प्रदेश सरकारलाई अटेर गरी नदिमा डोजर लगाउने अनुमति दिँदै गोरखा जिसस



नेपाल समाचारपत्र, गोरखा ।
जिल्ला समन्वय समिति गोरखाले निश्चित अबधिका लागि मेसिन प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन गर्न स्थानीय तहलाई पत्राचार गरेको छ । नदिजन्य पदार्थको ठेक्का लगाएका जिल्लाको चुमनुब्री गाउँपालिका बाहेक सबै स्थानीय तहलाई समन्वय समितिले पत्र पठाएको हो ।

नदिजन्य निर्माण सामाग्रीको अभावमा भुकम्पपछिको पुनर्निमाण तथा विकास निर्माणका काम अलपत्र परेको स्थानीय तहको पत्रका आधारमा निश्चित अबधिभित्र निश्चित परिमाणमा ढुंगा, गिटी, बालुवा उत्खनन गर्न समन्वय समितिले अनुमति दिएको हो ।पत्र अनुसार स्थानीय तहहरुले ठेक्का लगाएका घाटबाट चैत २५ गतेदेखी परिमाण अनुसार बैशाख १५ गतेसम्म मात्रै मेसिन प्रयोग गरेर ढुंगा,गिटी, बालुवा उत्खनन गर्नसक्नेछन् ।

जसअनुसार पाँच हजार घनमिटरसम्मको नदिजन्य पदार्थ उत्खननका लागि १० दिनको समय अबधि दिएको छ ।पाँच हजारदेखि दश हजार घनमिटरसम्मको परिमाण उत्खननको लागि १५ दिन र दश हजार घनमिटर भन्दा बढि परीमाणको नदिजन्य पदार्थ २० दिनभित्र घाटगद्धि गरिसक्नु पर्ने समन्वय समितिले स्थानीय तहहरुलाई पठाएको पत्रमा उल्लेख छ ।

चेनवाला एक्साभेटर बाहेक उपयुक्त उपकरणको प्रयोग गरि चैत २५ गतेदेखि नदिजन्य सामाग्री उत्खनन तथा संकलन गर्न स्थानिय तहलाई अनुमति दिएको जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले जानकारी दिए । ‘एकैपटक धेरै मात्रामा नदिजन्य पदार्थ आबश्यक पर्यो’ उनले भने ‘हातेऔजार मात्र प्रयोग गरी नपुग्ने अबस्थालाई दृष्टिगत गरी स्थानिय तहबाट ठेक्का लागेका नदिजन्य पदार्थको घाटगद्धी गर्नका लागी आईईई बाट स्विकृत भएको परिमाणमा नदिजन्य पदार्थ मेसिनबाट उत्खनन र संकलन गर्न समायाबधि निर्धारण गरेर पत्र पठाएका छौं ।’

स्थानिय तहले बनाएको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन (आईईई) मा नदिजन्य सामाग्री उत्खननका लागि हात र हातेऔजार प्रयोग गर्ने उल्लेख छ । तर चालु बर्षमा उत्खनन कार्य ढिला गरि सुरु गरिएको, यो बर्ष छिटो मनसुन सुरु हुने सम्भावना रहेको, भुकम्पले भत्केका संरचना बनाउन बाँकी रहेको, मध्यपहाडी लोकमार्ग, भुकम्प आपतकालीन परियोजनाको सडक कालोपत्रे गर्ने कार्य द्रुत गतिमा अघि बढेको कारण आईईईमा उल्लेख बैकल्पिक ब्यबस्था अनुसार निश्चित अबधिमा निश्चित परीमाण उत्खननमा मेसिन प्रयोग गर्न अनुमति दिएको पत्रमा उल्लेख छ ।

समन्वय समितिको पत्रले आइईई प्रतिवेदनको बैकल्पिक ब्यवस्थामा उल्लेख भए अनुसारको मेशिन प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन र संकलन गर्न स्थानीय तहलाई बाटो खुलेको छ ।

समायाबधि सकिएपछि मेसिन प्रयोग गरेर नदिजन्य सामाग्री निकालेको पाएमा कारबाही गर्ने जिल्ला समन्वय समितिका प्रमुख गुरुङले बताए । ‘हामी नियमीत अनुगमन गर्छौ’ उनले भने ‘दैनिक उत्खनन गरिएको परीमाणको विवरण स्थानीय तहले समन्वय समितिमा पठाउनुपर्छ । तोकिएको परिमाण उत्खनन भएपछि नदि खोला घाटगद्धी बन्द गर्नुपर्छ, नभएको खण्डमा कानुन अनुसार कारबाहीको सिफारीस गर्छौ ।’

ठेक्का लागेका घाटबाट हालसम्म उत्खनन गरेको परीमाण र अब उत्खनन गर्न बाँकी परीमाणको एकिन विवरण पठाउन पनि समन्वय समितिले स्थानिय तहलाई आग्रह गरेको छ ।यसअघि गत फागुन ८ गते बसेको सरोकारवालाको बैठकले घाटगद्धी स्थानमा कति परीमाणमा कुन औजारको प्रयोगले नदिजन्य पदार्थ निकाल्न पाईने स्पस्ट लेखेर बोर्ड राख्न स्थानीय तहलाई आग्रह गरेको थियो ।

सोही बैठकले नदिजन्य पदार्थको घाट गद्धि गर्ने क्रममा उत्खनन गर्ने सवारी साधनको नम्वर समेत सम्वन्धित ठेकेदारले उल्लेख गर्ने र उक्त स्थानमा काम गर्ने कामदारहरुलाई अनिवार्य रुपमा परिचयपत्रको व्यवस्था गर्न लगाउने निर्णय गरेको थियो ।

साथै घाटगद्धि पश्चात ठेकेदारले उक्त सामग्री विक्रि वितरण गर्दा अनिवार्य रुपमा मिति, समय र परीमाण उल्लेख भएको रसिद उपलब्ध गराउनु पर्ने पनि बैठकले निर्णय गरेको थियो । यि सबै निर्णय कार्यान्वयन गर्न पनि समन्वय समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्