यौन शिक्षा



मनोज रेग्मी

लिंग, लैंगिक पहिचान र भूमिका आकर्षण, यौनानन्द, प्रजनन जस्ता विषयको समष्टि नाम नै यौनिकता हो। यससम्बन्धी ज्ञान, अभिवृत्ति र व्यवहारमा परिवर्तन ल्याउने प्रक्रियालाई नै यौन शिक्षा हो। यौन शिक्षाले पुरुष र महिलाको विशेषताका बारेमा अध्ययन गर्दै व्यक्तिको यौनिकताको बारेमा पनि वर्णन गर्छ। यौनिकताको विषय हरेक मानवलाई महत्वपूर्ण हुन्छ, बालबालिका पनि यसमा समाहित हुन्छन् र उनीहरूमा पनि आफ्नो पहिचान के हो भन्ने जान्ने उत्सुकता हुन्छ। यौन शिक्षाले सुरक्षा, प्रस्तुति, सुधार अनि विकासका बारेमा आफ्नो मूल्य–मान्यताले स्वीकारेको व्यवहारअनुसार वर्णन गर्छ।

यौन शिक्षामा विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक पक्षहरू जोडिएका हुन्छन्। यौन शिक्षा समाजमा स्वीकार्य व्यवहार वा अवधारणा प्रस्तुत गर्न दिइने यौनसम्बन्धी हरेक शिक्षा भन्ने बुझिन्छ। तर, यसलाई मानिसले सभ्यता, इज्जतको नाममा अप्राकृतिक बनाइरहेका छन्। त्यसैले यस विषयमा खुलेर बोल्न, छलफल गर्न हाम्रो समाजमा बन्देज गरिएको छ। यस विषयमा बोल्नेलाई अनेक गालीगलौज गरी तिरस्कारसमेत गर्ने गरेको पाइन्छ। कतिपय समुदायमा त सामाजिक बहिष्कार नै गरिन्छ। जसले गर्दा समाजमा बलात्कार, यौन शोषण, करणीलगायतका वीभत्स घटना हुन पुग्दछन्। त्यसैले घर होस् वा विद्यालयमा किशोरकिशोरीलाई यौन शिक्षा एक अत्यन्तै महत्वपूर्ण विषय मानिन्छ।

परम्पराअुनसार किशोरकिशोरी र कम उमेरका बालबालिकालाई यौनसम्बन्धी जानकारी दिइँदैन्थ्यो र यस विषयलाई खुलेर कुरा गर्न नहुने मान्यता राखिएको हुन्थ्यो। एउटा किशोर वा किशोरी विवाहका लागि तयार हुँदासम्म पनि यौनको विषयमा छलफल गरिँदैन्थ्यो। धेरैजसो यौन विषयका बारेमा साथी, सञ्चारमाध्यम तथा अन्य माध्यमबाट मात्र थाहा हुन्छ, जसका कारण ती जानकारी अपर्याप्त हुने र त्यसले फरक मान्यता सिक्ने हुन्छ।

किशोरकिशोरीलाई यौनप्रति निकै चासो हुनु स्वाभाविक हो। यस्तो चासोका कारण यौनसम्बन्धी कुनै गलत सूचना उनीहरूले पाए भने त्यसले उनीहरूको यौन जीवन समस्यामा पनि पर्न सक्छ। यसले उनीहरूका यौन अगंमा पनि देखापर्न सक्छन्।

किशोरावस्थामा नै यौनसँग सम्बन्धित बढी मात्रामा जिज्ञासा हुन्छन्। तर, हामी सोही अवस्थामा यौनका रहस्यमयी विषयहरूमा किशोरावस्थामा रहेकालाई कम जानकारी दिइरहेका हुन्छौं। यसले गर्दा उनीहरूको खुल्दुली अझ बढेर जान्छ र अनेक प्रकारका समस्या पैदा हुन्छन्। यस्तो समस्याको समाधानका लागि विद्यायमा प्राथमिक तहमै यौन शिक्षा समावेश गरिनु एउटा सरल तरिका हो।

अहिले नेपालमा यो विषयलाई विद्यालयकै पाठ्यक्रममा समावेश त गरिएको छैन तर केही पाठ भने पढाउने गरिन्छ जसमा स्वास्थ्य, विज्ञान जस्ता विषयमा प्रजनन स्वास्थ्य, यौन रोग, शरीरका विषयहरूमा पढाइन्छ। तर, यौन शिक्षाको विषयमा भने यति थोरै विषयवस्तु विद्यार्थीलाई अपुग हुने स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा. किरण रेग्मीको ठम्याइ छ।

कलिलै उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, बीचमै पढाइ छोड्ने, घरेलु हिंसा हुने तथा मातृ मृत्यु र बाल मृत्युदर बढ्ने कारण पनि यौन तथा प्रजनन स्वास्थ्यको सही जानकारी नहुनु रहेकाले बेलैमा यससम्बन्धी जानकारीले धेरैजसो समस्या समाधान भएर जाने स्वास्थ्य डा. किरण रेग्मी बताउनुहुन्छ। स्कुल–स्कुलमा इन्टरनेटको सुविधा छ।

जसका कारण यो विषय सहज बन्दै गइरहेको छ। तर, इन्टरनेटमा विदेशी च्यानल हेरेर, यौन तथा प्रजनन स्वास्थ्यको विषयमा विदेशीको सिको सिक्दा नेपाली समाजमा असर पर्न जान्छ। यस्तो अवस्थामा विद्यालयको प्राथामिक तहदेखि नेपाली समाजमा मेल खाने यौन तथा प्रजनन स्वास्थ्य विषय पढाइ हुनुपर्ने डा. रेग्मी बताउनुहुन्छ।

यौन तथा प्रजनन स्वास्थ्यका विषयवस्तु प्राथमिक तहदेखि नै संशोधन र परिमार्जन गरिनुपर्ने पूर्वसचिव एवं भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी बताउनुहुन्छ। समय र आवश्यकताअनुसार यी विषयवस्तु परिमार्जन र थपघट गर्न सकिने भएकाले सम्बन्धित निकायले यसमा पहल गर्नुपर्ने उहाँको सुझाव छ। यौन तथा प्रजनन स्वास्थ्यका विषयमाथिको संकोच घट्दै गएपछि यसको सकारात्मक परिणाम देखिन थालेको उहाँको ठम्याइ छ।

पढाउँदै शिक्षक, खुल्दै विद्यार्थी
विद्यालयमा अध्ययनरत विद्यार्थी मात्र नभएर अधिकांश स्वास्थ्य शिक्षा पढाउने शिक्षक पढाँउदा संकोच मान्ने एउटै कारण हो, स्वास्थ्यमा समावेश यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समेटिएको विषयवस्तु। विद्यालयको पाठ्क्रममा कक्षा ६ देखि ८ सम्म स्वास्थ्य जनसंख्या र वातावरण शिक्षा विषयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयवस्तु समावेश गरिएको छ भने कक्षा ९ मा स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षालाई अनिवार्य बनाइएको छ। यस्तै कक्षा ११ र १२ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अलग्गै विषयका रूपमा पढ्न पाइन्छ। यी विषयमा महिला र पुरुषका प्रजनन अंगहरू, सुरक्षित यौनसम्पर्क, किशोरकिशोरीमा आउने शारीरिक परिवर्तन, प्रजनन प्रक्रिया, एचआईभी र अन्य स्वास्थ्यसम्बन्धी विषयवस्तु समावेश गरिएको छ। यिनै विषयवस्तु बढाउँदा लजाउने अथवा पढाउँदा हिच्किचाउने शिक्षक अहिले निःसंकोच पढाउन थालेका छन्। अहिले यौन लाजले छोप्ने वा लुकाउने रहस्यको पोकोभन्दा पनि सहजरूपमा संवाद गर्ने खुला विषय बन्न थालेको छ। शहरी क्षेत्रमा मात्र नभई ग्रामीण भेगका विद्यालयमा पनि यौन तथा प्रजननका विषयका शिक्षक र विद्यार्थीबीच खुला बहस हुन थालेको छ।

शिक्षकको एकल प्रयासले मात्र नभएर विद्यार्थी र समाजको ज्ञानको दायरा फराकिलो हुँदै गएका कारणले यो विषय पढाउन सहज बन्दै गइरहेको चोभारमा अवस्थित सरकारी विद्यालय आदिनाथ माविका प्रधानध्यापक जुजुभाइ महर्जन बताउनुहुन्छ। यौन शिक्षा पढाइरहनुभएकी शिक्षिका रमिला तामाङ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘कक्षाकोठाभित्र पढाइएको विषयवस्तु अपुग भएकाले यहाँका युवा किशोरकिशोरीले यौन शिक्षासम्बन्धी आवश्यक जानकारी गराउन हामीले बाहिरका केही गैरसरकारी संस्थाको संयुक्त आयोजनामा यौन तथा प्रजनन स्वास्थका बारेमा प्रशिक्षण पनि दिने गरेका छौं। यति मात्र नभई किशोरकिशोरीबाट यहाँका अभिभावकले समेत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा थाहा पाउन थालेका छन्।’

पछिल्लो समय इन्टरनेटको पहुँच बढ्दै गएपछि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यार्थीमा आवश्यक ज्ञान घरबाटै थाहा पाउने गरेको सोही विद्यालयमा स्वास्थ्य विषय अध्यापन गराइरहनुभएकी शिक्षिका तामाङको अनुभव छ। धेरैजसो स्कुलमा अंग्रेजी, गणित, विज्ञान, नेपाली विषयको छुट्टै विषयगत शिक्षक हुने भए पनि स्वास्थ्य शिक्षा पठाउने छुट्टै शिक्षकको दरबन्दी छैन। जसका कारण यस विषयमा राम्रो दक्खल नभएका र तालिम नलिएका शिक्षकले पढाउँदा समस्या आउने गरेको उहाँ बताउनुहुन्छ।

तर, पछिल्लो वर्ष स्वास्थ्य विषय पढाउने सरकारी स्कुलका अधिकांश शिक्षकले तालिम पाएका छन्। पहिले स्कुलमा पाठ्यपुस्तकबाहेक यसका विषयमा पढ्न र जान्न खोज्नेका लागि कुनै पाठ्यसामग्री थिएन। तर, अहिले स्वास्थ्यसम्बन्धी काम गर्ने धेरै गैरसरकारी संस्थाको सहयोगमा यस्ता विषयमा विद्यार्थीसँग धेरैभन्दा धेरै अन्तरक्रिया हुने गरेको शिक्षिका तामाङ बताउनुहुन्छ।

भाषा आयोगका अध्यक्ष अवस्थीको धारणा बेग्लै छ। उहाँ भन्नुहन्छ– विद्यालयमा आधारभूत तहबाटै यौन शिक्षाको विषयमा पठनपाठन गराउनुपर्छ। लजालु स्वभावका शिक्षक शिक्षिकालाई आवश्यक प्रशिक्षण दिई सोसम्बन्धी विषय पढाउने शिक्षकशिक्षिकालाई नियुक्ति दिनुपर्छ।

यौनजन्य हिंसा रोक्न यौन शिक्षा
बालिका हुन् या किशोरी अझै महिला नै किन नहुन् ग्रामीण क्षेत्रमा यौनहिंसाको दलदलमा फस्ने गरेको पाइन्छ। परिवारका सदस्य आफ्ना बालबालिकालाई घरमै छोडी खेतबारीमा काम गर्न जाँदा पनि छिमेकीबाट घरमै यौनजन्य हिंसाको शिकार बन्न पुगेका छन्। मानवीय संवेदनशीलताको ख्याल नराख्ने मानवरूपी दानवबाट दिनदहाडै महिला तथा बालबालिका बलात्कार जस्ता हिंसाका घटना बढिरहेका छन्। ग्रामीण क्षेत्रमा रहेका भेंडीगोठ, खर्कमा गोठालोका रूपमा काम गर्ने महिला सधैं जोखिममा रही काम गरिरहेका छन्।

मानसिक अस्वस्थताका कारण घरमै बन्धक जीवन बिताएका महिला हुन् या सडकजीवन व्यतित गरिरहेका महिला नै किन नहुन् जो–कोही सुरक्षित छैनन्। विभिन्न यौनजन्य घटनापछि यथाशीघ्र स्वास्थ्य परीक्षणसँगै सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने जानकारीको अभावले गर्दा यस्ता घटना घट्ने गरेको पूर्वसचिव रेग्मी बताउनुहुन्छ। यस्तो अवस्थामा विद्यालयमा उचित शिक्षा दिई विद्यार्थीलाई सुसूचित गराइनुपर्छ भन्ने उहाँको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्