रियल मेड्रिड पराजित



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती भएको खेलमा रियल मेड्रिड पराजित भएको छ ।

रियललाई भ्यालेन्सियाले २–१ गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन गोन्सालो गुएडेसले खेलको ३५औँ र एजेक्वेल ग्रेले ८३औँ मिनेटमा एक–एक गोल गरेका थिए । करिम बेन्जामाले खेलको अन्त्यतिर एक गोल फर्काएपनि रियललाई हारबाट बचाउन पर्याप्त भएन ।
जितपछि भ्यालेन्सिया ३० खेलबाट ४६ अंकका साथ पाँचौ स्थानमा उक्लेको छ । यता हारपछि ३० खेलबाट ५७ अंक रहेको रियल तेस्रो स्थानमै यथावत छ र पहिलो स्थानको बार्सिलोनाभन्दा १३ अंकले र दोस्रो स्थानको एट्लेटिको भन्दा ५ अंकले पछि छ ।

सिटीको शीर्षमा
इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जितको नतिजा निकाल्दै पुन शीर्ष स्थानमा पुगेको छ ।

बुधबार राती भएको खेलमा कार्डिफ सिटीलाई २–० ले पराजित गर्दै सिटीले अंकतालिकामा लिभरपुललाई पछि पारेको हो । सिटीका लागि केभिन डे ब्रुएना र लरेय सानेले गोल गरेका थिए । जितपछि सिटिको ३२ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ७९ अंक रहेको छ । प्रिमियर लिगमा ३२ चरणको खेल समाप्त भइसकेका छन् ।

यस्तै लन्डन क्लब टोटनह्यामले पनि क्रिस्टल प्यालेसलाई २–० ले नै पराजित ग¥यो । टोटनह्यामका लागि हेउन मिन सन र क्रिस्टिएन एरिक्सनले दोस्रो हाफमा गोल गरेका थिए । जितपछि टोटनह्यामको ३२ खेलबाट ६४ अंक भएको छ र तेस्रो स्थानमा उक्लियो ।

यसैगरी चेल्सीले पनि ब्राइटनलाई ३–० ले पराजत ग¥यो । जितसँगै चेल्सीले ३२ खेलबाट ६३ अंक जोडेर पाँचौ स्थानमा उक्लियो । चेल्सीको जितमा ओलिभर जिरुड, इडेन हाजार्ड र रुवेन लोफ्टस चिकले एक–एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्