पतन हुँदै गइरहेको पुँजीवाद



-कृष्ण प्रजापति
पुँजीवादी राष्ट्रहरु आफ्नै कारणले आज विश्वमा पतन हुँदै गइरहेको स्थिति छ । सदन वा प्रतिनिधिसभा र सरकारबीच रहेको बेमलका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आच्छु–आच्छु परिरहेका छन् । सदनले आफ्नो मागअनुसार छिमेकी मुलुकसँगको सीमामा पर्खाल लगाउन बजेट नदिएपछि सदनसँग डोनाल्ड ट्रम्प चिसिएको अवस्था छ । त्यसो भएकाले आज ह्वाइट हाउसको अवस्था अत्यन्तै तनावग्रस्त छ । त्यसै गरी आफूलाई ठूलो पुँजीवादी राष्ट्रको रुपमा दाबी गर्दै आएको दक्षिण एसियामा साम्राज्यवादी नीतिअनुरुप काम गरिरहेको प्रजातान्त्रिक देश भारत पनि गन्जागोलको स्थितिमा छ ।

जहाँ–जहाँ धर्म र जातिलाई उकासेर वर्गीय हितलाई दमन गर्न खोजिरहेका छन्, ती–ती मुलुकहरुमा शान्तिको बदला गन्जागोलको अवस्था कायम भइरहेको छ । त्यस्ता देशहरुको अवस्था हेर्दै जाने हो भने इटलीमा रोमको सभ्यता नष्ट गर्ने हेतुले विभिन्न रुपमा सरकारले काम कारबाहीहरु अगाडि बढाइरहेको अवस्था छ । त्यसको सिकोको रुपमा मात्रै नेपाल सरकारले पनि उपत्यकाको अमूल्य सभ्यता नष्ट गर्ने सोच बनाएर विभिन्न किसिमका योजना, परियोजनाहरु यहीँ सीमित गरी गन्जागोलको स्थिति ल्याउन खोजिरहेको त होइन ? भन्ने प्रश्न खडा भएको छ । इटलीको रोमको सभ्यता पुनः फर्काउनका लागि पनि धर्मयुद्ध अगाडि बढिरहेछ । आज संसारका पुँजीवादी राष्ट्रहरु गन्जागोल अवस्थामा छन् ।

अमेरिका सकेसम्म अन्तर्राष्ट्रिय जगत्मा गन्जागोल गर्ने चाहना राख्दाराख्दै आफैं गन्जागोल भइरहेको छ । नेपालमा पनि यस्तै गन्जागोलको अवस्था निम्त्याएर आफ्नो दुनो सोझ्याउने चाल धेरैको हुन नसक्ला भन्न सकिँदैन । यदि यस्तो दिन आयो भने नेपालको अवस्था झनै दयनीय हुने निश्चित छ ।

भारतमा मात्रै मुसलमानहरु २५ करोडको संख्यामा रहेका छन् । कुनै बखत त भारतलाई मुस्लिम राष्ट्र घोषणा गर्नुपर्ने माग पनि भएको थियो । तर त्यहाँ हिन्दू राष्ट्र भन्ने नीति अवलम्बन गरी नाम मात्रै धर्मनिरपेक्ष भनी घोषणा गरेको अवस्था छ । आज नेपालको स्थिति पनि उही नै छ । यहाँ पनि धर्मनिरपेक्षता त संविधानमा मात्रै कायम भएको छ । यहाँको सरकारको नीति, कार्यक्रम र व्यवहारमा त एक धर्म, एक जाति, एकमात्रै पोशाकलाई मान्यता दिएको अवस्था छ । एउटै भाषा, एउटै संस्कृतिलाई मात्रै बढावा दिइरहेकै कारण यहाँका ७० प्रतिशतको हाराहारीमा रहेका आदिवासी जनजाति र निम्न आए भएका वर्ग समाजमा जहिले पनि पछि परिरहेको अवस्था छ । यो सरकारको गलत नीतिकै उपज हो ।

भारतमा हिन्दू धर्म लादेर अन्य धर्मलाई हेला–होचा गर्ने प्रवृत्ति छ । एउटै धर्म मान्ने, एउटै जातिलाई मात्रै उकास्ने वा बाहुन–क्षेत्रीलाई मात्रै राज गराउने नेपाल सरकारको नीति पनि भारतीय सत्ता पक्षको नीतिभन्दा अलिकति पनि फरक देखिन्न । अझ एउटै मात्रै धर्म–संस्कृतिलाई मान्यता दिइनुहुन्न भन्ने आवाज बुलन्द गर्ने वा सबै धर्म समान गर्नुपर्दछ र राज्य धर्मनिरपेक्ष बस्नुपर्दछ भन्ने धारणा राख्ने धर्मनिरपेक्षका पक्षपातीहरुलाई धम्क्याउने, तर्साउने काम गरिरहेको छ । बेलायतमा यस्तै गरी पुँजीवादी व्यवस्थाभित्रको कमी–कमजोरी शुरु भएको छ । बेलायत आफंै युरोपेली संघबाट अलग हुने वा उनलाई युरोपेली संघबाट निकाला गर्ने अवस्था सिर्जना भइरहेको छ । अर्को पुँजीवादी राष्ट्र फ्रान्स पनि हप्तौंदेखि नै पहेँलो वस्त्र धारण गरेकाहरुको सडक आन्दोलनले आक्रान्त बनिरहेको छ ।

स्पेनको एकटुक्रा भूभाग अलग हुने तर्खर भइरहेको छ । नेपालजस्तो पुँजीवादी राष्ट्र त्यसमा पनि बाहिरको भर पर्नुपर्ने देशमा त झन् बढी खतराको स्थिति देखा परिरहेको अवस्था छ । हिजोआज नेपालका सबैजसो भूतपूर्व सेनापतिहरु दिल्लीमा पुगेका छन् । केही समयअगाडिदेखि नै त्यहाँ बसिरहेको अवस्था छ । यो संयोग मात्रै पनि नहुन सक्छ । हालसालै प्रधानसेनापतिसमेत भारत पुगेर फर्केको अवस्था छ ।

यो के चाल हो र ? चार–पाँचजना नेपालका भूतपूर्व सेनापतिहरु एकसाथ नै किन भारतको दिल्लीमा रहन पेगे भन्ने यो रहस्यको विषय होइन र ? यसलाई नेपालका कूटनीतिज्ञहरुले पनि गम्भीर भएर हेरिरहेको अवस्था छ । केही समयअघि मात्रै दक्षिण–पूर्वी एसियाली सेनाहरुको एक संगठन खोल्ने र भारतमा गएर एक हप्तासम्म युद्ध अभ्यास वा सैनिक अभ्यास गर्ने निर्णय भयो । भेला त नेपालमै भएको थियो । तर नेपालले भारतमा भएको उक्त युद्ध अभ्यासमा भने भाग लिएन । सरकारले विभिन्न राय सुनेर त्यसलाई अस्वीकार ग¥यो ।

यसरी नेपालजस्तो चारैतिर भूपरिवेष्ठित र तीनतिर भारतसँग भूपरिवेष्ठित भएर बाँचेको राष्ट्रले भारतले भनेजस्तो युद्ध अभ्यासमा भाग लिएको भए अहिलेसम्म सो सैनिक संगठनको एउटा कार्यालय नेपालमा रहिसकेको हुने थियो । बिमस्टेकको नाममा नेपालमा थुप्रै दिनसम्म भएको भारतको इशारामा सञ्चालन भएर अमेरिकालाई सहयोग गर्ने अमेरिकी छत्रछायामा सञ्चालन गर्ने गरी त्यही हेडक्वाटर भएको सो संगठनले आह्वान गरेझैँ आफू संलग्न भएर पछि भारत र नेपालका सेनाहरुबीच एक हिसाबले तिक्तता उन्पन्न भएको थियो । त्यसलाई शान्त गर्नको लागि नै सबैजसो पूर्वसेनापतिहरु एकैपल्ट भारतको दिल्लीमा पुगेको त होइन ? पहिला पनि दक्षिण–पूर्वी एसियामा एक सैनिक संगठन कायम भएको थियो । आसियान नामले बनाएको सो सैनिक संगठन पछि यता न उताको स्थिति भयो । अहिले पुनः बिमस्टेकको नामबाट नयाँ सैनिक संगठन खडा गरी त्यो भारतले भनेझैँ बस्ने र अमेरिकाले भनेझैँ चल्ने कुरा नेपालले अस्वीकार गरेपछि भारत र नेपालका सेनाहरुबीच एक हिसाबले तिक्तता उन्पन्न भएको पनि हुन सक्छ । त्यसलाई शान्त पार्नकै लागि मात्रै पनि भारतमा सबै पूर्वसैनिकहरु भेला हुन पुगेको अनुमान गरिएको छ ।

जसरी भियतनाममा संगठन भएपछि कम्बोडिया र लाओसमा समेत केही–केही गतिविधि गर्नको लागि अमेरिकी साम्राज्यवादलाई सजिलो भएको थियो । अहिले आएर नेपालमा संगठन खडा गरी भारतले दक्षिण एसियाका विभिन्न मुलुकमा आफ्नो पकड जमाउने दाउ रचना गरिरहेको हो । त्यसको लागि आवश्यक पर्दा सबै दाम र सहयोग अमेरिकी साम्राज्यवादले पूर्ति गरिदिने कुरामा भारत ढुक्क रहेको छ । कम्पोडियाले थाइल्यान्ड, लाओस र भियतनाम जोडेजस्तै भारतले दक्षिण एसियाका नेपाल, पाकिस्तान, बर्मा, बंगलादेशलगायत थुप्रै मुलुकलाई हेरिरहेको छ । त्यसैले पनि यदि पाकिस्तान मानेको भए नेपालमा क्षेत्रीय हेडक्वाटर सञ्चालन गरी भारतले अहिले नै सैनिक मोर्चाको नेतृत्व गरिरहेको हुने थियो । कम्पोडियाको सिंहनायक अमेरिकामा बस्न चाहेको बखत त्यहाँ बाह्र वर्षअगाडि नै हिन्दू धर्म प्रचार भइरहेको थाहा पाएर एक घरबाट एकजना भिक्षु हुनुपर्ने राष्ट्रलाई पतनको स्थितिमा पु¥याएको थियो ।

कुनै बखत फिलिपिन्सले सिंहानुकलाई आफ्नो सदनमा सम्बोधन गराउन बोलाएको थियो । जसरी नेपालमा भारतका प्रधानमन्त्री मोदीलाई नेपालको सदनमा सम्बोधनको लागि बोलाएको थियो । तर अमेरिका वा ह्वाइट हाउसबाट आएका मानिसले तयार गरेको भाषणलाई हुबहु मात्रै पढ्ने कुरा बाहिर आएपछि त्यसलाई अस्वीकार गरी राजा सिंहानुकले उक्त आफ्नो भाषणमा कम्पोडिया स्वतन्त्र राष्ट्र रहेकोले कसैको अधीनमा नहरने कुरा बोले । त्यसपछि भाषण सकाएर तल झरेका सिंहानुकलाई तत्काल त्यहाँको मर्यादापालकले तपाईंको भाषणले सभामुख खुशी हुनुभएन भनी जनाउ दिए । पछि तुरुन्तै राजा सिंहानुकलाई चीनमा बोलाएर त्यसको स्पष्टीकरण माग्ने काम भयो । यसरी अमेरिका सकेसम्म अन्तर्राष्ट्रिय जगत्मा गन्जागोल गर्ने चाहना राख्दाराख्दै आफैं गन्जागोल भइरहेको छ । नेपालमा पनि यस्तै गन्जागोलको अवस्था निम्त्याएर आफ्नो दुनो सोझ्याउने चाल धेरैको हुन नसक्ला भन्न सकिँदैन । यदि यस्तो दिन आयो भने नेपालको अवस्था झनै दयनीय हुने निश्चित छ ।

 

 

प्रतिक्रिया दिनुहोस्