नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश–३ सरकारको प्रदेश नीति तथा योजना आयोगले मंगलबार प्रदेशको वस्तुस्थिति विवरण सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले परिकल्पना गरेको दीगो विकासको लक्ष्य निर्धारण पूरा गर्न मन्त्रिपरिषद्बाट जेठ २९ गते गठन गरिएको आयोगले ४५ दिनमा तयार पारेको वस्तुस्थिति विवरण सार्वजनिक गरिएको हो ।
वास्तविक धरातलमा आधारित नीति तथा कार्यक्रमले मात्र विकासका सम्भावनालाई लाभमा रुपान्तरण गर्नसक्ने जनाउँदै प्रदेशको नीति तथा योजना आयोगले विवरण सार्वजनिक गरिएको हो । आयोग उपाध्यक्ष डा. खिमलाल देबकोटाले आयोग गठनको ४५ दिनमै सीमित स्रोतसाधनको उच्चतम् सदुपयोग गर्दै प्रदेशको वस्तुस्थिति सम्बन्धि दस्तावेज तयार गरिएको बताउनुभयो । उहाँले वस्तुस्थिति विवरणले सबैलाई तथ्यगत आदानप्रदान गर्ने र प्रदेश विकासका लागि सूचना व्यवस्थापनको क्षेत्र सहयोग पु¥याउने दाबी गर्नुभयो ।
विवरणमार्फत् सार्वजनिक गरिएको तथ्यले प्रदेशको समृद्धिका आवश्यक पर्ने वस्तुको पहिचान र सूचना व्यवस्थापन गर्न सहज हुने आयोग उपाध्यक्ष डा. देबकोटाको भनाइ छ । प्रदेशले सार्वजनिक गरेको विवरणबाट विकाससँग सम्बन्धित आवधिक योजना, क्षेत्रगत नीति र योजना बनाउन तथा यस विषयमा खोज, अध्ययन र अनुसन्धान गर्न सजिलो हुने उपाध्यक्ष डा. देबकोटाको विश्वास छ ।
९ परिच्छेदमा वस्तुस्थिति विवरणमा तयार पारिएको छ । विवरण पुस्तिकामा उल्लेख भएअनुसार परिचय, जनसांख्यिक विवरण, कृषि, बन र भूमि व्यवस्था, पूर्वाधार क्षेत्र, सामाजिक क्षेत्र, आर्थिक क्षेत्र, शासकीय र अन्तर्सम्बन्धित क्षेत्र, संघीय प्रादेशिक र स्थानीय निर्वाचन र निष्कर्ष अवसर चुनौती परिच्छेदमा समेटिएको छ । सार्वजनिक विवरणमा गाउँपालिका र नगरपालिकाको वस्तुगत स्थितिबारे उल्लेख छ ।
आयोगले २०६८ को जनगणनाको प्रतिवेदन, केन्द्रीय तथ्यांक विभागका सर्वेक्षण प्रतिवेदन, संघीय तथा प्रदेश मन्त्रालयले तयार पारेका विभिन्न दस्तावेज, तथ्यांक कार्यालय तथा तत्कालीन जिल्ला विकास समितिले तयार पारेको जिल्लाको वस्तुस्थिति विवरण, जिल्ला तथा अन्य निकाय एवम् प्रज्ञिक र व्यावसायिक अनुसन्धान प्रतिवेदन विकासका साझेदार र निजी तथा गैरसरकारी निकायबाट उपलब्ध भएका अध्ययन प्रतिवेदनहरु विवरणको स्रोत भएको जनाएको छ ।
वस्तुस्थिति विवरण सार्वजनिकीकरण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अब सरकार योजनाविहीन नभएको दाबी गर्नुभयो । उहाँले प्रदेश सरकारले आफ्नो काम तीव्रगतिमा अघि बढाउन आयोग गठन गरेर वस्तुस्थिति तयार पारेपछि धेरै योजना अघि बढाउन मद्धत मिल्ने बताउनुभयो ।
उहाँले सरकारले गरेका काम योजनाअनुसार बनाउन लागि सरकारले नीति तथा कार्यक्रम ल्याएपछि नीति तथा योजना आयोग गठन गरेर विकास निर्माणका काम अघि बढाउने दाबी गर्नुभयो । उहाँले यसरी विधि÷प्रक्रियाअनुसार ल्याएका योजनाअनुसार विकास निर्माण अघि बढाइने र समृद्धिको रेखा कोर्दै जाने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले नेपालमा योजना नबनाई गरेका विकास निर्माणका कार्य दीर्घकालिन नहुने बताउनुभयो । पौडेलले देशको वस्तुस्थिति थाहा नभएको अवस्थामा प्रदेश सरकारले प्रदेशको वस्तुस्थिति विवरण निकालेर यहाँको बारे थाहा दिन सकेको दाबी गर्नुभयो । ‘विवरणका आधारमा विकास योजना तयार गरी विकासका काम गरिनेछ,’ मुख्यमन्त्री पौडेलले भन्नुभयो ।











प्रतिक्रिया