यू–१५ च्याम्पियनसिपको तयारी पूरा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपालमै आयोजना हुने साफ यू–१५ पुरुष च्याम्पियनसिपको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी गराएको छ।

सातदोबाटोस्थित एन्फा भवनमा भएको पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार प्रतियोगिता यही कात्तिक ८ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ। गत संस्करणमा भारतसँग पराजित भएको नेपाली युवा टोलीले यसपटक उपाधि जित्ने लक्ष्य राखेको छ।

एन्फाकै मैदानमा हुने प्रतियोगितामा नेपालले पहिलो दिन माल्दिभ्ससँग सामना गर्नेछ। समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेलमा बंगलादेशविरुद्ध कात्तिक १२ गते खेल्नेछ। दक्षिण एसियाका ६ टोली सहभागी प्रतियोगिताअन्तर्गत समूह ‘बी’मा भारत, पाकिस्तान र भुटान रहेका छन्। प्रत्येक टोलीका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। साथै च्याम्पियन बन्ने टोलीले एएफसी यू–१६ छनोट खेल्न पाउनेछ।

प्रतियोगिता आयोजना गर्न करिब १ करोड ६५ लाख खर्च लाग्ने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी गराएका छन्। तुलाधरका अनुसार सो रकमको परिपूर्ति गेट मनी र साफबाट आउने अनुदान र अपुग रकम एन्फाको आन्तरिक स्रोतबाट पूरा गरिनेछ। गेट टिकट साधारणतर्फ २ सय रुपियाँ र भीआईपीतर्फ ५ सय रुपियाँ तोकिएको छ।

एन्फाले एकेडेमीमा रहेको २६ जना र एन्फासँग आबद्ध जिल्लाका ४५ जनाबाट उत्कृष्ट २३ खेलाडी छनोट गरिएको बताएको छ। छनोटमा जिल्लाबाट ३ सय जनाको सहभागिता रहेको एन्फा ग्रासरुटका संयोजक उपेन्द्रमान सिंहले जानकारी गराए। विगतमा बढी उमेरका कारण विवाद आएको भन्दै यसपटक एमआरआईको परीक्षणपछि खेलाडी छनोट गरिएको महर्जनले बताएका छन्।

नेपाली टोली

गोलकिपर
रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ

डिफेन्डर
जान लिम्बू, निवास फुयाल, प्रमेश गुरुङ, रोशन थापा, सिर्जन दानी, रोजित परियार, सुशील अधिकारी, हृदेशसिंह ठकुरी।

मिडफिल्डर

प्रदीप लम्साल, मनग्य नकर्मी, दीपेश गुरुङ, प्रवीण मगर, राकेश विके, सशांक बोहरा, निराजन मल्ल, धिरज बलायर।

फरवार्ड

नमास थापा, सोनाम गुरुङ, रोहित सुब्बा, दीपेश राई।

Skip This