सन्दीपलाई हेटौंडामा सम्मान



हेटौंडा, (नेस)
मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरले आयोजना गरेको एक दिवसीय क्रिकेट प्रशिक्षणमा प्रशिक्षकका रूपमा सहभागी हुन आएका युवा क्रिकेटर सन्दीप लामिछाने आइतबार हेटौंडामा निकै व्यस्त भए। उनी प्रशिक्षणसँगै सम्मान ग्रहण गर्न व्यस्त बनेका हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्राविधिक रमण शिवाकोटीसँग उनी हेटौंडा आएका हुन्। सन्दीपलाई मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सम्मान गर्दा स्कुल अफ म्यानेजमेन्टले नगद १ लाख रुपियाँसहितसम्मान गर्यो। त्यस्तै सन्दीपलाई हेटौंडाको तासिर इङ्ग्लिस सेकेन्डरी स्कुलले पनि सम्मानित गरेको छ।
कार्यक्रममा विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले भने– ‘म पनि तपाईंहरुजस्तै विद्यार्थी हुँ,’ उनले भने– ‘खेलका माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन पाउँदा खुशी लागेको छ।’

उक्त अवसरमा सन्दीपले आफ्नो हस्ताक्षरसहितको बल विद्यालय संस्थापक राजन थापालाई हस्तान्तरण गरेका थिए। संस्थापक थापा तथा विद्यालय अध्यक्ष मिठ्ठेबहादुर कार्कीले संयुक्तरूपमा उनलाई मायाको चिनो हस्तान्तरण गरेका थिए। सन्दीपले केही बेर विद्यालयको क्रिकेट क्लबका विद्यार्थीहरुसँग बलिङ तथा ब्याटिङ गरेका थिए।

सन्दीपले २०१६ मा बंगलादेशमा भएको यु–१९ विश्वकप क्रिकेटमा डेब्यु गरेका थिए। राष्ट्रिय टोलीमा भने उनले २०१६ को सेप्टेम्बरमा नामिबियासँगको खेलमा डेब्यु गरेका थिए। १४ वर्षकै उमेरमै तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दाशानायकेले ट्यालेन्ट हण्टबाट उनको खेलमा प्रभावित भएर सन्दीपलाई काठमाडौं बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस्