मधुसूदन रायमाझी, काठमाडौं । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ । व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका काठमाडौंको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो ।
चार वटा नयाँ शहरकोे डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त दिलिप भण्डारीले बताउनुभयो । भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक लाख रोपनी,सूर्यविनायक नगरपालिकामा १० हजार रोपनी क्षेत्रफल, ललितपुरको खोकना बुगमती दस हजार रोपनी र काठमाडौंमा दस हजार रोपनी क्षेत्रफलमा नयाँ शहर निर्माण डिपिआर निर्माणको काम अगाडि बढेको छ । भण्डारीले डिपिआरबाट प्राप्त हुने रिपोर्टको आधारमा ल्याण्डपुलिङ मार्फत नै काम अगाडि बढाइने बताउनुभयो । ‘घोषित चार वटा नयाँ शहर निर्माणमा योजनाबद्ध विकासको काम अगाडि बढाउछौ’, उहाँले भन्नुभयो,–‘मापदण्ड बनाएर नै भौतिक संरचना निर्माण गछौं ।’
डिपिआर अनुसार कुन ठाउँमा के निर्माण गर्ने भन्ने टुृंगो लाग्ने बताउदै भण्डारीले कानुनी रुपमा नै पछि समस्या सृजना नहुने गरेर टुंगो लगाउने बताउनुभयो । प्राधिकरणले प्राथमिकता निर्धारण गरेर काम अगाडि बढाउनेछ । डिपिआरको रिपोर्ट आएपछि प्राधिकरणले स्थानीय तहसँग सहकार्य गरेर विकास निर्माणको काम अगाडि बढाउने भएको छ । शहरको डिपिआर निर्माण भएपछि ल्याण्डपुलिङको काम स्थानीय तहले पनि गर्न सक्नेछ । निजी कम्पनीहरुले पनि ल्याण्डपुलिङको काम गर्न सक्ने उल्लेख गर्दै भण्डारीले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र नयाँ शहरको कामले तीब्रता पाउने बताउनुभयो ।
पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म तथा पश्चिममा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट मैदानबाट मुलपानीको गोठाटार हुँदै मनोहरा खोलाको पुलबाट भक्तपुर जानेबाटोसम्म फैलिने छ । त्यसैगरी उत्तरमा साँखु बजार तथा दक्षिणमा भक्तपुरको बाटोसम्म पुग्ने छ ।
अरनिको राजमार्गको सूर्यवनायक चोकदेखि मन्दिरसम्म त्यहाँबाट सूर्यविनायकको जङ्गललाई बाहिर पार्दै शहर निर्माण हुनेछ । पश्चिममा शहरेखोला, बालकोट विरुवासडक, पानी ट्याङकी, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्गको सिमानालाई छुने छ। यो शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म पुग्नेछ। दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट, जङ्गल छेउ, अनन्त लिङगेश्वर, फेदी तर्खगाल, पात्लेश्वर, विरुवा हुँदै खहरेसम्म पुग्नेछ ।
ललितपुरमा पूर्वमा छ्यासिकोटदेखि साविकको सैवु सीमाना हुँदै फर्सिडोल बागमती नदिको झोलुङगे पुलसम्म पुग्नेछ। पश्चिममा बागमती नदिको सिमानासम्म तथा उत्तरमा सैवु गाविसको सिमाना छुनेछ। दक्षिणतर्फ भने बागमती नदिसम्म फैलने छ। यी दुवै शहरको क्षेत्रफल १०÷१० हजार रोपनी हुनेछ छ ।
काठमाडौंमा निर्माण हुने नयाँ शहर १० हजार रोपनी क्षेत्रफलमा नै फैलनेछ । पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपास पुग्नेछ । पश्चिममा काभ्रेस्थली, बाइपास जाने मुख्य सडकसम्म जोडिने छ। उत्तरमा सपनातिर्थ हुँदै काभ्रेस्थलीतिर जानेछ। दक्षिणमा ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेवखोला काभ्रेस्थलीको मुल सडकको पुलसम्म पुग्नेछ ।
उपत्यका विकास प्राधिकरणका आयुक्त भण्डारीले डिपिआर निर्माण सम्पन्न भएपछि कस्तो शहर बनाउने भनेर त्यसको खाकारप्रारुप तयार हुन्छ । ‘डिपिआरको रिपोर्टका आधारमा शहर निर्माणको काम अगाडि बढछ’, उहाँले भन्नुभयो,‘ आधुनिक र व्यवस्थित शहर निर्माणको गर्नुको अर्को विकल्प छैन् ।’ प्राधिकरणले नयाँ निर्माण गरिने चार वटै शहरका लागि आवश्यक जग्गाको एकिकरण गरेर नयाँ निर्माण तथा जग्गाको कित्ताकाटमा रोक लगाइरहेको छ ।
डिपिआर तयार भएपछि मन्त्रिपरिषदमा पठाइने र त्यहाँबाट स्विकृत भएपछि पुर्वाधारको काम अघि बढाउने बताउदै भण्डारीले अहिले अव्यवस्थित शहरीकरणका कारण काठमाडौं अस्तव्यस्त बनेको बताउनुभाये । निर्माण हुने नयाँ शहरमा बसोबास, बजार, बैंक वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, कलकारखाना, सडक आदि सबै व्यवस्थित हिसावले बनाइने प्राधिकरणले बताएको छ ।











प्रतिक्रिया