१३औं दक्षिण एसियाली खेलकुदको आयोजना पहिलो प्राथमिकता



रमेश सिलवाल
सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद्

शिक्षा क्षेत्रमा परिचित व्यक्तित्व रमेश सिलवाल विगत एक महीनादेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको कुर्सीमा हुनुहुन्छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष र गोल्डेनगेट इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सिलवाल कार्यसूची बनाएर काममा लाग्नुभएको छ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) मा उपाध्यक्षका रुपमा पनि काम गरिसकेका सिलवालले क्रिकेट क्षेत्रको समस्या समाधानमा प्राथमिकता दिने अपेक्षा छ । १३औं दक्षिण एसियाली खेलकुदलाई समयमै सम्पन्न गर्ने चुनौती बोकेर आएका रमेश सिलवालसँग यसै विषयमा केन्द्रित रहेरनेपालसमाचारत्रका लागि कविरस शर्माले गरेको कुराकानी :

खेल क्षेत्रसँग नाता कसरी जोडियो ?
बाल्यकालदेखि नै खेलकुदप्रति मेरो लगाव थियो । मार्सल आर्ट्सबाहेक अन्य थुप्रै खेल मैले खेलेको छु र ज्ञान पनि छ । मार्सल आर्ट्स नखेले पनि म नेपालमा आईटीएफको संस्थापक हुँ जसका कारण आईटीएफले मलाई मानार्थ थ्री डानसमेत प्रदान गरेको छ । खेलकुदमा मैले केही योगदान पु¥याएकोले नै होला सरकारले मलाई यस्तो सम्मान दिएको ।

वास्तवमा म आफूलाई खेल म्यानेजर भन्न रुचाउँछु । खेलकुदबाट राष्ट्रिय गौरव र इज्जत प्राप्त हुन्छ, देशको श्रीवृद्धि र राष्ट्रिय स्वाभिमान बढाउन सकिन्छ । म यसमै केन्द्रित छु । यस पदमा नबस्दा पनि मैले निरन्तर रुपमा नेपाली खेलकुदमा योगदान पुर्याउँदै आएको थिएँ । धेरै खेलाडी र प्रशिक्षक उत्पादन गर्ने विषयमा एउटा कोणबाट मेरो नाम पनि जोडिन्छ । मेरो नियुक्तिलार्य मैले मेरो मात्र नभएर खेल क्षेत्रमा योगदान पुर्याउने समस्त व्यक्तिहरुको सम्मानको रुपमा लिएको छु ।

राखेपमा तपाईंको पहिलो प्राथमिकता के हुनेछ ?
अहिलको अवस्थामा मेरो पहिलो प्राथमिकता भनेको १३औं दक्षिण एसियाली खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्ने नै हो । म अहिले त्यसैमा केन्द्रित छु ।

तपाईंको चार वर्षे कार्यकालको लक्ष्य के हो?
मेरो लक्ष्य भनेको खेल क्षेत्रलाई व्यवस्थित बनाउने हो । पद्धति र प्रणालीलाई चुस्त–दुरुस्त पार्ने हो । पूर्वाधार निर्माण, खेलकर्मीको सम्मान, खेलाडी तथा प्रशिक्षकहरुको सामाजिक मर्यादा बढाउनेजस्ता कामहरुलाई म प्राथमिकता दिनेछु । देशव्यापी रुपमा मान्छेको जीवनसँग खेललाई पनि जोड्ने वातावरण निर्माण गर्ने, ठूला–ठूला प्रतियोगिताहरु गर्ने, योग्यता र क्षमतालाई अभिवृद्धि गर्ने हो । ‘स्कुल टू ओलम्पिक’ भनिएको छ, त्यसैले विद्यालय, कलेज, क्लब तथा विभिन्न संघ–संस्था, कर्मचारी, प्रशासनमा अधिकृतस्तरका व्यक्तिहरुलाई खेलकुदतिर आकर्षित गर्ने खालको खेल माहौल निर्माण नै मेरो लक्ष्य हो ।

यसका लागि कस्तो योजना बनाउनुहुन्छ ?
योजना थुप्रै छन् । योजना बनाउनु ठूलो कुरा होइन, तर योजना बनाएर त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने चाहिं ठूलो कुरा हो । १३औं सागको लागि नै भनेर पनि मैले योजनाहरु तयार गर्दैछु । साग सम्पन्न भइसकेपछि मेरो चार वर्षे कार्यकाल सकिने बेलासम्म मैले बनाएको अन्य योजना पनि पूरा गर्छु ।

चार वर्षे कार्यकालमा गर्नुपर्ने मुख्य कामहरु के–के हुन् ?
नेपाल फलानो–फलानो खेलको ‘पावरहाउस’ हो भनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा चिनाउने हो । खेलकुदलाई शिक्षा, स्वास्थ्य, पर्यटन तथा आम जीवनसँग जोड्नका लागि काम गर्छौं । त्यसैको परिधिभित्र रहेर म कार्ययोजना बनाउंँछु र कार्यान्वयन पनि गर्छु ।

नेपाली खेलकुदमा कस्तो खालको समस्या छ ?
पहिलो कुरा त खेलकुद क्षेत्र उत्पादनशील छ भनेर जनमानसमा लैजान सकेका छैनौं । योजनाबद्ध र व्यावसायीकरणको विकास हामीले गर्न सकेका छैनौं । खेलकुदबाट नै राष्ट्रिय एकता बनाउन सकिन्छ भनेर आधार तयार पार्न पनि बाँकी छ । हामीसँग पूर्वाधारको कमी छ, तर बनेका पूर्वाधारको संरक्षण र सम्वद्र्धन गर्न सकेका छैनांै । हामीले ठूला–ठूला प्रतियोगिताहरु आयोजना गर्न सकेका छैनौं । नतिजा केन्द्रित खेलको पहिचान गरी त्यसलाई प्राथमिकतामा राख्न सकेका छैनौं ।

यी सबै समस्याको समाधान गर्नसक्नु हुन्छ ?
खेलकुदको समस्या समाधान गर्ने नै म यो कुर्सीमा बसेको हुँ । यी सबै समस्या समाधान गर्न सक्दो प्रयास गर्नेछु ।

राखेपका करार तथा अस्थायी कर्मचारीहरुको स्थायी हुनुपर्ने मागलाई कसरी समाधान गर्नुहुन्छ ?
एक हजार दरबन्दी अहिले स्वीकृत भइसकेको छ । पाठ्यक्रम बनाइसकेपछि त्यसलाई लागु गरेर लोकसेवामार्फत् स्थायी दरबन्दीका लागि प्रक्रिया सुरु हुन्छ । त्यसमा पहिलो पटक नसमेटिएकाहरु दोस्रो पटक समेटिने छन् । यसमा ३० प्रतिशत आन्तरिक र ७० प्रतिशत बाह्यलाई सामेल गराइनेछ । प्रशिक्षकहरुको हकमा भने मैले स्थायी नबनाउने नीति लिएको छु । प्रशिक्षकहरुसँग करारमा नै सम्झौता गरिनेछ ।

भनेपछि सबै प्रशिक्षकलाई करारमा नै राखिने हो ?
हिजो स्थायी भएका प्रशिक्षकहरुलाई यो लागु हुनेछैन । तर, अब लोकसेवाले पदपूर्ति गरेपछि प्रशिक्षकलाई भने स्थायी गरिने छैन । जोसँग योग्यता, कार्यदक्षता छैन, त्यस्ताले यति र उति वर्ष जागिर खाए भन्ने कुनै अर्थ रहँदैन । करार सम्झौता गर्दा ‘स्थायीको लागि दावी गर्ने छैन’ भन्ने एउटा वाक्य नै लेखिनेछ ।

प्रशिक्षकको हकमा मात्र किन यस्तो नीति लिनुभएको ?
प्रतिभावान खेलाडी उत्पादनमा प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले यसलाई सधैं चुस्त र दुरुस्त बनाउनुपर्छ । त्यसैले काम गरेकै आधारमा प्रशिक्षकको मूल्याङ्कन गरिनेछ । काम गरे पनि नगरे पनि सबैले जागिर खाएकै भरमा स्थायी प्रक्रियामा जानुहुदैन । त्यसो ग¥यो भने पुरानालाई पनि झट्ट हेर्दा अन्याय भएजस्तो अनि नयाँले पनि न्याय नपाएजस्तो देखिन्छ । कामको आधारमा ‘रिवार्ड एन्ड पनिसमेन्ट’ को नीति लिन्छु ।

यस प्रक्रियाले पूर्णता पाउन कति समय लाग्ला ?
पाठ्यक्रम निर्माण गर्न र पारित हुन एक महिनाजति लाग्छ । त्यसपछि लोकसेवा आयोगले आफ्नो प्रक्रिया सुरु गर्छ । करिब तीन महिना भित्रमा यसले पूर्णता पाउनेछ ।

खेल–संघहरूमा रहेको विवाद समाधान गर्न तपाईंको भूमिका कस्तो हुनेछ ?
नेपाली खेलकुदमा दुई खालका विवाद छन् । एउटा राखेपले रोपेको र अर्को खेल–संघभित्र नै सिर्जित विवाद । राखेपले अब विवाद रोप्ने छैन । त्यस्ता खालका कुनै पनि विवादको ठूलो विरोधी हुँ म । संघभित्र नै सिर्जित विवाद छ भने त्यसलाई समाधान गर्न म तत्पर छु । अहिलेको सन्दर्भमा संघमा खासै धेरै विवाद पनि छैन । धेरै संघको विवादहरु पनि सल्टिएका छन् । निकट भविष्यमा सबै संघमा रहेको विवादको अन्त हुनेछ भन्नेमा म आशावादी छु । यसो गर्दा नयाँलाई सिस्टमभित्र राख्न पनि मलाई सहज हुनेछ ।

क्यानको विवाद मिलाउने तपाईको योजना के हो ?
क्यानको विवाद मात्र होइन अन्य संघको विवाद मिलाउन पनि उत्तिकै तत्पर छु । यस्ता विवादलाई शून्य बनाउन म महत्वपूर्ण भूमिका निर्वाह गर्छु ।

तपाईको कार्यकालमा राखेप र नेपाल ओलम्पिक कमिटीबीचको सम्बन्ध कस्तो हुनेछ ?
एक शब्दमा भन्नुपर्दा सुमधुर सम्बन्ध हुनेछ । नङ–मासुजस्तो । नेपाली खेलकुदको श्रीवृद्धिका लागि आ–आफ्नो कार्यक्षेत्रभित्र रही इमानदारीका साथ मिलेर काम गर्छौं ।

१३औं साग तयारीलाई कसरी अघि बढाउनु हुन्छ ?
तयारीका लागि मुख्यतः तीनवटा कुराहरु छन् । पहिलो नम्बरमा पूर्वाधार निर्माण हो । कम्तिमा पनि एउटा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार तयार पार्नु हो । दोस्रो खेलाडीहरुको प्रशिक्षणको कुरा हो । तेस्रो भनेको उद्घाटन अघिदेखि समापन नहुञ्जेलसम्मको कार्यक्रमलाई व्यवस्थित बनाउने हो । यी तीन वटै कुरालाई तीन फरक धारमा राखेर तयारी गरेको छु, र समयमा नै ती सबैको तयारी पूरा हुनेछ ।

पूर्वाधार निर्माणको काम सुस्त भएको हो ?
काम सुस्त छैन । विश्वका अन्य देशमा पनि ठूला प्रतियोगिता गर्दा तयारीको समय अलि लामो नै हुनेगर्छ । त्योसँग हाम्रो दाँज्ने हो भने तपाईंको कुरासँग म सहमत छु । हिजोको अवस्थामा निर्माणको गति जस्तो थियो त्योभन्दा अहिले बढेको छ ।

खेलस्थलको निर्माण कार्य सन्तोषजनक छ ?
सन्तोषजनक नै मान्छु । हामीसँग चार महिना बांँकी छ । त्यसअवधिभित्र पूर्वाधार निर्माणको सम्पूर्ण काम सम्पन्न हुनेछ ।

मिति तीन पटक स¥यो, अब तोकिएकै मितिमा हुन्छ ?
साग सम्पन्न गर्न नसकिने भए त हामी सक्छौं भनेर मिति नै घोषणा गर्दैनौं नि । पहिला मैले सारेको होइन, अरुले सारेका हुन्, म चाहिं सार्दिनँ ।

सागका लागि चाँडो बजेट निकासा गर्न कस्तो पहल हुनेछ ?
बजेटको चिन्ता मेरो हो । यो चिन्ता मलाई नै लिन दिनुस् । यसलाई कसरी, कहिले ल्याउने त्यो मेरो जिम्मेवारीको कुरा हो । प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुदमन्त्री यस विषयमा सकारात्मक हुनुहुन्छ । यस विषयमा पत्रकारहरुले धेरै चिन्ता गरिदिनु भयो, उहाँहरुलाई धेरै धन्यवाद । यत्ति भन्छु कि बजेटकै कारणले १३औं साग कुनै हालतमा रोकिने छैन ।

सागमा समावेश २७ खेलको स्थल टुंगो लागेको हो ?
टुङ्गो लागिसकेको छ । मसहित संघका पदाधिकारी र प्राविधिक सहितको टोलीले सम्पूर्ण खेलस्थलको निरीक्षण गरेर प्रारम्भिक रुपमा २७ खेलको खेलस्थल पक्का गरेका छौं । सोहीअनुसार खेलस्थलको मर्मत सम्भार, निर्माण र रंगरोहनको आवश्यक प्रक्रिया पनि अघि बढाएका छौं ।

सागमा समावेश २७ खेलहरु कहांँ खेलाइनेछ ?
काठमाडौं उपत्यकासहित पोखरामा खेलाइनेछ । अधिकांश खेल काठमाडौंमा सञ्चालन हुनेछन् भने महिला फुटबलसहित सात खेल पोखरामा हुनेछन् । ललितपुरको सातदोबाटोस्थित कराँतेको नवनिर्मित भवनमा कराँते र बक्सिङ तथा तेक्वान्दो भवनमा कुस्ती र तेक्वान्दोका खेलहरु सञ्चालन हुनेछन् । त्यस्तै, सातदोबाटो परिसरमै सुटिङ, पौडी, स्क्वास, टेनिसका खेलहरु सञ्चालन गरिनेछ । दशरथ रंगशालामा पुरुष फुटबलसहित एथ्लेटिक्सका अधिकांश स्पर्धाहरु सञ्चालन गरिनेछ । साइक्लिङका लागि जगडोलको शहीद पार्कलाई उपयोग गरिनेछ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा बास्केटबल र व्याडमिन्टन हुनेछ । लैनचौरको टेबलटेनिस हलमा टेबलटेनिस तथा मूलपानी र कीर्तिपुर मैदानमा क्रिकेट खेलाउने तय भएको छ । खोखो र कबड्डी काठमाडौंको भृकुटी मण्डपमा तथा गल्फ गोकर्ण गल्फ क्लबमा, उसु लगनखेलस्थित आर्मीको कभर्डहलमा सञ्चालन गरिनेछ । फेन्सिङको लागि खेलस्थलको टुङ्गो लाग्न बाँकी भए पनि पुलिसको निर्माणाधीन कभर्डहल सम्भावित खेलस्थल हुनसक्छ । त्यसको विकल्पमा आर्मीको कभर्डहल, भृकुटी मण्डप र त्रिपुरेश्वरको कभर्डहललाई सम्भावित खेलस्थलको रुपमा प्रयोग गरिनेछ । त्यस्तै, पोखरा रंगशलामा महिला फुटबल सञ्चालन गरिनेछ । रंगशालाको कभर्डहलमा आर्चरी, भलिबल, ह्याण्डबलका स्पर्धाहरु हुनेछन् भने पोखराको सभागृहमा भारत्तोलन, फेवातालमा ट्रायथलन र प्याराग्लाइडिङका खेलहरु सञ्चालन हुनेछन् ।

सागमा समावेश खेलको तयारी कसरी हुँदैछ ?
पदकका लागि सबै खेलको स्वभाव एउटै छैन । पदकको अधिक र न्यून सम्भावना भएका खेललाई दुई भागमा वर्गीकरण गरेर तयारी थालेका छौं । ती दुवैमा लगानी ढाँचा एउटै हुनुहुँदैन । रिजल्ट ओरिएन्टेड खेलमा गरिने लगानी र नन् रिजल्ट ओरिएन्टेड खेलमा गरिने लगानीमा भिन्नता छ । कुनै खेल बन्द शिविर प्रशिक्षण सुरु भएदेखि नै विदेशमा छन् । कुनैको पहिलो स्टेज नेपालमा र त्यसपछि विदेश जाने योजनामा छ भने कुनैको फाइनल स्टेज विदेश लैजाने योजना छ । त्यस्तै कुनैमा विदेशी प्रशिक्षक झिकाएर अन्तिमसम्म नेपालमा नै तयारी गर्ने योजना छ भने कुनैको नेपाली प्रशिक्षक नै पर्याप्त हुन्छ भन्ने छ ।

केही खेलले आवश्यक सामग्रीको अभाव र प्रशिक्षणस्थल अनुकूल नभएको गुनासो गरेका छन्, के भन्नुहुन्छ ?
खेल संघको पनि केही जिम्मेवारी र दायित्व हुन्छ । संघका पदाधिकारी पद ओगटेर मात्र बस्नका लागि होइनन् । संघले आफ्नो खेल कहाँ कसरी खेलाउने हेक्का राख्नुपर्छ । राखेपले उपलब्ध गराएको स्थान प्रयोग गर्न नमान्ने अनि प्रशिक्षणस्थल अभाव भएको भन्दै हल्ला फिजाउनु सरासर गलत कुरा हो । यस्तो कुराको गुनासो गर्नुभन्दा पनि राखेपसँग समन्वय गर्दा समाधान निस्कन्छ । यदि कसैले गलत कुराको हल्ला चलाउँछ भने त्यस्ता संघ वा पदाधिकारीसँग स्पष्टीकरण माग्नसमेत म तयार छु ।

सागभन्दा अघि खेल संघको चुनाव रोकिन्छ ?
यदि सागमा समावेश २७ खेलका संघमध्ये कुनैको चुनाव गर्ने समय आएमा मात्र चुनाव नगराउने भनेको हुँ । त्यो बाहेकको खेल संघलाई भने चुनाव गर्न रोकतोक छैन । ती २७ खेलमध्ये कुनैको चुनाव रोकिंदा अप्ठ्यारो पर्छ भने समयावधि बढाउने अधिकार मसँग छ ।

यस्तो गर्नुको कारण ?
प्रमुख कारण भनेको खेल संघमा विवाद नआओस् भन्ने नै हो । जसका कारण सागको तयारीमा असहज वातावरण सिर्जना नहोस् भनेर हो । संघका अन्य व्यक्तिका कारण साग तयारीमा रहेका प्रशिक्षक र खेलाडीमा कुनै प्रकारको फाटो अथवा नकारात्मक प्रभाव नपरोस् भन्ने चाहन्छु । खेलकै हितको निम्ति मैले यस्तो गर्ने भनेको हो, तर त्यो सागसम्मका लागि मात्र हो ।

प्रतिक्रिया दिनुहोस्