सुनामीका कारण इन्डोनेसियामा कम्तिमा ४३ जनाको मृत्यु



एजेन्सी, सुनामीका कारण इन्डोनेसियाका २ टापु जाभा र सुमात्रामा कम्तिमा ४३ जनाको ज्यान गएको छ भने सयौं मानिस घाइते भएका छन्।

स्थानीय समयअनुसार शनिबार साँझ आएको सुनामीमा परी थुप्रै घर र भवनहरूमा पनि क्षति पुगेको छ। भत्केका घरका भग्नावशेष र ढलेका रूखहरूले सडक बन्द भएका छन्।

क्राकाटाउ ज्वालामुखी विस्तार भएर समुद्रमूनि पहिरो गएकाले सुनामी आएको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले सुन्दा स्ट्रेट आसपासका क्षेत्रका समुद्री किनारामा नजान सुझाव दिएका छन्। उनीहरूका अनुसार मंगलबारसम्म ठूल्ठूला छाल आउन सक्छन्।

यो वर्ष इन्डोनेसियाले भोगेको यो पछिल्लो विपत्ति हो। गत अगस्टमा पर्यटकीय टापु लाम्बोकमा भूकम्प आएको थियो। सेप्टेम्बर २८मा सुलावेसी टापुमा आएको भूकम्प र सुनामीमा परी २ हजार बढीले ज्यान गुमाएका थिए।

अक्टोबरमा लियोन एयरको जहाज खस्दा २०० यात्रुको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्