अभिव्यक्तिमा विकेक पुर्याऊ



सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको अभिव्यक्तिको कारणले लिएर बेला–बेलामा विवाद हुने गरेको छ । वन्दुकको नालबाट निस्किएको गोली र मुखबाट निस्किएको बोली फिर्ता हुँदैन । बोली यस्तो चिज हो जुन मुखबाट नस्किँदासम्म आफ्नो बसमा हुन्छ ।

जब मुखबाट फुत्किन्छ तब आफ्नो नियन्त्रणमा हुँदैन । बोल्दा विचार पुर्याउनुपर्छ । सानो बोली तर कसैको आत्मसम्मानमा चोट पुगेको अवस्थामा त्यसले समाजमा द्वन्द्वकै सृजना गर्छ । के सार्वजनिक पद धारण गरेका व्यक्ति, के सर्वसाधारण सबैले बोल्दा विवेक पुर्याउनुपर्छ । भनाइ नै छ– मन लाग्यो भन्दैमा जथाभावी नबोल्नू । यसको अर्थ हो रिसमा आएर, भावनामा बहकिएर कसैमाथि लगाउने आरोप वा टिप्पणीले स्वयम् व्यक्तिलाई नै अप्ठ्यारोमा पार्ने गर्छ ।

सावर्जनिक पद धारण गरेका व्यक्तिहरूले बोल्दा झनै विचार पुर्याउनुपर्छ । नैतिकता निकै ठूलो विषय हो । नैतिक मूल्य, मान्यता र आचरणले नै व्यक्तिलाई बाँधेको हुन्छ । जब मानिसले नैतिक मूल्य र मान्यतालाई बिर्सिएर व्यक्तिगत कुण्ठा र अनावश्यक टिकाटिप्पणी गर्छ, त्यसले समाजमा नै नकारात्मक प्रभाव पर्छ । समाजलाई समृद्धि बनाउने अठोटसहित सार्वजनिक पदमा पुगेका व्यक्तिहरू पनि पटक–पटक विवादमा तानिदै आएका छन् ।

कानुनमन्त्री शेरबहादुर तामाङले पनि आफूले दिएको अभिव्यक्तिकै कारण नैतिकताको कारण राजीनामा दिनुपरेको छ । सार्वजनिक पदमा बसेकाहरूले दिने अभिव्यक्तिको कारण नागरिकहरूको आत्मसम्मानमा चोट पुग्न गएको अवस्थामा नैतिकताको हिसाबमा राजीनामा दिनुपर्ने हुन्छ । तर सार्वजनिक पदमा बसेका मन्त्रीदेखि विभिन्न ओहोदामा बसेकाहरूको अभिव्यक्तिहरू हेर्दा नैतिकताको निकै खडेरी परेको देखिन्छ ।

आफूले बोल्ने विषयको बारेमा ज्ञान नहुनु, कार्यक्रममा बोल्ने विषयमा लिखितभन्दा पनि मौखिक नै अभिव्यक्ति दिँदा नेता र मन्त्रीहरू विवादमा तानिने गरेका छन् । गलत अभिव्यक्तिको जिम्मेवारी लिनुभन्दा पनि गल्तीलाई ढाकछोप गर्ने प्रचलन पनि राजनीतिमा व्याप्त रहेको छ ।

भाषण गर्दा अशिष्ट शैलीमा गालीगलोज गर्ने, आत्मसम्मानमा चोट पुर्याउने गलत संस्कार बिस्तारै विकसित हुँदै गएको छ । व्यक्ति स्वयंलाई कानुनसँगै नैतिकताले पनि बाँध्ने गरेको छ ।

तर शक्तिको उन्मादमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले दिने अभिव्यक्तिले समाजमा ठूलो विवाद र बहसको जन्म गराउने गरेको छ । आफूले बोलेको अभिव्यक्तिको जिम्मेवारी लिँदै कानुनमन्त्री तामाङले नैतिकताको कारणले राजीनामा दिएका छन् । उनले नैतिकताको पाठ पनि सिकाएका छन् । आगामी दिनमा सार्वजनिक पदमा बसेकाहरूले बोल्दा ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्