त्री स्वराज माघ १८ गते नेपाल भ्रमणमा आउनु भएको थियो । सो बेला विमानस्थलबाट उहाँले सोझै ओलीसँग भेटवार्ता गरेपछि मात्रै अन्य नेतासँग भेटवार्ता गर्दा सो भ्रमणले निकै चर्चा बटुल्यो । बुहमतका साथ निर्वाचनमा विजयी भएको तत्कालिन बाम गठबन्धन र ओली नेतृत्वको सरकारसँग सहकार्य गर्न तथा ओलीको अघिल्लो कार्यकाल पश्चात चिसिएको सम्बन्ध सुधार्न उहाँ नेपाल आउनु भएको विश्लेषण गरिएको थियो ।
नेपालले २०७२ असोज ३मा संविधान जारी गरेपछि चिसिएको नेपाल–भारत सम्बन्ध निकै खटपट रह्यो, भारतले नेपालमा पाँच महिनाभन्दा बढी समय नाकाबन्दी लगायो । नेपालले आफ्नो अनुकूल विना संविधान जारी गरेपछि मोदी र स्वराजको ‘ग्रान्ड डिजाइन’मा नेपालमाथि नाकाबन्दी लगाइएको चर्चा हुँदै आएको छ । सो बेला भारतले नेपालमाथिको नाकाबन्दी नलगाएको, नेपालका मधेसी नागरिकले नै सीमामा गाडी रोकेपछि अवरोध सिर्जना भएको स्वराजको अभिव्यक्ति चर्चामा आएको थियो ।
नेपालमाथि लगाइएको नाकाबन्दीबारे भारतका प्रतिपक्षी दलले संसदमा उठाएको प्रश्नको जवाफमा नेपालमा नाकाबन्दी पहिलो पटक नभएको बताउँदा उहाँको सो अभिव्यक्ति निकै विवादित रह्यो । भारतीय प्रधानमन्त्री मोदीको अघिल्लो कार्यकालमा भएको जनकपुर भ्रमण र सो भ्रमणका बेला मोदीको सम्बोधनबारेको स्वराजको टिप्पणी पनि विवादरहित बन्न सकेन । ‘प्रधानमन्त्री मोदीले अमेरिकादेखि जनकपुरसम्म लाखौँ भारतीय समुदायलाई सम्बोधन गर्दै जोड्ने प्रयास गर्नु भएको थियो’–यस्तो टिप्पणी गरेपनि उहाँ विवादमा तानिनु भएको थियो । यस्ता उतार चढावका वीच स्वराजले नेपालसँगको सम्बन्ध सुधार्न सक्रिय भूमिका निर्वाह गर्नु भएको चर्चा गरिन्छ ।
१९५२ मा हरियाणा राज्यको अम्बालामा जन्मनु भएकी स्वराजले राजनीतिक यात्रा सन् १९७० को दशकमा अखिल भारतीय विद्यार्थी परिषद्बाट शुरु गर्नुभएको थियो । पञ्जाब विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेपछि उहाँले सर्वोच्च अदालतबाट वकालत अभ्यास शुरु गर्नु भएको थियो । सन् १९७७ मा हरियाणा विधानसभा सदस्यमा निर्वाचित भएपछि २५ वर्षकै उमेरमा चौधरी देवी लाल सरकारमा राज्यको श्रम मन्त्री बन्नु भएको थियो । सन् १९८० को दशकमा भारतीय जनता पार्टी गठन भएपछि सो पार्टी प्रवेश गर्नु भएकी उहाँ त्यसपछि राजनीतिमा निरन्तर सक्रिय स्वराज पटक–पटक सांसद र मन्त्री बन्नुभयो ।
आफ्नो स्वास्थ्य समस्याका कारण यसपटकको लोकसभामामा उहाँले उम्मेदवारी नदिने घोषणा गर्नु भएको थियो । भारतले जम्मु कश्मीर माथि लिएको पछिल्लो नीतिको स्वागत गर्दै स्वराजले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिदै ट्वीट गर्नु भएको छ । हृदयघात हुनु केही घन्टा अघिको आफ्नो ट्वीटमा उहाँले भन्नु भएको छ–धन्यवाद प्रधानमन्त्रीज्यू तपाई लाई बधाई छ, म आफ्नो जीवनमा यही दिन देख्नका लागि प्रतिक्षारत थिएँ ।’
नेपाली नेताले दिए श्रदाञ्जली
भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति नेपाली नेताले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई लगायतले श्रदाञ्जली व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले वरिष्ठ राजनीतिक नेता स्वराजको निधनले आफू दुःखित भएको बताउँदै दुःखद घटनाबाट परिवार र भारतीय जनताप्रति परेको पीडाप्रति समवेदना व्यक्त गर्नु भएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीट् मार्फत श्रदाञ्जली व्यक्त गर्नु भएको हो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले स्वराजलाई बरिष्ठ नेता र नेपालको सच्चा मित्रका रुपमा स्मरण गर्दै परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ । अर्का पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले स्वराज भारतको प्रतिभाशाली नेता भएको स्मरण गर्दै युवा अवस्थामै उहाँसँग परिचित हुने मौका पाएको बताउनु भएको छ । ट्वीट् मार्फत आफूले एक असल साथी गुमाएको भट्टराईले उल्लेख गर्नु भएको छ ।
हृदयघातका कारण स्वराजको मंगलबार राति निधन भएको थियो । स्वराजको निधनमा दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत सरकार र भातरीय जनताले प्रतिवद्ध एवं दुरदर्शी नेता गुमाएको बताउनु भएको छ । उहाँ विदेशमन्त्री हुँदा द्धिपक्षिय सम्बन्धलाई शसक्त बनाउन सँगै काम गर्ने मौका मिलेको ट्वीटमा उल्लेख गर्नु भएको छ ।
त्यसैगरी अर्का पूर्व परराष्ट्रमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले विज्ञप्ती जारी गर्दै नेपालले एक असल साथी गुमाएको बताएको बताउनु भएको छ । नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन स्वराजको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उहाँले समकक्षीका रुपमा गरेको सहकार्य स्मरणमा ताजा रहेको उल्लेख गर्नु भएको छ । थापाले आफ्नो ट्वीटमा स्वराज ‘एक्स्ट्रा अर्डिनरी ट्यालेन्ट’ नेतृ भएको बताउनु भएको छ ।











प्रतिक्रिया