मठ, मन्दिर, देवालय, संस्कृति पुर्खाले हामीलाई सुम्पिएको नासो हो । यसलाई भविष्यको पुस्तामा सुम्पिने दायित्व हाम्रो हो । संस्कृति, सम्पदा कुनै बेला प्रतिभाशाली व्यक्तिहरुले सिर्जना गरेका सम्पत्ति हुन् । अहिले मुखले गौरव गरे पनि व्यवहारमा यसको संरक्षणतर्फ सरकार उदासीन देखिएको छ । अझ काठमाडौं उपत्यकाका सम्पदाहरु नेपालको मात्र नभई विश्वको सम्पत्तिको रुपमा विश्वसम्पदा सूचीमा सूचीकृत रहेका छन् । वि.सं. २०७२ को विनाशकारी भूकम्पले लडेका ती सम्पदाहरु विभिन्न देशको सहयोगले उठाउने क्रम जारी नै छ ।
समय फेरिएसँगै मुलुकको मौलिक संस्कृतिको महत्व पनि हामी राम्ररी बुझ्न छाड्दै गएका छौं । विदेशी संस्कृति र जीवनशैलीको वर्तमान पुस्ता अन्धाधुन्ध नक्कल गर्न तम्तयार हुने गर्दछ, आफ्नो मौलिक संस्कृतिबारे बुझ्ने क्रमबाट पछि हट्दै गएको छ । नयाँ पुस्तालाई यसबारे हामीले राम्ररी सिकाउन पनि सकेका छैनौं । यता अव्यवस्थित शहरीकरण र अनियन्त्रित निर्माण कार्यले सम्पदा संस्कृतिमाथि अतिक्रमण गरेको छ । एकहदसम्म भूमाफियाको चलखेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वका स्थलहरु विनाश हुँदै गएका छन् । एकोहोरो विकासको दृष्टिले ऐतिहासिक सम्पदा र संस्कृतिमाथि धाबा बोल्ने कार्य भइरहेको छ । राज्यले राष्ट्रिय गौरवको नाउँमा ललितपुरको ऐतिहासिक खोकना र बुङ्मतीको ऐतिहासिक सभ्यतालाई विनाश गर्न लागेको भनेर स्थानीयहरु आन्दोलनमा उत्रिएको अवस्था छ ।
विश्व कलापरिषद्ले हालै ललितपुरलाई हस्तकलाको शहरको रुपमा घोषणा गरेको छ । काठमाडौं उपत्यकामध्ये ललितपुरलाई ललितकलाको शहरको रुपमा चिनिन्छ । ऐतिहासिक कृष्णमन्दिर र त्यसमा कुँदिएको महाभारतको चित्र वा महाबौद्ध मन्दिरमा हजारौं बुद्धको मूर्ति, काष्ठकला, चित्रकलाले शहर भरिपूर्ण रहेको छ । घोषणाले त्यसको संरक्षण, संवद्र्धन, उत्पादित धातुका मूर्ति, काष्ठकला, प्रस्तरकला, तामा–पित्तलका भाँडाकुँडा बनाउने, सुकुल बुन्नेलगायत हस्तकलाका व्यवसायको प्रवद्र्धन हुने आशा पलाएको छ । तर घोषणा भएको तीन महिना बित्न लाग्दा पनि ललितपुर महानगरपालिकाले यसबारे सरोकारवालासँग छलफल नगरेकोमा सरोकारवालाहरु असन्तुष्ट रहेको समाचार बाहिर आएको छ । सो घोषणाको अर्थ के हो ? घोषणाले कस्तो अवसर ल्याएको छ ? ती अवसर सदुपयोग गर्न के–कस्ता चुनौती र समस्याहरु रहेका छन् ? यसबारे सबै मिलेर एउटा अवधारणापत्र बनाउन सके घोषणाले सार्थक रुप लिने सरोकारवालाहरुको भनाइ छ ।
संस्कृति–सम्पदा एकदिनमा बन्ने होइन । यी समाजको ऐतिहासिक विकासक्रममा बन्ने अमूल्य निधिहरु हुन् । तिनको संरक्षणमा संघ, प्रदेश र स्थानीय तह मिलेर अघि बढ्नुपर्दछ । संस्कृति–सम्पदा जोगाइरहेका समुदाय, नागरिकमा गौरवको सञ्चार गर्न नसके ती सम्पदाहरु क्रमशः ह्रास हुँदै जाने अवश्यम्भावी रहेको छ । त्यसैले यस विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण होस् ।











प्रतिक्रिया