ललिता निवास जग्गा प्रकरण: मालपोतका २२ कर्मचारीलाई कारवाही हुने



काठमाडौं । हाल ललिता निवास भनिने बालुवाटारकोे जग्गालाई लिएर सञ्चार माध्यममा व्यापक चर्चा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त काण्डमा संलग्न मालपोत कर्मचारीलाई कारबाही गरिने बताउनुभएको छ ।
प्रधानमन्त्रीले नयाँ वर्षको पहिलो दिननै सरकारी निवासबाट देशबासीका लागि सम्बोधन गर्ने क्रममा उक्त कर्मचारीहरुलाई कारबाही गरिने बताएपछि छानवीन प्रकृया अगाडि बढेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका शक्तिशाली भनिएका महासचिव विष्णु पौडेल समेत उक्त जग्गा प्रकरणमा जोडिनु भएको छ । उहांले उक्त जग्गा व्यक्तिको नाममा सेटिङ मिलाउनका सहयोग गरेको बदलामा ८ आन बकस स्वरुप लिएको र छोरा नविनको नाममा राखेको दावी गरिएको छ ।
पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठिन छानबिन समितिले बालुवाटारको २ सय ८५ रोपनी जग्गा २०२१ सालमै सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको उल्लेख गर्दै दोषीमाथि कारवाही गर्न सिफारिस समेत गरिसकेको छ ।

उक्त जग्गा मध्ये कूल १ सय ७२ रोपनी क्षेत्रफलमा प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशका निवास र नेपाल राष्ट्र बैंकको कार्यालय रहेका छन् ।
बाँकी रहेको ११३ रोपनी जग्गा भूमाफियाको नियन्त्रणमा रहेको भन्दै छानबिन समितिले तत्काल सो जग्गा फिर्ता ल्याउन समेत सरकारलाई सिफारिश गरेको छ ।

छानबनि समितिले गएको कात्तिकमा नै सरकारी जग्गा व्यक्तिको नाममा भूमाफियाले कब्जा गरेको भन्दै प्रतिवेदन बुझाएको थियो । तर प्रतिवेदन भने चैत महिनामा आएर सार्वजनिक भएको थियो ।

नाम नबताउने सर्तमा अध्ययन समितिका एक सदस्यले डिल्लीबजार मालपोतका तत्कालीन मालपोत अधिकृत कलाधर देउजा लगायत फाइल पेस गर्ने, राय लेख्ने तथा पछि फाईल गायब पार्ने २२ जना कर्मचारीमाथि कारवाहीको सिफारिस गरिएको बताएका छन ।

यस्तै डिल्लीबजार मालपोतका कर्मचारीलाई आर्थिक प्रलोभन दिई प्रभावमा पारी सरकारी जग्गा दर्ता गराउने काममा शोभाकान्त ढकाल र रामकुमार सुवेदी लागेको समेत प्रतिवेदनमा उल्लेख छ ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आवश्यक छानबनि गरिरहेको छ । अख्तियार स्रोतका अनुसार ती जग्गा व्यक्तिको नाममा ल्याउन प्रमुख भूमिका खेल्ने भूमाफिया तथा सरकारी कर्मचारीको सम्पूर्ण विवरण संकलन गर्ने कामलाई तीव्रता दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्