डा. अस्मिताको ‘मनको तीरैतीर’ सार्वजनिक

0
Shares

काठमाडौँ (नेस) । कवयित्री डा. अस्मिता अर्याल द्धारा रचित काव्यसङ्ग्रह ‘मनको तीरैतीर’ को एक समारोहबीच लोकार्पण गरियो ।

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरका अध्यक्ष एवम् विशिष्ट कवि–गीतकार बसन्त चौधरीको सभापतित्व तथा वरिष्ठ कवि–गीतकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा कवि–गीतकारद्वय कालीप्रसाद रिजाल र बसन्त चौधरीले उक्त काव्यकृतिको संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो ।

कवि चौधरीले आफ्नो मन्तव्य व्यक्त गर्दै भन्नुभयो–“डा. अस्मिताको यो मनको तीरैतीर मा भएका कविताहरू पढिसेकपछि मलाई लाग्यो, आजको पुस्ताको विचार, उनीहरूको भावना र अभीष्टलाई बुझ्न यस सङ्ग्रहका कविताले मार्गदर्शन गरेका छन् । मलाई लाग्छ, यसभित्रका उनका केही कविताले उनका लागि ऊर्जाशील र ससक्त सम्भावनाको आँखीझ्याल खोली दिएको उहांले बताउनुभयो ।

कवि–गीतकार कालीप्रसाद रिजालले भन्नुभयो–“अस्मिताको काव्य विशेषता यही हो कि उनले मानिस भएर, छोरी भएर, प्रेमिका भएर, आम नागरिक भएर र डाक्टर भएर कविता लेखेकी छिन् । त्यसैले सबैले उनका कवितामा निजत्व पाउँछन् । उनले सबै भएर सबैका कविता लेखेकी छिन् ।”

समीक्षात्मक टिप्पणी गर्दै प्राध्यापक डा. सावित्री कक्षपतिले भन्नुभयो– उनका कविता सम्भावनायुक्त छन् । हरेक कविताले एउटा नयाँ पक्षको उद्घाटन गरेका छन् । उनका कविताले आजको समयलाई बोलेको छ, ससक्त रूपमा बोलेको छन् ।

समारोहमा आजकी कवि डा. अस्मिता अर्यालले आफ्नो सङ्ग्रहमध्येबाट दुईवटा कविता प्रस्तुत गर्दै भन्नुभयो–“पेसाले म एक चिकित्सक हुँ । पहिलो बिरामीको परीक्षण गर्दा मलाई त्यस्तै भएको थियो, जुन आज यति बेला भइरहेको छ । मेरा अग्रजहरूलाई म यति मात्र आग्रह गर्छु कि तपाईंहरूले मेरा सबै कविता आद्योपान्त पढिदिनूस् र मलाई सुझाव दिनूस् । यसले मलाई मेरो आगामी सिर्जनालाई माझ्ने र सपार्ने मौका मिल्नेछ ।”

लोकार्पित काव्यसङ्ग्रह ‘मनको तीरैतीर’ लाई श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्य–कला मन्दिरले प्रकाशनमा ल्याएको हो ।