अस्पताल क्षेत्रमा मदिरा निषेध



पाल्पा । आगामी भदौ महिना देखि तानसेन नगरपालिका–१ को भूषालडाँडा क्षेत्र मदिरा निषेधित हुने भएको छ । युनाइटेड मिशन अस्पताल समेत रहेको यो क्षेत्रमा मदिरा निषेध गर्ने सर्वदलीय सहमति भए पछि यस अभियानलाई सफल वनाउने कार्य पनि तीव्र पारिएको छ।

अभियान अन्तर्गत शनिवार सरसफाई तथा दुव्र्यसनी सचेतना सम्बन्धी घरदैलो कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीको नेतृत्वमा भएको कार्यक्रममा जनप्रतिनिधि, पाल्पा बैंकर्स एशोसिएसनका पदाधिकारी, टोलविकास संस्था, मिसन अस्पतालका प्रमुख, स्थानीय व्यावसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

भूषालडाँडाको माथिल्लो प्रतिक्षालयबाट सुरु गरिएको अभियान युनाइटेड मिसन अस्पतालको मूलगेट हुँदै खल्लुकधारामा आएर सकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । उहाँका अनुसार आगामी भदौ महिनादेखि यो क्षेत्रलाई मदिरा निषेध गर्ने निर्णय बमोजिम स्थानीयलाई सचेत गराउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो ।

यहाँका सम्पूर्ण स्थानीयलाई विभिन्न रचनात्मक काममा सहभागी गराएर सचेत गराउदै छौं उहाँले भन्नुभयो सबैको सक्रिय सहभागितामा भदौ देखि पूर्णरुपमा मदिरा निषेध हुनेछ । प्रहरी नायव उपरीक्षक सापकोटाले भदौदेखि यहाँ मदिरा बिक्री वितरण तथा सेवन गर्न समेत नपाइने बताउनुभयो ।

यसअघि प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सर्वपक्षीय, सर्वदलीय बैेठकले युनाइटेड मिसन अस्पतालको ५ सय मिटर वरिपरी कुनैपनि मदिराजन्य पदार्थको विक्रिवितरण तथा सेवन गर्न नपाइने निर्णय गरेको थियोे । भदौ ५ गतेबाट यो निर्णय लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्