सुनको भाउमा ३ वर्षयता पहिलो वार्षिक कमी

0
Shares

अमेरिका । अन्तरराष्ट्रिय बजारमा सोमवार बहुमूल्य धातु सुनको भाउ बढेको छ । सोमवार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पड गोल्डको भाउ अधिकतम प्रतिऔंस १ हजार २ सय ८४ डलर शून्य ६ सेन्टसम्म पुगेको थियो । यो जुन १५ यताकै उच्च हो । तर, अमेरिका–चीनबीचको व्यापार युद्ध र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको ब्याजदर वृद्धिका कारण सुनसँग विपरीत सहसम्बन्ध ठानिएको डलर बलियो बनेपछि यस वर्ष सुन सन् २०१५ यताकै पहिलो वार्षिक कमीतर्फ उन्मुख भएको छ ।

यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ८ बजे स्पट गोल्डको भाउ शून्य दशमलव शून्य शून्य ८ प्रतिशत बढेर प्रतिऔंस १ हजार २ सय ८० डलर शून्य १ सेन्टमा आएको थियो । सोही समयमा यूएस गोल्ड फ्युचर्सको भाउ भने प्रतिऔंस शून्य दशमलव १२ प्रतिशत घटेर १ हजार २ सय ८१ डलरमा आएको थियो । सोमवार भाउ बढे पनि वर्षको शुरूको तुलनामा अन्तिम दिनको कारोबारमा स्पट गोल्ड साढे १ प्रतिशतभन्दा तल छ ।

‘सुनले सन् २०१८ को शुरुआत राम्रो गरेको थियो, तर कमजोर अमेरिकी डलर बिस्तारै सुध्रिनुका साथै चिनियाँ मुद्रा रन्मिन्पी ९युआन० कमजोर बन्न थालेपछि भने वर्षको अन्त्यसम्म सुनको भाउ घट्यो,’ एबीएन एम्रोकी विश्लेषक जियोगेट्टे बोइले भन्छिन् । हालै युआनको भाउमा केही स्थिरता देखिएको र डलर पनि केही कमजोर बनेपछि सुनको भाउमा सुधार आएको उनी बताउँछिन् । त्यसैले सुनका लागि यो डिसेम्बर १ दशकयताकै राम्रो डिसेम्बर भएको छ । यो महीना सुनको भाउ करीब ५ प्रतिशत बढ्ने क्रममा छ । आगामी वर्ष भने सुन १ हजार ४ सय डलरभन्दा माथि पुग्ने अपेक्षा रहेको बोइलेले बताइन् ।

सप्ताहान्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार सम्झौतामा राम्रो प्रगति भइरहेको बताएपछि सोमवार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राहरूको तुलनामा डलर सूचक शून्य दशमलव २ प्रतिशत बढ्यो । तर, व्यापारयुद्ध सम्बन्धी तनाव र बढ्दो ब्याजदरका कारण यस वर्ष डलरको भाउ प्रतिद्वन्द्वी मुद्राका तुलनामा करीब ५ प्रतिशत बढेको छ ।

अगस्टमा डलर बलियो बनेपछि सुन २० महीनाकै न्यून विन्दुमा आएको थियो । हालैका महीनामा विश्व शेयर बजारमा आएको उतारचढावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका साधनतर्फ आकर्षित भएपछि डिसेम्बरमा सुनको भाउ ५ प्रतिशत बढेको हो । अहिले विश्वमा विद्यमान राजनीतिक र आर्थिक चिन्ताहरूले आगामी वर्षको पहिलो त्रैमाससम्म सुनको भाउले टेवा पाउने सिंगापुरस्थित ब्रोकरेज कम्पनी फिलिप फ्युचर्सका कमोडिटीज विश्लेषक बेन्जामिन लु जियाक्सन बताउँछन् ।

अर्को बहुमूल्य धातु पालाडियम सोमवार शून्य दशमलव १ प्रतिशत बढेर प्रतिऔंस १ हजार २ सय ५५ डलर १० सेन्टमा पुग्यो । यससँगै यस वर्ष पालाडियमको भाउ १८ दशमलव ३ प्रतिशत बढेको छ । यस वर्ष पनि पालाडियम लगातार तेस्रो वर्ष सबैभन्दा राम्रो प्रदर्शन गर्ने बहुमूल्य धातु बनेको छ । अटो क्षेत्रबाट भएको सुदृढ मागका कारण सन् २००२ यता पहिलोपटक यस वर्ष पालाडियमको भाउले सुनलाई पनि उछिन्यो ।

सोमवारको कारोबारमा अर्को बहुमूल्य धातु चाँदीको भाउ १ प्रतिशत बढे पनि सन् २०१८ मा भने ८ दशमलव ८ प्रतिशत घट्ने क्रममा छ । प्लाटिनमको भाउ पनि वर्षको अन्तिम कारोबारमा शून्य दशमलव ८ प्रतिशत बढेको छ । तर, सन् २०१८ मा भने यसको भाउमा करीब १४ प्रतिशत कमी आयो । एजेन्सी