दुई उमेर समूहका ३२ फुटबल खेलाडी विराटनगरबाट छनौट



विराटनगर ।
फुटबलको बिकास र युवा खेलाडीको समूह तयार गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले सुरु गरेको खेलाडी छनोटका क्रममा विराटनगरबाट पहिलो चरणमा ३२ जना खेलाडी छनोट भएका छन्। आइतबार अन्तिम छनोटका क्रममा १६ वर्षमूनि १६ जना र १३ वर्षमूनि १६ खेलाडी छनोट भएको राष्ट्रिय प्रशिक्षक मनिष तिम्सिनाले जानकारी दिनुभयो । विराटनगरको सहिद रङशालामा बुधबारदेखि छनोट कार्य जारी रहेको थियो।

त्यसैगरि, मंगलबार उर्लाबारीको मङ्गलबारे र बेलबारीमा पनि दुवै समूहमा खेलाडी छनोट हुनेछन्। प्रशिक्षक तिम्सिनाले भने, “उर्लाबारी र बेलबारीबाट छनोट भएका खेलाडी र बिराटनगरबाट छनोट भएका खेलाडीहरुले बुधबार हुने जिल्लाको अन्तिम छनोटमा स्पर्धा गर्नेछन्।” १ सय २३ जना खेलाडी मध्यबाट ३२ जना खेलाडी छनोट गरिएको हो ।

त्यसैगरि, प्रदेश नम्बर एकको छनौटका लागि सुनसरी, मोरङ, झापा, उदयपुर, सप्तरी, खोटाङको छनोट सुनसरीमा चैत्र २९ देखि बैशाख १ गतेसम्म हुनेछ । एन्फाले यस कार्यक्रमबाट खेलाडीको क्षमता र खेल विकासमा ध्यान पुरर्याउने जनाएको छ । हाल ७७ जिल्लामा जारी छनोटका क्रममा १३ वर्षमूनिका ७५ जना खेलाडीलाई एन्फाको विभिन्न एकेडेमीमा राखिनेछ ।

जसमा धरान एकेडेमी, बुटवल एकेडेमी र ललितपुरस्थित एन्फा एकेडेमी रहेको छ । त्यसैगरि, १६ वर्षमूनिको खेलाडीलाई भने छनोट गर्दै राष्ट्रिय टोलीका लागि तयार गरिने छ ।

प्रतिक्रिया दिनुहोस्