बिमस्टेक सम्मेलनको तयारी



बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आउँदो भदौको दोस्रो साता काठमाडौंमा हुने समाचार सार्वजनिक भएपछि सम्मेलनको तयारीमा सरकार जुटेको छ । नेपाल सरकारले सम्मेलनलाई भव्य र सभ्य बनाउन सबै निकायलाई निर्देशन दिइसकेको छ । सम्मेलन शुरु हुनुअघि नै काठमाडौंमा बिमस्टेकका सदस्य राष्ट्रका उच्च अधिकारी नेपालमा जमघट हुने समाचार पनि सार्वजनिक भएको छ । सबै सदस्य राष्ट्रका परराष्ट्र सचिवस्तरीय अधिकारीहरू संलग्न रहने भएका छन् । साउन २६ गते हुने बैठकले सम्मेलनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । सम्मेलनको एजेन्डा तय गर्न र घोषणापत्रको मस्यौदा तयार पार्न उक्त बैठकको आयोजना गर्न लागेको बताइएको छ ।

दक्षिण एसियाली क्षेत्रीय संगठनको विकल्पको रूपमा हेरिएको बिमस्टेकलाई सफल बनाउन सहभागी हुने राष्ट्रहरू लागिपरेका छन् । खासगरी भारतले सार्क संगठनलाई भन्दा पनि बिमस्टेकलाई शक्तिशाली संगठनको रूपमा विकास गर्न लागेको समाचार यसअघि नै सार्वजनिक भएको छ । यसपटकको बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत सहभागिता रहने पक्कापक्की नै भइसकेको छ । सम्मेलनलाई अझै व्यवस्थित बनाउन नेपाल सरकारले सरोकारवाला निकायलाई निर्देशन दिएको मात्र छैन त्यसको अनुगमनसमेत गरेको छ । दुई वर्षअघि नै नेपालमा हुनुपर्ने सम्मेलन विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले पछाडि धकेलिन पुगेको हो ।

नेपाल सरकारले सम्मेलनमा सहभागी राष्ट्रका प्रमुख तथा विशिष्ट अतिथिहरूका लागि बस्ने बास तथा चढ्ने सवारीसाधनको समेत जोहो गर्न शुरु गरेको छ । सरकारले यसपटक विदेशबाट सवारीसाधन भाडामा ल्याउने भन्दा पनि नेपालभित्रै रहेका सवारीसाधनलाई उपयोगमा ल्याउने रणनीति तय गरेको छ । सरकारले सबै सुरक्षा निकायलाई सवारीसाधन के–कति उपलब्ध गराउन सक्ने हो, त्यसको बारेमा जानकारी गराउन पनि आग्रह गरेको छ । नेपालले आफूहरू अब बिस्तारै आफ्नो खुट्टामा उभिन लागेको सन्देश दिन पनि सवारीसाधन विदेशबाट भाडामा ल्याउने प्रवृत्तिलाई अन्त्य गर्न लागेको भान दिन खोजेको देखिन्छ ।

यसलाई सरकारले निरन्तरता दिनुपर्दछ । नेपालमा पनि पटक–पटक यस्ता अन्तर्राष्ट्रिय स्तरका सम्मेलन हुँदै आएकाले अब विदेशी पाहुनालाई चाहिने सवारीसाधन नेपालले नै जोहो गर्नुपर्दछ । नेपालमा हुने बिमस्टेक सम्मेलनले नेपाललगायत यसमा संलग्न राष्ट्रहरूले साझेदार मुलुकबाट फाइदा लिन सक्नुपर्दछ, होइन भने सम्मेलन आयोजना हुने घोषणा जारी गर्ने तर त्यसको उपलब्धि नहुने हो भने सम्मेलनको औचित्यमाथि प्रश्न उठ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्