त्रिविको सम्पत्ति खोज्ने, सकारात्मक अभियान



त्रिभुवन विश्वविद्यालयले आफ्नो सम्पत्ति खोज्ने अभियानलाई तीव्रता दिएको छ । विश्वविद्यालयले आफूसँग कति सम्पत्ति छ भन्ने एकिन नभएपछि एउटा समिति गठन गरेर भौतिक सम्पत्ति खोजी कार्यलाई तीव्रता दिएको छ ।

समितिले विश्वविद्यालयको मुलुकभर ५२ स्थानमा जमिन रहेको बताएपछि ती जमिन आफ्नो मातहतमा ल्याउने प्रयास शुरु गरेको छ । वि.सं. २०१६ मा स्थापना भएको त्रि.वि.ले आफ्नो सम्पत्ति कति हो भन्ने एकिन अहिलेसम्म गर्न गरेको थिएन । आफ्नो सम्पत्ति अनधिकृतरुपमा हडप्ने काम भएको पाएपछि त्रि.वि.ले समिति नै गठन गरेर छानबिन शुरु गरेको थियो ।

मुलुकभरका ५२ स्थानमा जग्गा भएको एकिन भए पनि कतिपय स्थानको जग्गा भूमाफियाले कब्जा गरेको र कतिपय सम्पत्ति राज्यले अन्य निकायलाई दिइसकेकाले ती सम्पत्ति फिर्ता ल्याउन त्रि.वि.लाई फलामको चिउरा चपाउनु बरारको अवस्थासमेत रहेको छ । त्रि.वि.को नाममा १ हजार ४ सय ७८ हेक्टर जमिन रहेको भए पनि सबै जमिन उपभोग गर्न भने पाएको छैन । त्रि.वि.का उपकुलपति प्रा.डा. तीर्थ खनियाले त्रिविको स्वामित्वमा रहेको सबै जग्गा फिर्ता गर्ने घोषणा गर्नुभएको छ । उहाँले गरेको घोषणालाई राज्यले साथ दिनुपर्ने देखिन्छ ।

भूमाफियादेखि सरकारी निकायको निशाना बनेको त्रि.वि.को जग्गा जोगाउन प्राज्ञिक क्षेत्रले चासो देखाउनुपदर्छ । उपकुलपतिले त्रि.वि.को सम्पत्ति खोज्ने अभियानलाई जुुन गतिमा अगाडि बढाउनुभएको छ, त्यसलाई त्रि.वि.का सबै निकायले साथ र सहयोग गर्नुपर्ने देखिन्छ ।

यसअघिका त्रिविका पदाधिकारीले आफ्नो सम्पत्तिको बारेमा खोजी नगरेका कारण कतिपय स्थानका जग्गामा भूमाफियाले मालपोत कार्यालयसँग मिलेर व्यक्तिगत बनाइसकेको पाइएकाले त्रि.वि.ले ती जग्गा पनि फिर्ता ल्याउने घोषणा गरेको छ । यसलाई सरकारी निकायले पनि सहयोग गर्नुपर्ने देखिन्छ ।

सरकारी सहयोगविना त्रि.वि.का हडपिएका जग्गा फिर्ता ल्याउन सकिने अवस्था छैन । राज्यको सम्पत्तिमाथि आक्रमण गर्ने क्रम तीव्र भएकाले त्रि.वि.ले पनि जग्गा फिर्ता गर्ने कार्यलाई सकिएन भन्नु कदापि हुँदैन । जस्तोसुकै अवस्था सिर्जना भए पनि यो कार्यलाई तीव्रता दिनुपर्ने देखिन्छ । माफियाहरुले सरकारी सम्पत्तिको दोहन गर्न राज्य संयन्त्रको दुरुपयोग गर्न सक्ने आशंका भएकाले त्रि.वि.ले सयममा नै यसतर्फ ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्