परम्परागत उपचार पद्धतिले जीवन दियो



भगवती तिमल्सिना

मानव शरिरमा देखा पर्ने हरेक किसीमका रोगको प्रमुख कारण प्रत्यक्ष या अप्रत्यक्ष रुपमा खानपान तथा व्यक्तिगत आचरणका कारण भएको कुरा चिकित्सा विज्ञानले प्रमाणित गरिसकेको भए पनि व्यहारिक रुपमा सुधार ल्याउन भने विश्वमानै निकै कठीन भएको स्वास्थ्य विज्ञहरुको ठम्याई रहेको छ ।

क्षणिक रुपमा जिब्रोको स्वादको लागि शरिरलाई असर पार्ने तत्व खानमा मानवहरु उत्साहित हुने गरेकै कारण आज विश्वमा सर्ने भन्दा नसर्ने दीर्घ रोगले जरा गाड्दै छ । सुधारका लागि प्रशस्त प्रयास भैरहेको भए पनि सोचे जति उपलब्धि नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बिकसित मुलुकको दाजोमा बिकासोन्मुख मुलुकमा स्वास्थ्य समस्या बढ्दो रुपमा हुनुलाई जनचेतनाको कमीको रुपमा औल्याईएको छ ।
टक्क टक्क जिब्रो पड्काउँदै चिल्लो, पिरो, अमिलो, मादक पदार्थ तथा धुम्रपान सेवन गरिन्छ त्यसले शरिरमा कस्तो असर पार्छ भन्ने बारेमा पनि उत्तिकै ज्ञान हुनु जरुरीछ । जसरी जनजिब्रोमा चट्ट मिठो स्वादिलो खानाको परिकार हुनुपर्छ है भन्ने छाप परेको छ त्यसरीनै पहिलो प्राथमिकता आफ्नो स्वास्थ्यमा पनि दिनुपर्छ है भन्ने कुरा पनि सँगसँगै हुनु जरुरी रहेको आयुज्र्ञानोदय कमिटी नेपालका अध्यक्ष रामेश्वरमान स्थापित बताउँनुहुन्छ ।

नेपालीहरुको आम्दानीको दाजोमा उपचारखर्च अत्यन्तै महगो छ । आम्दानी अनुसार खर्च गरि स्वस्थ र सुन्दर कसरी बन्न सकिन्छ भनेर बाहिरी बजारको मिसावट खाना र केमिकलयुक्त औषधिको पछि दर्गुर्दा एकपछि अर्को रोग साइड इफेक्ट बढ्दो क्रममा देखा परेको छ । यसलाई न्यूनीकरण गर्नका लागि परम्परागत जडिबुटीय तथा प्राकृतिक पद्धतिद्धारा स्वास्थ्य उपचारमा प्रयोग हुने घरेलु जडिबुटीहरु उपयोग गर्न जोड दिँदै आउँनुभएका स्थापित आफ्नो जीवनबाट व्यवहारिक शिक्षा हासिल गरि जनसमक्ष चेतना जगाउने अभियानमा लाग्नुभएको छ ।
स्थापित यतिबेला आफ्नौ जागिरे जीवनसँगै समाजलाई कसरी स्वस्थ र सुन्दर बनाउन सकिन्छ भन्ने अभियानका साथै किर्तिपुर, काठमाडौलाई आधार इलाका बनाउँदै व्यवहारिक शिक्षाका लागि काठमाडौ महानरगरपालिका तथा वडा कार्यालयको सहकार्यमा अभियान नै संचालन गर्दै हुनुहुन्छ । उहाँको समूहले दैनिक खानपान र व्यायाममा मात्र हैन, शरिर भित्र जम्मा हुने अनावश्यक तत्व टक्सीसलाई कसरी शरिरबाट बाहिर निकाल्ने भन्ने बारेमा विगत ५ बर्ष देखि अभ्यासको थालनी गर्नुभएको छ । यो अवधिमा अभ्यासले धेरै मानिसलाई फाइदा पुगेको स्थापितको दाबी छ ।

उहाँको उपचार विधि यस्तो रहेछ ः एउटा पित्तलको वाटामा २ लिटर मनतातो पानी राख्ने । त्यसमा एउटा चनाको दाना जति सिरेनून हाल्ने र २५ ग्राम जति तितेकरेला काटेर मसिनो बनाएर डुबाउने र दुबै खुट्टा १५ मिनेट देखि ३० मिनेट सम्म डुबाउने । यसो गर्नाले शरिर भित्र रहेको अनावश्यक टक्सीस शरिरबाट बिस्तारै बाहिरिन्छ र शरिरका नसाहरुमा रक्तप्रवाह सहज हुन्छ । यसका कारण मानिसको शरिरको दुखाई, पोलाई, थप रोगको सम्भावनालाई कमी गर्दै लान्छ । यो प्रकृया नियमित औषधि सेवन गरेका देखि सडक दुर्घटनामा परि दुखाई भोगेका या अन्य समस्या भएका व्यक्तिलाई समेत फाईदा पुग्ने स्थापित बताउँनुहुन्छ ।

स्थापित भन्नुहुन्छ ः ६ बर्ष अघि ढाड दुख्ने समस्याले ८ दिन सम्म ओछ्यानबाट उठ्नै नसक्ने बिरामी परेको अवस्थामा जापानी नागरिकले दोस्रो विश्व युद्ध पहिलाको पद्धतिबाट उपचार सिकाउँछु भने । मैले उनको कुरा स्वीकारे ८ दिन सम्म उत्तानो मात्र सुतेको व्यक्ति म आधा घण्टाको उपचारपछि कोल्टो फेर्न सक्ने भए र नियमित उपचार पछि आज नयाँ जीवन पाएर म स्वस्थ भए । अहिले नियमित अफिसको काम र समाजका लागि नभै नहुने स्वास्थ्य सेवामा जुटेको छु ।

पाँच बर्षको अवधिमा ६ सय ४० जना नियमित उपचार गराउने बिरामीले आराम महसुस गरिसकेका छन् । परम्परागत जडिबुटी तथा प्राकृतिक पद्धतिद्धारा स्वास्थ्य उपचारका लागि यतिबेला काठमाडौ महानगरपालिका र किर्तिपुर नगरपालिकाको माग अत्यधिक छ । अफिसको समय बाहेक र विदाका दिनमा आफु समाजका हरेक नागरिकको स्वस्थ जीवनका लागि सहयोग गर्दै आएको छु स्थापित भन्नुहुन्छ ।

हामीले पित्तलको भाडामा सिरेनून, तितेकरेला, बकाइनो, चिराइतो, निम मध्ये कुनै एउटा चिज ५ ग्राम बराबर मनतातो पानीमा मिसाएर हप्तामा १ देखि २ पटक खुट्टा डुबाउँदा पैतालाबाट शरिरमा जम्मा भएको अनावश्यक टक्सीस बाहिरीदा मधुमेह, उच्च रक्तचाप, घुडाको दुखाई, शरिरको अन्य भागको दुखाई कम हुनुका साथै स्मरण शक्तिमा बृद्धि हुने उहाँको दाबी छ । मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले यो विधि अपनाउदा नियमित मधुमेह र उच्च रक्तचापको नाप गर्नु जरुरी हुन्छ । यदि उच्च रक्तचाप कम छ भने यो विधि हप्तामा एक पटक भन्दा बढी गर्न नहुने पनि स्थापित बताउनुहुन्छ । नयाँ या पुरानो दुखाईलाई शारिरीक दुखाई उपचारका लागि यो विधि प्रभावकारी भएको बताउनुुहुन्छ । पछिल्लो समय कम्प्युटर, मोबाईलको प्रयोगले पनि धेरै मासिनसहरु रोगी बन्दै गएका छन् । यसका लागि परम्परागत विधिका माध्यमबाट उपचार गर्दा कुनै साईड इफेक्ट पनि नहुने र खर्चिलो पनि नभएकाले यो विधिलाई नै पहिला काठमाडौका ३३ वटा वडा हुँदै किर्तिपुर र अन्य क्षेत्रमा जाने योजना बनाएका छौ ।

पछिल्लो समय जसरी प्रविधिको विकास भएको छ प्रयोग पनि त्यतिकै मात्रामा भएको छ । करेन्ट र म्याग्नेटका कारण शरिरमा पर्ने असरले बिर्सने बानीको बिकास बढेको छ । पौराणीक काल देखि गरिएको प्राकृतिक उपचार बिधि मैले जापानी नागरिकबाट सिके र अरुलाई पनि सिकाउने उदेश्यले अभियानकै रुपमा लागेको छु । रोग प्रकृति अनुसारको उपचार विधि अपनाएर मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले एकैपटक औषधि छोड्नु भने हुन्न तर विस्तारै समस्यालाई कमी गर्दै औषधिको मात्रा कम गर्दै जान चिकित्सककै सल्लाहमा जानुपर्ने स्थापितको सल्लाह छ । जापानी नागरिक साकाभुजीले सानेपा निवासी स्थापितसँग अस्पताल जाने क्रममा ६ बर्ष अघि भएको भेट र आधा घण्टाको उपचारले पारेको प्रभावका कारण यतिबेला समाजमै प्राकृतिक बिधिबाट स्वास्थ्य सेवा प्रवाह गर्न प्रोत्साहित गरेको छ । त्यहि उपचार विधिले अहिले आफु स्वस्थ भएकै कारण आफ्नै शरिरको तौल बराबरको तौल सहज उठाउँदा पनि आफुलाई कुनै समस्या नभएको स्थापित बताउनुहुन्छ ।

घरमै बसेर उपचार गर्न सकिने विधि सरल र सहज भएकाले जोसुकैले गर्न सक्ने हुँदा आफु अझ प्रभावित भएको बताउँनुहुन्छ । यो विधिले स्मरण शक्तिमा पनि कुनै कमी नआउँने र रोगपनि निको हुने भएकाले परम्परागत जडिबुटी तथा प्राकृतिक पद्धतिद्धारा नै उपचार गराउन कोसिस गर्छौ । यस्तो उपचार गर्ने व्यक्तिले धुम्रपान, मध्येपान भने गर्नै नहुने उहाँको अनुभव छ । बच्चा देखि युवा, बृद्ध जुनसुकैलाई अर्थात दीर्घ रोगीलाई समेत उपचार गर्न सकिने विधि भएकाले कथीया र जोर्नी बाथ भएका सम्मलाई पनि फाईदा पुग्ने स्थापितको दाबी छ ।

यो विधि अपनाउँने व्यक्तिले चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गरिरहेको छ भने चिकित्सकको सल्लाह विना औषधि छोड्नु भने हुन्न ।
नेपाल एउटा त्यस्तो मुलुक हो हिमाली जडीबुटी देखि आयुर्वेदिक उपचार तथा परम्परागत उपचार विधिमा निर्भर रहेको मुलुकमा परम्परागत उपचार के हो र जडिबुटी कहाँ कसरी पाइन्छ । कुन जडिबुटीको के फाईदा र बेफाइदा छ भन्ने बारेमा ज्ञान पाउनका लागि जनचेतनाको खाँचो रहेको छ स्थापित भन्नुहुन्छ । यो विधिमा बढी मात्रामा ढाड दुखेर आउँने चालक समूह र दिनभरी सडकमा काम गर्ने ट्र्रफिक प्रहरी, विद्यार्थीहरुका माझ परिचित रहेको पनि स्थापितले जानकारी गराउनुभयो । स्थापितको समूहले यो विधिलाई सहज र सरल बनाउन विद्यालयहरुमा शिक्षक विद्यार्थीका माझ कक्षा नै लिर्दै आएको बताउँनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्