बागमती सफाइ अभियानलाई समयसापेक्ष बनाऊ



बागमती सफाइ महाअभियान शुरु भएको २७१ हप्ता बितेको छ । तामझामका साथ शुरु गरिएको यो अभियानले आशातीत सफलता भने पाउन सकेको छैन । बागमती सफाइ महाअभियानलाई सफल बनाउन गरिएको यो प्रयास राम्रो भए पनि नदी किनारमा फोहोर फ्याँक्ने प्रवृत्ति कायमै रहेकाले सोचे जति सफलता पाउन नसकेको हो ।

नदी किनारका बस्तीमा जनचेतना नफैलाएसम्म यो अभियान सफल हुनेमा आशंकै आशंका मात्र देखिन्छ । हरेक हप्ता बागमतीलगायतका उपत्यकाका नदीमा सफाइ अभियान सञ्चालन गरे पनि यसले पूर्णरुपमा सफलता पाउने देखिँदैन ।

२७१ हप्तामा राजधानी भएर बग्ने नदीबाट १५ हजार मेट्रिक टन फोहोर संकलन गरिएको र १० लाख मानिसले सहभागिता जनाएका छन् । नदी किनारमा भएको फोहोर संकलन गर्ने क्रम जारी रहने तर फोहोर फ्याँक्ने समूह पनि सक्रिय नै रहने अवस्था रहनु पक्कै पनि राम्रो कुरा होइन ।

यति ठूलो समूह बागमतीलगायतका नदी सफाइमा सक्रियरुपमा लागे पनि सफाइसँगै चेतना जगाउने काम हुन नसक्दा यो पवित्र अभियानमा बेला–बेलामा प्रश्न उठ्ने गरेको छ । राज्यले यो अभियानलाई साथ र सहयोग दिएको देखिन्छ तर फोहोर गर्नेलाई दण्ड–जरिबाना गर्न सकेको देखिँदैन ।

यसरी महाअभियान जारी रहने तर नदी किनार सधैँ फोहोर भइरहने हो भने यो अभियानले विश्राम पाउने अवस्था देखिँदैन । अभियान निश्चित समयसम्म चल्नुपर्ने हो तर हामीकहाँ यो अभियान कहिलेसम्म चल्छ भन्ने टुंगो नहुनुले बागमती सफाइ महाअभियानका अभियन्ताहरुले पनि एकपटक गम्भीर भएर सोच्नै पर्छ ।

नदी किनाराका बस्तीमा जागरण अभियान सञ्चालन गर्नुको अर्को विकल्प छैन । अभियान सञ्चालन गर्ने नाममा राज्यको करोडौं ढुकुटी सक्ने र समय बरबादी मात्रै गर्ने हो भने यो अभियानले सफलता होइन अपजशको भारी बोक्नुपर्ने निश्चित प्रायः देखिन्छ । महान् कामको शुरुवात गर्नेले अपजशको भारी बोक्नु पक्कै पनि राम्रो कुरा होइन ।

अभियानसँगै चाल्नुपर्ने कदम नचाल्ने हो भने यस्ता अभियान असफल हुन बेर लाग्दैन । त्यसैले अभियन्ताहरुले यो अभियानको मोडालिटी परिवर्तन गर्न जरुरी देखिएको छ । विश्वमा नै फोहोरी शहरको उपमा पाएको काठमाडौंलाई सफा बनाउने अभियानलाई निरन्तरता दिन जरुरी छ । यसलाई समयसापेक्ष बनाउन पनि उत्तिकै जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्