हेटौंडा, (नेस) ।
मकवानपुरमा बर्डफ्लु घोषणा गरी मारिएका कुखुराको उचित मूल्य यथाशक्य चाँडो उपलब्ध गराइदिन माग गर्दै सरकारको ध्यानाकर्षण गरिएको छ ।
मकवानपुर कुखुरा व्यवसायी संघ अध्यक्ष राजु अधिकारीले कृषि तथा पशुपछी विकास मन्त्री चक्रपाणि खनाललाई यसबारे ज्ञापनपत्र बुझाउनुभएको हो । मन्त्रीसँगको भेटमा उहाँले जिल्लाको समग्र पोल्ट्रीको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
हेटौंडा उपहानगरपालिकाको वडा नम्बर–७ मा बर्डफ्लु भेटिएका कुखुराको खोरवरिपरि पालिएका हजारौं कुखुरा नष्ट गरिएका छन् । उक्त क्षेत्रका करिब ५० हजार कुखुरा नष्ट गरिएका हुन् ।
२५ वटा कुखुरा फर्मको कुखुरा र अण्डा नष्ट गरिएको हो । काठमाडौंबाट आएको पशुचिकित्सक, प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र हेटौंडाका प्राविधिहरुले कुखुरा खाल्डोमा पुरेर नष्ट गरेका हुन् । बर्डफ्लु देखा परेपछि बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकको निर्णयअनुसार कुखुरा नष्ट गर्ने अभियान थालिएको थियो ।
कुखुरा नष्ट गर्नुका साथै नमूना परीक्षणका लागि काठमाडौंस्थित परीक्षण केन्द्रमा पठाइएको छ । नमूनाको रिपोर्ट आएपछि बर्डफ्लु देखिए त्यसवरिपरिको समेत कुखुरा नष्ट गरिने छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र हेटौंडाका प्रमुख चिकित्सक डा. चेतनारायण खरेलका अनुसार कुखुरा नष्ट गर्न डाक्टरसहित दर्जन बढी प्राविधिक कर्मचारी खटिएका थिए ।
मकवानपुरमा २०६९ साउन ३१ गते कुखुरामा बर्डफ्लुका जीवाणु फेला पर्दा ११ हजार कुखुरा मारिएको थियो । किसानले प्रतिकुखुरा दुई सय ८० रुपियाँ क्षतिपूर्ति पाएका थिए ।
नागस्वतीका व्यावसायिक लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर–६ र ७ को सिमाना, पश्चिममा बनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा बनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधिभित्रका कुखुरा नष्ट गरिएको थियो ।











प्रतिक्रिया