नेपाल समाचारपत्र, ललितपुर
अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेपछि सोमबार जनजीवन निकै प्रभावित रह्यो ।
आईतबार रातिदेखि परेको पानीका कारण विभिन्न खोलाको पानी बहाव बढेपछि बस्ती डुबानमा परेको हो ।हातिवनस्थिति कर्मनाशा खोला, लुभुको गोदावरी खोलामा पानीको बहाव बगेपछि वरपरको बस्ती डुबानमा परेको हो । हातिवन, लुभुका बस्तीहरु डुबानमा परेपछि जनजीवन निकै कष्टकर भएको थियो । त्यसैगरी मनोहरा खोला नजिकैको इमाडोल र वाग्मती खोलाको बहावले शंखमुलस्थित सुकुम्बासी बस्ती पनि डुबान परेको थियो ।
हातिवनस्थित कर्मनाशा खोलामा मेरो सिटी नामक अपार्टमेन्टले बनाएको सानो पुलले पानीको बहाव रोकिएपछि पानी अन्यतिर मोडिएर बस्ती डुबानमा परेको हो । पुलले गर्दा पानीको बहाव रोकिएर पुल पारीबाट पानी बगेको थियो ।
यसले गर्दा बस्तीमा निकै त्रासदी मच्चिएको स्थानीयवासी राकेश अवालेले बताउनुभयो । ‘अपार्टमेन्टले बनाएको पुलका कारण बस्ती डुबानमा परेको छ । प्रशासनले यस विषयमा बोल्नुपर्दछ ।’ स्थानीयवासी अवालेले भन्नुभयो । ‘
‘पुल स्वीकृति लिएर बनाएको हो कि होइन । स्वीकृति दिएको हो भने महानगरपालिकाले यसको जवाफ दिनुप¥यो । नभए सम्बन्धित अर्पाटमेन्टलाई कारवाही गर्नुप¥यो ।’ स्थानीयवासी रत्न अवालले भन्नुभयो । त्यसैगरी हातिवन, हरिसिद्धि, थैब, बा“डेगाउ“, बडिखेल, गोदामचौर, सिद्धिपुर, लुभु, लामाटार, सैंबु, भैंसेपाटीका विभिन्न स्थानमा जलमग्न भएको थियो ।गोदामचौरमा पहिरोले गर्दा आवागमन ठप्प भएको थियो ।
गोदावरी खोलाको बाढीले सडकमा मान्छे सहित गाडी बगाएको थियो । गाडी क्षति भएपनि प्रहरी र स्थानीयको उद्धारले मानवीय क्षति हुन पाएन ।त्यसैगरी गोदावरी खोलाको पानीको बहावले बस्ती डुबानमा परेपछि लुभु सानो गाउ“को बाटो अवरुद्ध रहयो ।
यसले गर्दा अवागमन ठप्प भएको थियो । त्यसैगरी लुभु, ललितपुर–१५ अन्तर्गत भेल्पा टोल, भैरव टोल र प्रगतिनगर डुवानमा परेको छ ।सयौं घरहरुमा पानी बगेपछि स्थानीयलाई निकै सास्ती भएको थियो । यस क्षेत्रका करिब ६० घर डुवानमा परेको स्थानीयवासी चन्द्र महर्जंनले बताउनुभयो ।
त्यस्तै सैबुका केही बस्तीहरु डुबानमा परेको थियो । स्थानीयवासी र प्रहरी मिलेर आवश्यकता सर्तकता अपनाउन , आवागमनको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले नेपाल समाचारपत्रसंग बताउनुभयो । जलमग्न र डुबानले गर्दा विभिन्न समस्याले जनजीवन कष्टकर रहेपनि मानवीय क्षति नभएको पनि प्रमुख जिल्ला अधिकारी जोशीको भनाई रहेको छ ।
त्यसैगरी ललितपुरको महापाल सडक केहीबेर जलमग्न भयो। सडकमा पानी जमेपछि पैदल यात्रु सवारी चालक र स्थानीय व्यापारीलाई असहज भएको थियो। ढल निकासको राम्रो व्यवस्था नभएको र ठाउ“ ठाउ“मा फोहोर थुप्रिएर पानीको निकास नहु“दा यो सडक अलि ठुलो पानी पर्दा जलमग्न हुने छ ।
वर्षाका कारण जलमग्न र बस्ती डुबानमा परेपछि सोमबार सो क्षेत्र वरपरका विधालयहरु बन्द गरिएको थियो ।











प्रतिक्रिया