एएफसी कप फुटबलः मनाङ मस्र्याङ्दी पराजित



काठमाडौँ ।
एशियाली फुटबल महासङ्घ (एएफसी) कपअन्तर्गत समूह चरणको पहिलो खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब पराजित भएको छ । आज अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मैदान सातदोबाटोमा भएको खेलमा मनाङले बङ्गलादेशी लिग च्याम्पियन क्लब ढाका अबहानी लिमिटेडसँग १–० गोलले हार व्यहोरेको हो ।

अबहानीका लागि खेलको २८औँ मिनेटमा मासिया साइघानीले गोल गरेका थिए । मनाङले अबहानीविरुद्ध मध्यान्तर अघिको खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । खेलको छैटौँ मिनेटमा विशाल राईको उत्कृष्ट प्रहार अबहानीका गोलकिपर साहीदुल आलमले रोकेका थिए । यस्तै १३औँ मिनेटमा आलमकै कारण अञ्जन विष्ट गोल गर्नबाट चुकेका थिए ।

जितसँगै समूह ‘इ’मा रहेको अबहानीले तीन अङ्क जोडेको छ । मनाङले अबहानीसँग आगामी जुन १९ तारिखमा बङ्गलादेशको बङ्गबन्धु रङ्गशालामा दोस्रो खेल खेल्नेछ । खेलपछि आयोजित पत्रकार सम्मेलनमा मनाङ मस्र्याङ्दीका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले मौकाको सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए । पहिलो खेलमा हार व्यहोरे पनि अबका पाँच खेलमा पुनरागमन गर्ने लोप्साङको भनाइ थियो ।

यस्तै कप्तान विराज महर्जनले अबहानीसँग उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि पराजित हुनु परेको बताए । उनले अबको खेलमा कमजोरी सुधार गरी खेल्ने बताए । अबहानीका प्रशिक्षक लेमोसले मनाङको खेलबाट आफू प्रभावित भएको प्रतिक्रिया दिए ।
रासस

प्रतिक्रिया दिनुहोस्