प्रदेश १ सरकारले ३ आयुर्वेद केन्द्रसहित वैद्यखाना संचालन गर्ने



सरोज यादव । प्रदेश १ सरकारले प्रदेशमा ३ वटा आयुर्वेद केन्द्र र प्रदेशमा भएका सबै जडीबुटीको सुचीकरण गर्दे वैद्यखाना संचालन गर्ने तयारी गरेको छ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ मोरङको अधिवेशन उद्घाटन सत्रमा प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले यस्तो जानकारी दिनुभएको हो ।

आयुर्वेद चिकित्सा पद्धति संकटमा परेको बताउदै मन्त्री घिमिरेले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य जिवन अभियान संचालन गर्ने अभियानमा जुटेको पनि बताउनुभयो । जिल्ला आयुर्वेद अस्पतालका लागि प्रदेश सरकारले आवश्यक नीति नियम बनाएर अगाडि बढेको उहाँले जानकारी दिनुभयो । विगतमा राज्यले नै आयुर्वेदिक उपचार पद्धतिलाई वैकल्पिक पद्धतिमा राखेका कारण यो पछाडि परेको उहाँले बताउनुभयो ।

आयुर्वेद मुल प्रवाहीकरण रहेको बताउदै मन्त्री घिमिरेले अब प्रदेश सरकारले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । अधिवेशनको उद्घाटन सत्रमा सहभागिहरुले आयुर्वेद चिकित्सा पद्धति संकटमा परेको बताउनु भएको थियो । कार्यक्रममा बोल्दै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेशका सचिव जिपी तिवारीले आयुर्वेद चिकित्सा पद्धति छायामा परेको गुनासो गर्नुभयो ।उहाँले यसका लागि सरकारी निकायले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ मोरङका सदस्य गंगा साहले आयुर्वेद चिकित्सा पद्धतिलाई सरकारले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्