नेपाल बराबरीमा रोकियो



नेपाल समाचारपत्र
काठमाडौं
सन् २०२० को टोकियो ओलम्पिक लागि एसिया क्षेत्रअन्तर्गत महिला फुटबल छनोट चरणको प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय महिला फुटबल टोली समूहको दोस्रो खेलमा आयोजक म्यानमारसँग १–१ गोलको बराबरी रोकिएको छ।

फिफा वरियतामा नेपालभन्दा ६४ स्थानमाथि रहेको म्यानमारविरुद्ध नेपाललाई खेलको दोस्रो मिनेटमा नै सावित्रा भण्डारीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएकी थिइन्। खेल शुरू भएको ४३ सेकेन्डमै म्यानमारकी डिफेन्डर वाई वाई औङले सावित्रालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। तर खिन मो वाईले १३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। वाईले कर्नरबाट प्रहार गरेको बललाई नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले रोक्ने प्रयास गर्दा सिधै गोलमा परिणत भएको थियो। खेलमा दुवै टोलीले गोलसंख्या बढाउने राम्रो अवसर सिर्जना गरे पनि सफल हुन भने सकेनन्।

यस नतिजासँगै नेपाल अंक तालिकामा तेस्रो भए पनि छनोटको सम्भावना जीवित रहेको छ। नेपाल अंक तालिकामा २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा छ। भारत र म्यानमारको समान २ खेलमा ४÷४ अंक छ भने अंकविहीन बंगलादेश पुछारमा रहेको छ। अब नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेमा र भारत र म्यानमारको खेल गोलरहित बराबरीमा टुंगिएमा नेपाल समूह विजेता हुनेछ। तर भारत र म्यानमारको खेलमा जित–हारको नतिजा आएमा भने नेपालले बंगलादेशलाई हराए पनि नेपाल समूहमा दोस्रो हुनेछ। दोस्रो भएको अवस्थामा छनोटका लागि भने नेपालले अन्य समूहको नतिजा पनि पर्खनुपर्नेछ।

आइतबारै भएको समूह चरणको अर्को खेलमा भारतले बंगलादेशलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो। भारतका लागि बालादेवीले ४, कमला देवीले २ तथा संजुले १ गोल गरिन्। बंगलादेशका लागि कृष्णा रानीले सान्त्वना गोल गरेकी थिइन्। नेपालले पहिलो खेलमा भारतसँग १–१ को बराबरी खेलेको थियो। बंगलादेश भने म्यानमारसँग पहिलो खेलमा ५–० ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्