समाचार सार्वजानिक भएपछि चासो देखाउने प्रहरीको पूरानो रोग



उत्तम नेपाल, भद्रपुर ।
झापामा हुने कुनै पनि अवैध विषयमा सञ्चार माध्यामबाट सार्वजानिक भएपछि मात्र प्रहरीले चासो देखाउने गरेको पाइन्छ । अन्य विषय भन्दापनि विभिन्न नाकाबाट हुने चोरी तस्करी गतिविधिमा प्रहरीले बढि चासो लिने गरेका छन् ।

समाचार सार्वजानिक नभएसम्म खासै चासो नराख्ने जनपथ र सशस्त्र प्रहरीले कहीकतै समाचार आउदै छ वा आइसकेपछि मातहातका प्रहरीलाइ निर्देशन दिने गर्छन् । कतिपय सामान बरामद गर्दा प्रहरीलाइ भन्सार दाखिलामा झमेला हुने गरेका कारण पनि त्यस्ता प्रकारका सामग्री बरामद गरेर टाउको दुखाइ हुने गरेको सुरक्षाकर्मीले बताउने गरेका छन् ।

नेपालबाट सौन्दर्यका सामान, चुरोट,मरिच, मटर, गाई–गोरु, स्याउ लगायतका वस्तु र भारतबाट कपडा,सुर्तीजन्य पदार्थ,लागूऔषध,मोटर पार्टस, मलखाद लगायतका वस्तु नेपाल भित्रिने गर्छन् । सिमा क्षेत्रमा दुवै प्रहरीले कार्यालय स्थापना गरेर र साधा पोसाकमा समेत प्रहरी परिचालन गरेपनि बरामद हुनु पर्ने परिमाण हुन सकेको छैन् ।

वर्षौयता झापामा गाई– गोरु भारत तर्फ तस्करी हुदै आएपनि प्रहरीले समाउने मन गर्दैनन किनकी यसको भन्सार प्रकृया जटिल छ । प्रहरीले समाएर ल्याएपछि भन्सारले नबुझेसम्म घाँसपानी देखी सवै रेखदेख प्रहरी कै जिम्मामा रहेको कारणले पनि प्रहरीले समाउन भन्दा छोडन नै चाहन्छन् ।

जब सञ्चारमाध्याम मार्फत पछिल्लो समय गाई–गोरु तस्करीको समाचार सार्वजानिक भएपछि जनपथ र सशस्त्र प्रहरी अताल्लिएका छन् । मातहातका प्रहरीबाट निर्देशन आएपछि उनिहरुले सिमा क्षेत्रमा ध्यान दिन थालेका छन् ।

दक्षिणी झापाको कचनकवल,राजगढ,जलथल नाकाबाट दिनहँु प्रहरी कै अगाडिबाट भारततिर गाईगोरु तस्करी भइरहको आरोप समाचार मार्फत प्रकाशित भइसकेपछि प्रहरीले २५ थान गोरु पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले शनिबार विहान ३ बजे भद्रपुर ३ स्थित किचकबध क्षेत्रबाट गोरु समाएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाउनु भयो । लस्करै हिडाएर भारत तर्फ लैजादै गरेको अवस्थामा गोरु समाएको डिएसपी श्रेष्ठको भनाइ छ । गोरुलाइ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइएको उहाले जानकारी दिनु भयो ।

केही दिन अघि कचनकचव ४ स्थित पकलावन भन्ने स्थानबाट गाईसहित भ्यान नियन्त्रणमा लिएको थियो । हल्दीबारी केरिएर लेखिएको रातो नम्बर प्लेटको १ च ५५६० नम्बरको पिकअप भ्यानमा सात वटा गाई लोड गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राजगढ,चकचकी,घैलाडुब्बा,धुलाबारी, भद्रपुर लगायतका बजारमा विभिन्न मालबाहक सवारी साधनमा कोचेर कारोबारीले चौपाया ल्याउने गरेका छन् । बजारबाट निकासी कर तिरेर भन्सार नकाटी जनपथ ,सशस्त्र प्रहरी लगायतलाइ खुसी पारेर दिउँसै ट्रकमा वा हिडाएर दसगजा पुर्याउने गरेका छन् ।

भन्सारबाट एक पटकमा १ सय १३ रुपैयाँ राजस्व तिरेर गाइ बाहेकलाइ लैजाने नियम रहेपनि कारोबारीले नियमलाइ उलङघन गरि तस्करीको माध्याम मार्फत भारत लैजादै आएका छन् । कारोबारीमा राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि लगायतको आडमा तस्करी मौलाएको छ ।

प्रतिक्रिया दिनुहोस्