लोकप्रिय बन्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रम

0
Shares

मधुसुदन रायमाझी, काठमाडौं ।
नेपाल प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम लोकप्रिय बन्दै गएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अगाडि सार्नुभएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको हो । समुदाय र प्रहरीबीचको सम्बन्धलाई मजुबद्ध बनाउदै समाजमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्ने उदेश्यको साथ सुरु भएको कार्यक्रममा समुदायको साथ र सहयोग पनि बढेको छ ।

कार्यक्रम अन्तर्गत, जिल्ला, स्थानीय तह, वडा कार्यालयको साथै टोलटोलमा समिति गठनको साथै समझदारी पत्रमा हस्ताक्षर भएको छ । देशको ७ सय ५३ वटै स्थानीय तहमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी ढंगेले अगाडि बढेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘समुदाय–प्रहरी साझेदारी कार्यक्रमले नयाँ आशाको सञ्चार गराएको छ, निकै प्रभावकारी रुपमा कार्यान्वयन भएको छ, नागरिकहरुको साथ र सहयोग राम्रो छ ।’

काठमाडौं उपत्यकामा पनि समुदाय–प्रहरी साझेदारी कार्यक्रमले गति लिएकोे महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बताएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समुदायको सक्रियता र चासो बढाएको छ । कार्यक्रम सुरु भएपछि काठमाडौ उपत्यकामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत २१ वटा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

३ वटा जिल्ला समिति, २४७ वडा समिति, ८९८ विद्यालय सम्पर्क समिति, १०७ टोल समिति गठन भएकोे । उहाँको अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा समुदाय प्रहरी साझेदारीता बारेमा अभिभावक, शिक्षक, पदाधिकारी र सरोकारवाला निकायसँग १६९ वटा कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रमको उदेश्य र उपयोगीताको बोरमा २१ वटा सार्वजनिक सुनुवाईको कार्यक्रम सम्पन्न भएको छ भने साझेदारी कार्यक्रमकै कारण १९ वटा सिसी क्यामेरा जडान भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाले सिसी क्यामेरा जडान गर्नको लागि ३ करोड रुपैयाँ सहयोग गर्ने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

प्रहरीले स्कुल प्रशिक्षण कार्यक्रम अन्र्तगत आधारभुत सुरक्षा÷सडक सुरक्षा, लागू औषधी, साइबर क्राइम, मदिरा नियन्त्रण माानव बेचबिखन र लैंगिक हिंसाको बारेमा ६८५ स्थानमा २६ हजार ८ सय भन्दा बढी विद्यार्थी र शिक्षकलाई प्रशिक्षण दिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेस थापा क्षेत्रीले ५ हजार विद्यार्थी र शिक्षकलाई प्रशिक्षण दिइसक्नुभएको छ । डिआइजी थापाले भन्नुहुन्छ,‘समाजलाई सुरक्षित राख्नको लागि प्रहरी अहोरात्र खटिएको छ, सुरक्षालाई थप मजबुद्ध बनाउन नागरिकहरुको पनि उत्तिकै साथ र सहयोगको खाँचो छ ।’ प्रहरी नागरिकहरुको लागि सुख–दुःखको साथी भएको उल्लेख गर्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सफलता प्राप्त गर्दै गएको बताउनुभयो ।

कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि १३३ वटा विभिन्न ¥यालीको आयोजना गरिएको छ भने ८१ वटा जनचेतनामूलक छलफल तथा अन्तर्गक्रिया कार्यक्रम सम्पन्न भइसकेको छ । ६ स्थानमा रक्तदान, ५ स्थानमा स्वास्थ्य शिविरको कार्यक्रम सम्पन्न भएको बताउदै कोइरालाले १२ स्थानमा प्रहरीसँग एक दिन कार्यक्रम अन्गर्तत ७७० जना विद्यार्थी, शिक्षक र अभिभावकसँग कार्यक्रम सकिएको बताउनुभयो ।

महनगरीय प्रहरी कार्यालय रानीपोखरीका सामाजिक शाखाका प्रहरी नायव उपरीक्ष शान्तिराज कोइरालाले ३८ वटा जेष्ठ नाागरिक भेटघाट, १३ वटा भूतपूर्व प्रहरी कर्मचारीसँग अन्तर्गक्रिया र २ सय जना बृद्धबुद्धाहरुको उद्दार गर्ने काम गरिएको बताउनुभयो ।

२०३९ सालबाटै सामुदायिक प्रहरीको अवधारणा अगाडि सारिएको थियो । तर २०५२ सालबाट समुदायिक प्रहरी कार्यक्रम कार्यान्वयनमा आएको थियो । प्रहरी र समुदायबीचको सहकार्य र समझदारीलाई अगाडि बढाउन प्रहरीले टोलटोलमाा प्रहरी, प्रहरी मेरो साथी लगायतको कार्यक्रम सञ्चालन गरेको थियो । देश संघीय संरचना गएसँगै ७५३ वटै स्थानीय तहको वडादेखि टोलटोलसम्म प्रहरीको पहुँच विस्तार गर्ने उदेश्यले प्रहरीले समुदाय–प्रहरी समझदारी कार्यक्रम अगाडि बढेको हो ।

कोइरालाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थायी संरचना निर्माण भएको बताउनुभयो । उहाँले जिल्ला, स्थानीय तह, वडा, टोलटोलमा विभिन्न समिति गठन गरेर काम भइरहेको बताउनभयो । स्थानीय तहमा रहेको न्यायिक समितिलाई पनि यो कार्यक्रमले सहयोग पुरयाउने कोइरालाले विश्वास व्यक्त गर्नुभयो ।

नयाँ आशाको सञ्चार गराएको छः महानिरीक्षक खनाल
नेपाल प्रहरीका महनिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले छोटो समयमा नागरिक समाजसँग सामिप्यता बढेको बताउनुभयो । अपराध नियन्त्रण गर्न सबैको सकारात्मक सहयोग रहेको बताउदै उहँले यस कार्यक्रमले प्रहरीलाई आवश्यक पर्ने साधन स्रोत समेत जुटेको बताउनुभयो । प्रहरी हाम्रो लागि हो, सुरक्षा हामी सबैको लागि चाहिन्छ भन्ने भावनाको राम्रो सोच अगाडि बढेको छ, नियम, कानुन सबैले बुझन पनि जरुरी छ,महानिरीक्षक खनालले भन्नुभयो ।

नयाँ नियमर कानुनको बारेमा नागरिकहरुलाई बुझाउने आवश्यक भएकोमा जोड दिदै उहाँले अज्ञानताबाट हुने अपराध न्युनिकरण गर्न गलत बाटो हिडनबाट जोगउन पनि कार्यक्रम निकै फलदायी भएको बताउनुभयो । सरकारले अहिले हरेक स्थानीय तहकमा प्रहरी राख्ने नीति छ ।

‘टोलटोटमा प्रहरीको पहुँच पुगेको छ, साइबर अपराध नियन्त्रण, महिला हिंसा, सामाजिक अपराध नियन्त्रण, यौनजन्य हिंसाको बारेमा पनि सचेतना जगाउने काम भएको छ’, महानिरीक्षक खनालले भन्नुभयो,‘कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएको छ । समुदायको साथ र सक्रियता निकै बढेको छ ।’