प्रथम मिस्टर मध्यपुर मेयर कप हुँदै



भक्तपुर ।
‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर थिमिमा ‘प्रथम मिस्टर मेयर कप २०७५’ को आयोजना हुने भएको छ ।

मध्यपुर शारीरिक सुगठन तथा फिट्नेस समितिले आज मध्यपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै अध्यक्ष अशोक घजुले यही चैत २३ गतेदेखि शुरु हुने प्रतियोगितामा चार वजन समूहअन्तर्गत ५५, ६० तथा ६५ केजीभन्दा माथिको तौल समूहबीच प्रतिस्पर्धा हुने बताउनुभयो । प्रत्येक तौल समूहबाट प्री जजिङबाट पाँच खेलाडीलाई फाइनल राउण्डका लागि छनोट गराउने उहाँले बताउनुभयो ।

कार्यक्रमका संयोजक सञ्जय श्रेष्ठले प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीलाई क्रमश स्वर्ण, रजत तथा कास्य पदक एवं प्रमाणपत्र र चौथो एवं पाँचाँै हुने खेलाडीलाई ट्रफी तथा प्रमाणपत्रले सम्मान गरिने जानकारी दिनुृभयो । यस प्रतियोगितामा प्रत्येक तौल समूहको समूहगत विजेताबीच ओवरअल प्रतिस्पर्धा गराई प्रथम हुने खेलाडीलाई फस्ट मध्यपुर मेयर कपको उपाधि, ट्रफी तथा ब्यानेट प्रदान गरिनेछ र प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा चौथो हुने खेलाडीलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैँया पुरस्कार प्रदान गर्ने भएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उक्त खेलका लागि नगरपालिकाले रु ६ लाख सहयोग गरेको र मध्यपुरलाई खेलकूदको नगरबाट समेत चिनाउने गरी अगाडि बढेको बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्