प्रदेश २ र प्रदेश ५ को जित



काठमाडौं, (नेस)
प्रदेश २ र प्रदेश ५ ले कीर्तिपुरमा जारी यू–१६ क्रिकेट लिग अन्तर्गत बिहीबार जित दर्ता गरेका छन् ।

त्रिवि मैदानमा भएको खेलमा प्रदेश २ ले प्रदेश १ लाई ६ विकेटले हराउँदा प्रदेश ५ ले प्रदेश ६ लाई ६ विकेटले नै पराजित ग¥यो । प्रदेश १ ले टस जितेर ब्याटिङ रोज्दै १५.५ ओभरमा अलआउट हुनुअघि ७८ रनमात्र जोड्न सक्यो । विशाल पटेलले पहिलो ओभरमा नै ३ विकेट लिएपछि प्रदेश १ निकै दवावमा पुगेको थियो ।

विशालले पहिलो ओभरको दोस्रो बलमा शकिब अन्सारीलाई र तेस्रो बलमा अभिषेक बराललाई एलबीडब्ल्युको धरापमा पारे । तर ह्याट्रिक गर्न चौथो बलमा उनी सफल भएनन् । उनले पाँचौं बलमा अंकित श्रेष्ठलाई बोल्ड गरेका थिए । उनले तेस्रो ओभरमा समीर कार्कीलाई व्यक्तिगत १० रनमा आउट गरेर प्रदेश १ लाई अझै संकटमा पारे ।

मध्यक्रममा कप्तान दिपेश कँडेलले ३३ रन जोडेपछि प्रदेश १ ले केही सम्मानजनक योगफल तयार पारेको थियो । उनले ३६ बलको सामना गर्दै ६ चौका प्रहार गरे । बलिङतर्फ म्यान अफ द म्याच विशालले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । अरबाज अन्सारीले ३, निखिल सिंहले २ तथा सतिश यादवले १ विकेट लिए ।

जवाफमा प्रदेश २ ले १६ औं ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । प्रदेश १ का कप्तान दिपेशले सुरुवाती ३ विकेट लिएपनि साहिल कुमार पटेल र पर्शुराम यादवले साझेदारी गरेपछि प्रदेश २ ले सहज जित दर्ता गर्यो । दिपेशले इमरान शेखलाई ४, रोहनराज विकलाई १ तत्थ मेघराज महरालाई शून्यमा पेभेलियन फर्काएका थिए ।

साहिल र पर्शुरामले चौथो विकेटका लागि ५८ रनको साझेदारी गरे । साहिलले ३८ बलमा ३५ रन जोड्दै दिपेशकै बलमा बोल्ड भए । उनले ३ चौका र १ छक्का प्रहार गरे । पर्शुरामले ३३ बलमा ३ चौकाको मदतले नटआउट हुँदै २६ रन जोडे ।

दोस्रो खेलमा प्रदेश ५ ले प्रदेश ६ ले छोडेको ७२ रनको मध्यम लक्ष्य ४ विकेट गुमाएर १५औंं ओभरमा प्राप्त गरेको थियो । जसमा सुशान्त थापाले नटआउट ३१ रन जोडेपछि टोलीले सहजै जित हात पार्यो । उनले २९ बलको सामना गर्दै ४ चौका प्रहार गरे । टस जितेर ब्याटिङ रोजेको प्रदेश ६ ले २४.२ ओभरमा अलआउट हुँदै ७१ रन जोडेको थियो ।

प्रदेश ५ का रमेश कुर्मीले ६ ओभरमा मात्र ७ रन खर्चेर ३ मेडनसहित ४ विकेट लिएका थिए । उनको घातक बलिङले प्रदेश ६ ४१÷९ को दयनीय स्थितिमा पुगेको थियो । अन्तिम विकेटका लागि युवराज खत्री (१७ रन) र बेनित खत्री (१० रन) ले ३० रनको साझेदारी गरेर स्कोर बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्